तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, ४ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार सुर्खेतमा गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले नेमकिपाले भारतीय विस्तारवादले गर्दै आएको सीमा अतिक्रमणविरूद्ध निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले कामदार जनताको हितमा निरन्तर आवाज उठाउँदै आएको छ । नेमकिपा विचारको राजनीति गर्छ । तर शासक दलहरूले नेमकिपाको विचारलाई कुण्ठित पार्न ३ प्रतिशत मतसीमाको बन्दोबस्त गरेका छन् ।”
मतसीमा प्रजातान्त्रिक हकविरूद्ध रहेको धारणा राख्दै उहाँले मतसीमा प्रावधानको विरूद्ध कानुनी र गैरकानुनी सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले सन् १९१७ मा समाजवादी अक्टोबर क्रान्तिको परिस्थिति तयार हुँदै गर्दा तत्कालीन जार शासकले रूसी युवाहरूलाई जबरजस्ती सेना बनाएपछि क्रान्तिकारी महिलाहरू सङ्गठित भई जारविरूद्ध सङ्घर्ष गर्न बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिला आन्दोलनलाई दबाउन र गोली हान्न जारले सेनालाई निर्देशन दिँदा सेनाले जारको आदेश मान्न अस्वीकार गरे र महिला आन्दोलनसामु जार शासक घुँडा टेक्न बाध्य भयो ।”
“मार्च ८ को महिला आन्दोलन समाजवादी क्रान्तिकै सिलसिला हो । तर पुँजीवादी शासकहरू श्रमिक महिला दिवसको ऐतिहासिक पृष्ठभूमिलाई बङ्ग्याएर नाचगान र तारे होटेलमा सेमिनार, भोजको आयोजना गरी समाजवादी क्रान्तिलाई अगाडि बढाउन नदिने र वर्गसङ्घर्षलाई पछाडि धकेल्ने दुस्साहस गर्दै छन्, यसबारे कामदार जनता सचेत हुन जरूरी छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले वर्ग शत्रुविरूद्ध आक्रामक भएर सङ्घर्षमा होमिनुबाहेक विकल्प नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “श्रमजीवी जनताले राजनीति बुझ्ला र आफ्नो अधिकार प्राप्तिको निम्ति सङ्घर्ष गर्दा आफ्नो सत्ता गुम्ला भन्ने डरले शासक दलहरू महिलालाई राजनीतिक गतिविधिमा सहभागी गराउन चाहँदैनन् ।”
विचारबिना बन्दुक बोक्ने व्यक्ति क्रान्तिकारी नहुने धारणा राख्दै अध्यक्ष थापामगरले भन्नुभयो, “बन्दुक बोक्नेले भन्दा विचार बोक्ने, कलम बोक्ने, कुतो–कोदालो र डोको बोक्नेले समाजवादी क्रान्तिका लागि महत्वपूर्ण योगदान गर्न सक्छ ।”
“महिला हिंसा र अपराधका दोषी शासक दलहरू हुन् । संविधान संशोधन गरेर महिला हिंसाका जघन्य अपराधीलाई फाँसी दिइनुपर्छ । समाजवादी देशहरूमा महिलामाथि बलात्कार गरिएको र महिला हिंसा गरिएको समाचार सुन्न पाइँदैन”, उहाँको भनाइ थियो ।
जनसङ्ख्याको ५१ प्रतिशत कामदार महिलालाई राज्य संयन्त्रमा सहभागी गराउनुपर्ने नेक्रामहिला सङ्घको माग रहेको उल्लेख गर्दै उहाँले धर्मको अन्धविश्वासमा समाज जकडिएको छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा चुनावबाट समाजवाद आउँछ भन्ने विचार संशोधनवादी भएको धारणा राख्दै उहाँले नेमकिपा क्रान्तिकारी संसद्वादी नीति अवलम्बन गरी जनतालाई पुँजीवादविरूद्ध घृणा जगाउन कामदार जनतालाई राजनीतिकरूपले सचेत पार्न र वर्गसङ्घर्षका लागि परिस्थिति तयार बनाउन संसद्को उपयोग गरिरहेको बताउनुभयो ।
अध्यक्ष थापामगरले भन्नुभयो, “पुँजीवादी संसदीय व्यवस्थामा सरकारको गएर एक–दुई मन्त्री पद पाएर समाजवाद स्थापना हुन्छ भन्नु झूट हो । समाजवादको प्रचार गर्न तथा समाजवादप्रति आस्था राख्ने जनता कति रहेछन् भन्ने बुझ्न चुनावको उपयोग गर्ने हो ।”
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन सत्तासीन पार्टीहरूले राजनीतिक संरक्षण गर्ने काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौता चीनविरूद्ध प्रयोग गर्ने र नेपाललाई रणभूमि बनाउने संरा अमेरिकी षड््यन्त्र हो । अमेरिकी साम्राज्यवाद नेपाललाई उपनिवेश बनाउन खोज्दै छ ।”
युवा शक्तिलाई देशभक्तिपूर्ण आन्दोलन र वर्गसङ्घर्षबाट टाढा राख्दै वैदेशिक रोजगारीको नाममा आधुनिक दास बनाउने षड्यन्त्र शासक दलको षड्यन्त्रप्रति जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य ज्याख्वले युवाहरूलाई विदेशी भूमिमा पसिना बगाउन लगाएर कुनै पनि देश धनी भएको इतिहास छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “संसद् विघटन गरी चुनाव घोषणा गर्नुलाई नेमकिपाले स्वाभाविक र औचित्यपूर्ण भनी टिप्पणी गर्नु सही विश्लेषण हो । पुँजीवादी प्रजातन्त्रमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने गर्छ । नेमकिपाले पुँजीवादी व्यवस्थाको आधारभूत सिद्धान्तको कुरा गरेको हो, केपी ओलीको समर्थन गरेको होइन ।”
नेमकिपा सुर्खेतका जिल्ला अध्यक्ष हरिबहादुर बोहोराले नेमकिपा कामदार जनताको सङ्घर्षशील पार्टी भएको र समाजवादी राज्य व्यवस्था स्थापनाको लागि नेमकिपा जनताको घरदैलोमा पुगिरहेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेम थापामगरले भ्रष्टाचारविरूद्ध सङ्घर्ष गरेका सुर्खेतका नेमकिपा कार्यकर्तालाई सीडीओबाट गरिएको अभद्र व्यवहार र गिरफ्तारीको भत्र्सना गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अक्कल रानाले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको इतिहासबारे आफ्नो धारणा राख्नुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सदय रोशनमैयाँ सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पृष्ठभूमि र महिला आन्दोलनको उपलब्धिबारे जानकारी गराउनुभयो ।
महिलाको श्रमको मूल्याङ्कन नभएसम्म सामाजिक न्याय र समाजको प्रगति नहुने धारणा उहाँले राख्नुभयो ।
नेक्रामहिला सङ्घ सुर्खेतका अध्यक्ष तुलसी खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा कल्पना शाही र जानकी सुनारले पनि बोल्नुभएको थियो ।
Leave a Reply