भर्खरै :

श्रमिक महिला दिवसको अवसरमा कीर्तिपुरमा महिला भेला

कीर्तिपुर, ५ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ कीर्तिपुर नगर समितिको आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिहीबार कीर्तिपुरमा महिला कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले श्रमिक महिलाहरू अगाडि नबढेसम्म महिलाहरूको हक अधिकार प्राप्त नहुने भन्दै सम्पूर्ण महिलाहरू अधिकारको लागि सङ्घर्षमा उत्रन आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट महिलाको हक अधिकार स्थापित भए पनि नेपालमा महिलाहरूमाथिको विभेद, बलात्कार, महिला हिंसा कायमै रहेकोले महिलाहरू सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
उहाँले देशमा राजनीतिक तरलता र अस्थिरता ठूला पार्टीहरुकै कारण भएको उल्लेख गर्दै देशको अस्थिर राजनीतिको अन्त्य गर्न नयाँ जनादेशमा जानुपर्ने बताउनुभयो ।
नयाँ जनादेशमा गएपछि करोडौँ जनताले राजनैतिक शिक्षा पाउने र गलत राजनीति गर्नेहरूविरुद्ध मत जाहेर गरी पराजित गर्ने अवसर मिल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ कीर्तिपुर नगर समितिका सचिव मेरिना महर्जनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको योगदानबारे प्रस्ट पार्नुभएको थियो ।
क्रान्तिकारी महिला सङ्घ कीर्तिपुर नगर समितिका अध्यक्ष अष्टमाया महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सुनेना महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *