भर्खरै :

नेपाल क्रान्तिकारी महिलासङ्घको ‘केटीहरू’ बारे थप छलफल

के महिला कुनै जात विशेष हो या उत्पीडित लिङ्ग ? नेपालको महिला आन्दोलनको सन्दर्भ उठ्दा यो प्रश्न उठ्ने गर्दछ । शासक दलको महिला सङ्गठन र राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित महिला सङ्गठनहरूको समीक्षा गर्ने हो भने नेपालको महिला मुद्दालाई जातीय तथा लैङ्गिक आन्दोलनसँग जोडिएको भेटिन्छ । ‘महिला–महिला एक होऔँ ।’, ‘महिला महिलाका लागि’ र पुरुषविरोधी नारा दिएर साँचो महिला मुद्दालाई ओझेलमा पार्ने काम निरन्तर जारी छ । पुँजीवादी विचारका महिला सङ्गठनहरूले महिलाको मुख्य शत्रु पुँजीवाद होइन लोग्नेमान्छे हुन् भन्ने प्रस्थापनामा पु¥याउने गरेको पाइन्छ । केही महिला समूहहरू महिलालाई उत्पीडित लिङ्गको रूपमा व्याख्या गर्छन् । महिलाहरू सधैँभरि उत्पीडित लिङ्ग रहिआएका होइनन् । मानव समाजको विकास या इतिहासपूर्वको अध्ययनले यथार्थ सबैसामु राख्दछ । मातृसत्तात्मक समाजको होस् र पितृसत्तात्मक समाजको उदय, मानव समाजको विकास र परिवार, निजी पुँजी र राज्य सत्ताको विकाससँगै उत्पादन सम्बन्धमा आएको परिवर्तनले श्रमिक महिलामाथिको शोषण तिब्र बढेको हो ।
‘केटीहरू’ ले महिला मुद्दालाई वर्गीय आन्दोलनसँग जोड्छ । नेतृ क्लारा जेट्किनले भनेझैँ “वर्गीय मुक्तिले मात्र कामदार महिलाहरू मुक्त हुन्छन् ।” वर्गसङ््घर्षको एउटा महत्वपूर्ण पाटो महिला मुक्ति हो । श्रमिक वर्गीय महिला आन्दोलन मजदुर आन्दोलनको एउटा असाध्यै महत्वपूर्ण हिस्साको रूपमा व्याख्या गर्छ । ‘केटीहरू’ ले पुरुषविरोधी भावना होइन, शोषणयुक्त बन्दोबस्तविरोधी भावना दिन्छ । सर्वहारा वर्गका महिलाहरूले आफ्नो मुक्तिका लागि आफ्नो वर्गका पुरुषहरूसित हातमा हात मिलाउँदै पुँजीवादी समाजसित लड्नुपर्छ भन्ने क्लारा जेट्किनको भावनालाई ‘केटीहरू’ले अगाडि बढाएको अनुभव हुन्छ । पुरुष कामदारहरूले आफ्नै निम्ति महिला कामदारहरूको समर्थन गर्नुपर्ने हुन्छ । त्यसकारण, पुँजीवादी बन्दोबस्तविरुद्ध कामदारवर्गीय आन्दोलन अगाडि बढाउनु र त्यसमा श्रमिक महिलाको सक्रियता, नेतृत्व हुनु जरुरी रहेको प्रस्ट्याउँछ, ‘केटीहरू’ले ।
श्रमिक महिलाका लागि समान ज्याला, शिक्षा, स्वास्थ्यको हक, शिशु स्याहारजस्ता मागहरूका निम्ति कामदार वर्गका पुरुष पनि एकबद्ध हुनुपर्ने अन्तर्राष्ट्रिय मजदुर आन्दोलनकै सन्देश पनि हो । महिलामात्र होइन वास्तवमा कुनै पनि कामदारहरूलाई जाति, भाषा, रङ्ग वा लिङ्गको आधारमा गरिने भेदभावविरुद्ध कामदार वर्ग एकजुट हुनुपर्ने सन्देश ‘केटीहरू’का सम्पूर्ण अङ्कले दिन्छन् । ‘केटीहरू’ अङ्क ८ देखि १३ ले अन्तर्राष्ट्रिय मजदुर आन्दोलन र समाजवादी क्रान्तिहरूको शिक्षा प्रवाह गर्छन् । साथै नेपालको सन्दर्भमा श्रमजीवी महिला आन्दोलनलाई मार्गनिर्देश गर्न ‘केटीहरू’ सफल अनुभव हुन्छ ।
क्रान्तिकारी नेतृहरूलाई ‘केटीहरू’ ले नेपाली समाजमा परिचित गराएको छ । कामदार महिलाहरू शताब्दी सुहाउँदो बन्नुका साथै क्रान्तिकारी विचार र सिद्धान्तबाट दीक्षित हुुनुपर्ने शिक्षा ‘केटीहरू’ बाटै मिल्छ । अन्तर्राष्ट्रिय क्रान्तिकारी नेतृहरूबाट क्रान्तिकारी भावना र व्यक्तित्व अनुशरण नेपाली महिला मजदुर आन्दोलनको अनिवार्य आवश्यकता नै हो । नेपालमा प्रतिगमनविरुद्धको सङ्घर्ष, नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड र समग्र पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा महिलाहरू तिनै क्रान्तिकारी नेतृहरूबाट ऊर्जा प्राप्त गरेको बुझ्न गा¥हो पर्दैन । “महिलाहरू स्वतन्त्र नभएसम्म जनता स्वतन्त्र हुँदैनन् ।” भन्नुहुने क्रान्तिकारी कलाकार एवम् कार्यकर्ता सिल्विया प्यान्कहर्टको चित्रकला र भाषणले त्यो युगका महिलाहरूको राजनैतिक, आर्थिक र सामाजिक हितका निम्ति बेजोडको योगदान गरे । महिला मुक्ति आन्दोलन, फासीवाद र साम्राज्यवादविरुद्ध केन्द्रित हुनुपर्छ, सिल्विया भन्थिन् ।
सन् १९२० को दशकमा फासीवादी क्रूरताले पराकाष्ठा नाघ्दै गरेको समयमा अफ्रिकी देशहरूमा गई सङ्घर्षलाई अघि बढाइन् । आफ्नो ज्ञान तथा सीपलाई वर्गीय मुक्ति युद्धसँग जोड्ने सिल्वियाबाट सिक्न नेपाली आइमाईहरूलाई ‘केटीहरू’ ले घच्घच्याउँछ । ‘केटीहरू’ ले मीरोपोलको शोक गीत ‘अनौठो फल’ मार्फत कलाकार विन्ती हालिडे चिनाएको छ । सन् १९२०, ३० र ४० औँ दशकमा हब्सीहरू, मजदुर नेता र बोल्शेविकहरूलाई झुन्ड्याउनु संरा अमेरिका, विशेषगरी दक्षिणमा सामान्य थियो । त्यो आतङ्ककारी दाउपेचविरुद्ध खबरदारी स्वर कविता र गीतहरूमार्फत कम्युनिस्टहरूले गर्न थाले । तीमध्ये रूसी मूलका एक शिक्षक अबेल मीर पुललाई चिनाएको छ ‘केटीहरू’ले । एक महिला योद्धा ह्यारिसन टबम्यान (संरा अमेरिकाको मेरिल्यान्ड राज्यकी छोरी) ले अन्यायविरुद्ध लड्न सिकाएको छ । दासप्रथाविरुद्ध उभिएकी टबम्यानको जीवनदर्शन–‘मृत्यु या मुक्ति’ थियो ।
‘केटीहरू’ अङ्क ९ मा पेरिसमा मजदुरहरूको विद्रोह र मजदुर वर्गको पहिलो राज्य पेरिस कम्युनका एक क्रान्तिकारी महिला लुइस मिखाइल र दोस्रो विश्व युद्धमा आफ्नो मातृभूमिलाई फासीवादीहरूबाट जोगाउन वीरतापूर्वक सैनिक कार्यमा लाग्ने जोया कस्मोदिमिन्स्कायाको बहादुरी प्रस्तुत छ । उनी नाजीविरोधी एक सहिद हुन् । १८ वर्षकै उमेर सहिद बनेकी वीराङ्गना । त्यस्ता वीराङ्गनाहरूले नै महिलाहरूको इतिहासका पानाहरूमा उज्यालो थप्ने गरेको ‘केटीहरू’ सगर्व बताउँछ । यो अङ्कमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रथम महिला सदस्य शियाङ चिङ यू (१८९५–१९२७)को चर्चा छ । चिनियाँ समाजमा सामन्तवादी शोषणविरुद्ध महिला समानताको निम्ति उभिने शियाङ चिङ यूको साहसले पछिल्ला पुस्तालाई क्रान्ति मैदानमा उत्रन हौस्यायो । देशको स्वतन्त्रताका निम्ति उपनिवेशवादविरुद्ध लड्ने प्यालेस्टिनी महिलाका कथा ‘केटीहरू’ ले सुनाउँछ । त्यसकारण ‘केटीहरू’ कामदार महिला, देशभक्त महिलाहरू, क्रान्तिकारी महिलाहरूको प्रतिनिधि हो भन्नुपर्छ ।
‘केटीहरू’ ले तत्कालीन बेलायतमा महिलाहरूको अवस्था र त्यहाँका मजदुर आन्दोलनमा श्रमिक महिलाको सहभागिताबारे अवगत गराउँछ । पुँजीवादी बन्दोबस्त भएको बेलायतमा भन्दा श्रमिक वर्गीय महिला आन्दोलन समाजवादी क्रान्ति र साम्राज्यवादविरोधी सङ्घर्ष उठेका देशहरूमा बलियो र चुस्त ढङ्गले अघि बढ्यो । समाजवादी क्रान्तिपछि मात्र महिला मुक्ति सम्भव हुने यथार्थ सबैसामु छ । अक्टोबर समाजवादी क्रान्ति, कोरियाली समाजवादी क्रान्ति, चिनियाँ क्रान्ति, क्युवाली क्रान्तिपछि कामदार वर्गका महिलाहरूको आर्थिक, सांस्कृतिक, सामाजिक अवस्थामा आमूल परिवर्तन भएको हो । उत्पादनका मुख्य साधनमा महिलाको पहुँच, आर्थिक समानतासहितको मानव अधिकार, उच्च शिक्षा, निःशुल्क स्वास्थ्योपचार, शिशुशाला र बालोद्यानको बन्दोबस्त, व्यक्तित्व विकासमा समान अवसर, कामअनुसारको ज्यालाले महिलालाई असमान र पितृसत्तात्मक समाजबाट मुक्त ग¥यो । त्यसकारण व्यवस्था परिवर्तन अर्थात शोषणयुक्त पुँजीवादी व्यवस्थाविरुद्ध आजको महिला आन्दोलन केन्द्रित हुनुपर्ने तर्क ‘केटीहरू’ राख्छ ।
इरिना मालेन्कोभले भनेकी छिन्,“पुँजीवादी विश्वमा महिला विश्वका हब्सी हुन् ।” सोभियत सङ्घमा समाजवाद छँदा इरिना सानै थिइन् । सानैमा उनले जोन लेमनको गीत ‘महिला विश्वको हब्सी हो ।’ सुनेकी थिइन् । त्यतिबेलासम्म दक्षिण अफ्रिकामा रङ्गभेद, संरा अमेरिकामा जातीय भेदभाव, दासत्व र उपनिवेशी लुटपाटको धेरै शताब्दी बितिसकेको थियो । इरिना समाजवादी बन्दोबस्त भएको सोभियत महिलाहरूमाझ हुर्किइन् । पुँजीवादी विश्वमा हुने कामदार महिलामाथिको दमन उनको कल्पना बाहिरको कुरा थियो । तर, जब रूसमा पेरेस्ट्रोइकाको नीति भित्रियो । तब सोभियत जनता युरोपका देशहरूमा प्रवासी बन्दै गए । इरिनाले युरोपमा महिलाहरूको लागि एउटा मध्ययुगीन अविकसित स्थान भेटिन् । छोरीहरू इन्जिनियरिङ, चिकित्सा नपढ्ने, महिलामाथि वैरभाव राख्ने समाज भेटिन् । आर्थिक असमानता र सामाजिक बन्धनले महिलालाई बाँध्ने समाज देखिन् । युरोपजस्तो विकसित महादेशमा महिला विश्वका हब्सीझैँ बाँच्न बाध्य थिए । उनले सोभियत सङ्घ र समाजवादी बन्दोबस्त महिलाको लागि स्वर्गको रूपमा महसुस गरिन् र संसारलाई त्यही सन्देश दिइन् । रूसमा पुँजीवादी व्यवस्था पुनःस्थापनापछि सबैभन्दा पहिला बढी प्रहार र शोषण कामदार महिलामाथि भएको तथ्य ‘केटीहरू’ ले नै उजागर गरेको छ । रूस र अरू सोभियत सङ्घबाट टुक्रिएका देशहरूमा महिलाहरू बजारमा बेचिने सामान बन्न बाध्य बने । महिलाहरू जागिरबाट निकालिए, ज्यालामा व्यापक कटौती गरियो । महिलामाथिको सामन्ती क्रूरता बढ्यो । शिशु स्याहार केन्द्रहरू तिर्न नसक्ने गरी महँगो बनाइए । त्यसकारण, काम गर्ने आमाहरूले बच्चाहरूलाई घरमै छोड्नप¥यो । कतिले त बच्चाबच्चीको स्याहार गर्न नसकेर नाबालक बच्चाहरूको समेत हत्या गरे । रक्सी र मादक पदार्थबाट धेरै महिला ग्रसित भए । निजी कम्पनीले महिला कर्मचारीलाई भर्ना गर्दा ५ वर्षसम्म गर्भवती बन्न नपाइने कबुल गराउँथे । छोराछोरी पढाउन सक्दैनथे । रूसी महिलाहरू समाजवादको पतनपछि १५ औँ र १६ औँ मध्यकालीन युगमा फर्केको तथ्य स्मरण ‘केटीहरू’ ले गराएको छ । (अङ्क ११) रूस र लिथुवातियाका महिलाहरू बेल्जियमलगायतका देशहरूमा यौन दासीको रूपमा कसरी जीवन बिताउँछन् भन्नेबारे थुप्रै साहित्य वा चलचित्र सार्वजनिक भएकै छन् ।
सोभियत रूसमा महिलाहरू मानव इतिहासमै सबैभन्दा राम्रो समाजमा हुर्किए । उत्कृष्ट र शोषणरहित स्वर्गजस्तो युगमा हुर्किए । समाजवादी व्यवस्थाको अस्थायी हारसँगै रूस महिलाका निम्ति नर्कजस्तै बन्यो । रूसको यो इतिहासबारे विश्व बेखबर छैन । सोभियत रूसमात्र होइन पेक्टु पर्वतका महिला कमान्डर किम जङ सुकहरूको जन्म भएको प्रजग कोरियाली क्रान्तिपछिको कोरियामा पनि महिलाहरूले उन्मुक्तिको सास फेर्न पाउँछन् । आज प्रजग कोरियाको आर्थिक, विचारधारात्मक तथा प्राविधिक क्रान्तिमा महिलाहरूको सहभागिता र योगदान बेजोडको छ । वीरङ्गाना किम जङ सुकको योगदानबारे नेपाली समाजले सिक्न जरुरी छ । क्युवा र चीनमा महिलाको अवस्था सोभियत रूसको जस्तै हो भन्दा फरक पर्दैन । राजनीतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिकरूपमा महिला पछाडि छैन । राज्यले महिलालाई आर्थिक समानतासहितको समानता प्रत्याभूत गरेको छ । त्यसकारण, समाजवादमा मात्र महिला मुक्ति हुने कुरा इतिहाससिद्ध तथ्य नै हो । विश्वमा उठेका समाजवादी आन्दोलनहरूबाट नेपालको राजनीतिक वृत्तले सिक्न सके नेपाली कामदार महिलाको मुक्ति सम्भव छ । समाजवादले मात्र साँचो अर्थमा कामदार वर्गीय महिलाहरूको स्वर्ग निर्माण सम्भव बनाउनेछ ।
नेपालको सन्दर्भमा महिला मुद्दालाई वर्गीय आन्दोलनसँग जोड्ने, समाजवादी क्रान्तिको पक्ष लिने ‘केटीहरू’ ले प्रतिगमनविरुद्ध, नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेपविरुद्ध, पुँजीवाद तथा साम्राज्यवादी युद्धविरुद्ध निरन्तर सङ्घर्ष गर्दै छ । बलात्कार, चेलिबेटी बेचबिखन, अन्धविश्वास, छाउपडी प्रथा, बोक्सी र दाइजो प्रथालगायतका सामाजिक बेथितिविरुद्ध सङ्घर्ष गर्नुका साथै शासक दलहरूलाई खबरदारी गर्न रोकेको छैन । त्यतिमात्र होइन महिलासँग जोडिएका स्वास्थ्य समस्या, सांस्कृतिक समस्याहरूको विषयमा पनि विमर्श चलाएको छ । महिलाहरूलाई सैद्धान्तिक र वैचारिक खुराक प्रदान गरिएको छ । नेपालको राजनैतिक डबलीमा ‘केटीहरू’ ले साँचो महिला मुक्तिको झन्डा फहराएको अनुभव हुन्छ । ‘केटीहरू’ ले पुँजीवादी धारका महिला गतिविधिको खण्डन गर्छ । ‘केटीहरू’ का सम्पूर्ण अङ्क पठनीय तथा सङ्ग्रहणीय छन् । वर्गीय र क्रान्तिकारी विचार बोकी गाउँ–गाउँमा ‘केटीहरू’ को नियमित प्रकाशन तथा अन्तरक्रिया आवश्यक छ । ‘केटीहरू’ प्रकाशनले निरन्तरता पाओस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *