तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कैलाली, ५ चैत । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा बिहीबार लम्कीबजारमा समसामयिक विषयमा जनसभा भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाले स्थापनाकालदेखि नै कामदार जनताको पक्षमा अन्याय, अत्याचार, शोषण र भारतीय विस्तारवादको विरोधमा कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै जनतालाई शिक्षित पार्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा देश र जनताको इमानदारीपूर्वक सेवा गर्छ । सत्तासीन पार्टीहरूको गलत कदम र नीतिको विरोध गर्दछ । सत्तासीन पार्टीहरूले ल्याएको अप्रजातान्त्रिक थ्रेसहोल्डको प्रावधानविरूद्ध नेमकिपाको सङ्घर्ष जारी छ ।”
गणतन्त्र र सङ्घीय शासन व्यवस्थामा पनि सत्तासीन पार्टीहरूको चरित्र पञ्चायती शैलीको जस्तो भएको उहाँको भनाइ थियो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले काम गरेर खाने श्रमिक महिलाहरूले सङ्घर्षको सिलसिलाको रूपमा मनाउने श्रमिक महिला दिवसलाई पुँजीवादी दलका महिला सङ्गठनहरूले भोजभतेर र नाचगान गरेर समाजवादी क्रान्तिलाई अझ पर धकेल्ने काम गरिरहेको बताउनुभयो ।
समाजमा अझै पनि बोक्सी, धामी–झाक्रीजस्ता अन्धविश्वास कायम रहेको चर्चा गर्दै उहाँले गाउँघरका धामी झाक्रीलाई स्वास्थ्य उपचारसम्बन्धी तालिम दिएर स्वास्थ्य कार्यकर्ता बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “समाज परिवर्तनका लागि आफ्नो परिवार त्यागेर हतियार बोक्ने युवाहरू आज निराश भई जाँड–रक्सी बनाउने र पिउने गरिरहेका छन् । जनतालाई बन्दुक समाउन लगाएर युद्ध भूमिमा पठाएर आफू भारतको राजधानी दिल्लीको पाँचतारे होटलमा भारतीय शासक वर्गबाट ज्वाइँसरि पालिएका नेताहरू आज भारतीय स्वार्थपूर्तिको लागि सरकारमा पुग्ने दौडमा लागेका छन् ।”
केन्द्रीय अध्यक्ष थापामगरले नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “खुला सीमाका कारण नेपाली चेलीहरू भारतमा बेचिएका छन् । पुँजीवादी व्यवस्थामा महिलाहरूलाई नाफाको वस्तु बनाइन्छ ।”
“देशको भूमि जोगाउन नसक्ने दल कम्युनिस्ट होइन । सीमा रक्षाको सङ्घर्षमा गोविन्द गौतमजस्ता युवाले सहादत्त प्राप्त गर्दा सिंहदरबारमा गोहीको आँसु झार्नेहरू कम्युनिस्ट होइनन्, कायर हुन्”, उहाँले स्पष्ट पार्नुभयो
अध्यक्ष थापामगरले प्रश्न गर्नुभयो, “२०७२ भदौ ७ गते टीकापुरमा आतङ्क मच्चाउँदा तत्कालीन गृहमन्त्रीले भारतबाट अपराधीहरू हुलका हुल नेपाल छिरेका थिए भनी संसद्मा बोलेका थिए । तर, हत्या आरोपमा दोषी ठहरी जघन्य अपराध मुद्दामा जेलमा कोचिएका व्यक्ति जनतामाझ अनुहारसम्म पनि नदेखाई चुनावमा जिते र उनैलाई सभामुखले जेलमै पुगेर शपथग्रहण गराए । यस्तो सरकार कसरी कम्युनिस्ट हुनसक्छ ?”
पुँजीवादी व्यवस्थामा महिला हिंसा हुने धारणा राख्दै उहाँले समाजवादी व्यवस्थामा मात्र महिलाको सम्मान हुने र राज्यका सम्पूर्ण एकाइमा महिलाको पहुँच पुग्ने बताउनुभयो ।
अध्यक्ष थापामगरले भन्नुभयो, “सामन्तवादी व्यवस्थामा महिलालाई जति दुःख थियो आज गणतन्त्र आएपछि पनि कामदार महिला उत्ति नै अन्यायमा छन् । तावाबाट उम्किएको माछो भुङ्ग्रोमा परेका छन् । निर्मला पन्तका बलात्कारी र हत्यारालाई अहिलेसम्म समात्न सकिएको छैन । किनभने, बलात्कारी र हत्यारालाई यो सरकारले सिंहदरबार र बालुवाटारमा संरक्षण दिइरहेको छ ।”
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले संसद् विघटन र चुनावको घोषणालाई नेमकिपाले औचित्यपूर्ण र स्वाभाविक कदमको रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुँजीवादी प्रजातन्त्रमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने गर्छ । नेमकिपाले पुँजीवादी व्यवस्थाको आधारभूत सिद्धान्तको कुरा गरेको हो, केपी ओलीको समर्थन गरेको होइन ।”
राष्ट्रपतिबाट बोलाइएको सर्वदलीय बैठक र संसद् बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य ज्याख्वले अहिलेको संसद् असफल भयो भने निर्वाचन नै उपयुक्त विकल्प हुने बताउनुभयो ।
उहाँले समाजवादी देश प्रजग कोरियाले साम्राज्यवादी अमेरिकाको चुनौतीसँग पटक्कै नझुकी सार्वभौमिकतालाई जोगाइराखेको छ भन्नुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले शासक दलहरूले सर्वसाधारण जनतालाई झूटा आश्वासन बाँडेर निर्वाचन जिती राज्यको ढुकुटीलाई आफ्नो स्वार्थपूर्तिमा लगाइरहेका छन् भन्नुभयो ।
महिलाको समस्या वर्गीय समस्या हो । वर्गसङ्घर्षले कामदार महिलाको मुक्ति हुनेछ, उहाँले भन्नुभयो ।
नेमकिपा कैलाली जिल्ला उपाध्यक्ष ज्योति बडुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गजबहादुर दर्लामी, लक्ष्मी पुन, गगन थापामगर र लक्ष्मी पोखरेलले पनि बोल्नुभएको थियो ।
कैलालीमा प्रशिक्षण
नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपालको राजनीतिक आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त हो । देशमा समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपा सङ्घर्षरत छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नेबाहेक नेमकिपाको कुनै स्वार्थ छैन ।”
सशस्त्र सङ्घर्षबाट मात्र आमूल परिवर्तन सम्भव हुने धारणा राख्दै उहाँले पुँजीवादी निर्वाचनबाट परिर्वतन हुने मान्यता राख्नु संशोधनवादी विचार भएको बताउनुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले माक्र्सवाद विज्ञान भएको चर्चा गर्दै सर्वहारा वर्गको हैकम कायम गर्ने शासन व्यवस्था समाजवाद र साम्यवाद स्थापना गर्ने दर्शन नै माक्र्सवाद भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टको नाममा जनतालाई झूटा आश्वासन दिएर सोझा–सीधा जनतालाई ठग्ने शासक दलहरू नक्कली कम्युनिस्ट हुन्, पुँजीवादी हुन्, भारतीय एकाधिकार पुँजीका दलाल हुन् ।”
नेकपा एमाले र माओवादी केन्द्र साँचो अर्थमा कम्युनिस्ट हो भने नयाँ पुस्ताले विश्वविद्यालय तहमा निःशुल्क पढ्न पाउँथे, सबै जनताले निःशुल्क स्वास्थ्य उपचार पाउँथे, युवाहरूले स्वदेशमै रोजगारी पाउँछन्, उहाँले भन्नुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादमा धनी र गरीबको दुरी झन्झन् बढ्दै जाने चर्चा गर्दै शोषण, दमन, लैङ्गिक हिंसा, भ्रष्टाचारले नेपालमा पनि जरा गाड्दै छ भन्नुभयो ।
संसद् विघटन गरी चुनाव घोषणा गर्नुलाई स्वाभाविक र औचित्यपूर्ण भएको नेमकिपाको टिप्पणी सही भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कामदार जनताको हक स्थापनाको लागि वर्गसङ्घर्षलाई अगाडि बढाउन नेमकिपा क्रियाशील छ । विचारमाथि अङ्कुश लगाउन खोज्नेहरू जनताका शत्रु हुन् ।”
“एमसीसी सम्झौता चीनविरूद्ध प्रयोग गर्ने र नेपाललाई रणभूमि बनाउने संरा अमेरिकी षड््यन्त्र हो । अमेरिकी साम्राज्यवाद नेपाललाई उपनिवेश बनाउन खोज्दै छ । युवा शक्तिलाई देशभक्तिपूर्ण आन्दोलन र वर्गसङ्घर्षबाट टाढा राख्दै वैदेशिक रोजगारीको नाममा आधुनिक दास बनाउने षड्यन्त्र शासक दलको हो”, उहाँले भन्नुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले कम उमेरमा बिहे गरी बच्चा जन्माउने र सुत्केरीको स्याहार राम्रोसँग नगरिने कारणले महिलाहरूलाई स्वास्थ्यसम्बन्धी गम्भीर समस्याहरू देखिन थालेको हो भन्नुभयो ।
ज्योति बडुवालको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी पुन, गगन थापामगर र लक्ष्मी पोखरेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply