स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
भक्तपुर, ३ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा गत फागुन २९ गतेदेखि सुरु भएको अन्तर नगर बुद्धिचाल तथा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय विभिन्न दस खेलहरूको प्रतियोगिता चैत ३ गते सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले प्रतियोगितामा सहभागी र विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै पुरस्कार जित्नको लागि मात्र नभई विद्यार्थीहरूले शारीरिक र मानसिक विकासका निम्ति खेललाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विद्यार्थी जीवनबाट खेलाडी हुनेहरू अरूको तुलनामा अनुशासित र मर्यादित हुने बताउँदै उहाँले सभ्य र सुसंस्कृत नयाँ पुस्ता निर्माणमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।
खेलाडीहरूले देश विदेशको राजनीतिक अवस्थाबारे जानकारी लिनुपर्ने आवश्यकता बोध गराउँदै सांसद सुवालले समाजमा उदाहरणीय खेलाडीको रूपमा अघि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् नगर प्रमुख सुनिल प्रजापतिले शिक्षासँग खेलकुद भन्ने भावनाका साथ भक्तपुर नगरपालिका अघि बढिरहेको बताउँदै प्रतियोगिता सफल भएकोमा सहयोगी सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो ।
अन्तर नगर बुद्धिचाल प्रतियोगितामा देशभरका २२ नगरपालिकाको सहभागिता भएको र नगरव्यापी विद्यालयस्तरीय विविध खेल प्रतियोगितामा १८६९ खेलाडीको उत्साहजनक सहभागिता रहेको जानकारी दिँदै उहाँले खेलको माध्यमबाट देशको सार्वभौमिकता रक्षा गर्ने अनुशासित देशभक्त सचेत नागरिक तयार हुने अपेक्षा गरिएको बताउनुभयो ।
हरेक वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको जानकारी दिँदै नपाले शिक्षालाई पहिलो प्राथमिकता दिएको र ख्वप विश्वविद्यालय सञ्चालन गर्न सरकारसँग माग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भनपाले ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ । कथित बुद्धिजीवीहरूको विरोध हुँदाहुँदै पनि एक घर एक स्नातक सफल भएको छ । इन्जिनियरिङ कलेजहरू सफलताका साथ सञ्चालित छन् । सम्पदा पुनःनिर्माणमा उत्साहजनक जनसहभागिता रहेको छ । विदेशी सहयोगविना पनि पुनर्निर्माणले निरन्तरता पाएको छ । सबै नगरवासीहरूप्रति हामी आभारी छौँ ।”
समारोहमा बाग्मती प्रदेश सभाका सभासद् सृजना सैँजूले देश पुँजीवादी विकृतिबाट थिलथिलो भइरहेको बेला पुँजीवादी धारको विपरीत भक्तपुर नगरपालिकाले नगरमा खेल महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यो प्रतियोगिताले हरेक स्कूललाई एउटा सानो रंगशालाको रूपमा विकास गरेको विचार व्यक्त गर्नुभयो ।
समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले खेलाडीले देशलाई अन्तर्राष्ट्रिय ख्याति दिन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने कार्यक्रममा उपप्रमुख रजनी जोशीले प्रतियोगिता सञ्चालनको क्रममा प्रशिक्षकहरूको खाँचो महसुस भएको बताउनुभयो ।
समारोहमा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले देशमा खेलकुद विश्वविद्यालयको खाँचो औँल्याउँदै जिल्ला खेलकुद परिषद् आवश्यक नभएको बरु राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकहरू स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका खेलाडी एवं वर्तमान बुद्धिचाल च्याम्पियन पुरुषोत्तम चौलागाईले कोभिडको जोखिमबीच पनि भक्तपुर नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले अन्तर नगर बुद्धिचाल प्रतियोगिताका विजयी नगरपालिका र च्याम्पियन खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो भने विशिष्ट अतिथि तथा अतिथिहरूले विद्यालयस्तरीय प्रतियोगितामा विजयी विद्यालय र उत्कृष्ट खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले प्रतियोगितामा प्रथम हुने हेटौँडा उपमहानगरपालिकाको टीमलाई रु. १,५०,०००।–, दोस्रो हुने ललितपुर महानगरपालिकाको टीमलाई रु. १,००,०००।–, तेस्रो स्थान हासिल गर्ने काठमाडौँ महानगरपालिकाको टीमलाई रु. ५०,०००।– नगद पुरस्कार, ट्रोफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले च्याम्पियन खेलाडीहरू बोर्ड १ बाट टोखा नपाका मिलन लामा, बोर्ड २ बाट भक्तपुर नपा ‘बी’ का निकेन कुसाथा, बोर्ड ३ बाट दमक नपाका प्रकाशचन्द्र नेपाल, बोर्ड ४ बाट हेटौँडा उपमहानगरपालिकाका रुपेश जेसवाल र बोर्ड ५ बाट भक्तपुर नपा ‘बी’ का केशव मानन्धरलाई प्रतिखेलाडी रु. ५,०००।– नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले अन्तर नगर बुद्धिचाल प्रतियोगितामा सहभागी नगरपालिकाहरूलाई सहभागिताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमममा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष निरञ्जन प्रजापतिले ५ वटै बोर्डका च्याम्पियन खेलाडीहरू घोषणा गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो । भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको आयोजनामा ४ दिनसम्म सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगितामा मध्यपुर थिमी नगरपालिका, बनेपा नगरपालिका, भक्तपुर नगरपालिका ‘ए’ र ‘बी’, भीमेश्वर नगरपालिका, बुटवल उपमहानगरपालिका, चाँगुनारायण नगरपालिका, दैलेख नगरपालिका, दमक नगरपालिका, धरान उपमहानगरपालिका, हेटाँैडा उपमहानगरपालिका, कैलाली नगरपालिका, काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, नागार्जुन नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, पोखरा महानगरपालिका, राजविराज नगरपालिका, रुकुम नगरपालिका, सूर्यविनायक नगरपालिका र टोखा नगरपालिका गरी २२ वटा नगरपालिकाले सहभागिता जनाएका थिए ।
Leave a Reply