भर्खरै :

लेनिनका जीवनका पानाहरू –९

समस्या र समाधान
सुरुमा जनकमिसार परिषद्को बैठकका कार्यसूचिमा प्रश्नहरूको सङ्ख्या एकदम धेरै हुन्थ्यो । कहिलेकाहीँ त एउटा बैठकमा समाधान गर्नुपर्ने प्रश्नहरूको सङ्ख्या ६० सम्म हुन्थ्यो । अझ १९१८ मा त्यस्ता बैठकहरू प्रायः दैनिकरूपमा बोलाइन्थे । सोभियत सरकारी निकायहरूले कार्य अनुभव सङ्गाल्न नसक्नु यसको आंशिक कारण थियो । जनकमिसार परिषद्को कार्यसूचीमा स–साना कुराहरूलाई सामेल गर्ने प्रवृत्तिविरुद्ध लेनिनले अनवरत कठिन सङ्घर्ष गर्नुभयो । उहाँले सूचीबाट त्यस्ता प्रश्नहरूलाई हटाइदिनुहुन्थ्यो र तिनलाई कारबाहीको लागि सम्बन्धित विभागहरूमा पठाउनुहुन्थ्यो । प्रायःजसो विचारार्थ पेश गरिएका प्रश्नहरू पूर्णरूपमा तैयार हँुदैनथे र ती प्रश्नउपर सम्बन्धित विभागहरूमा छलफल पनि हुँदैनथे । यस खालका प्रश्नहरूलाई पनि लेनिनको आदेशअनुसार सम्बद्ध विभागमा फिर्ता पठाइन्थ्यो, ताकि ती प्रश्नमाथि विचार–विमर्श हुनुभन्दा पहिला तिनीसँग सम्बन्धित सारा सामग्री सावधानीपूर्वक तैयार गरियोस् । कुनैपनि मामिलालाई विचारार्थ पेश गर्न योग्य बनाउनको लागि निम्न सामग्रीहरू पेश गर्नुपर्ने लेनिनको विचार थियो –
– एउटा सङ्क्षिप्त वर्णनात्मक स्मरणपत्र (बढीमा ३ पृष्ठको),
– जनकमिसार परिषद् वा श्रम तथा प्रतिरक्षा परिषद्को निर्णयको एक तयार मस्यौदा तथा त्यसमाथि सबै सम्बन्धित विभागका टिप्पणीहरू ।
– र, त्यस निर्णयसँग असहमत भएमा असहमति जनाउने विभागको जवाफी निर्णयको तैयार मस्यौदा ।
कार्यालयले निश्चित समय पहिला जनकमिसार परिषद्का सबै सदस्यलाई सामग्री पठाउनुपथ्र्यो । लेनिनले डिसेम्बर १९१७ मा यस सम्बन्धमा एउटा योजना तयार पार्नुभयो । जसमा उहाँले जनकमिसार परिषद्को कार्यसूचिमा कुनै प्रश्नलाई सामेल गराउन इच्छुक हरेक जनकमिसारसँग “एउटा लिखित प्रारम्भिक बयान” को माग गर्नुपर्छ भन्ने आदेश दिनुभयो,
“क) प्रश्न कुन विषयमा छ (सङ्क्षेपमा), यहाँ बयान एक वा दुई चिजको सन्दर्भसम्म मात्रै सीमित हुनसक्दैन । बरु त्यसमा प्रश्नको सम्पूर्ण सार दिनुपर्छ ।
ख) जनकमिसार परिषद्ले के–के गर्नुपर्ला ? सुझाव के छन् ? (पँुजी दिने, फल्ना–फल्ना प्रस्ताव पास गर्ने, वा अन्य यस्तै स्पष्ट बयान । अर्थात् याचनाकर्ताले के चाहन्छ भनी खुलाउने)
ग) के प्रस्तुत प्रश्न अन्य कमिसारको विभागसँग पनि सम्बन्धित छ ? कुन–कुन विभागसँग ? के उनीहरूको लिखित परामर्श प्राप्त भएको छ ?
यस मस्यौदालाई जनकमिसार परिषद्ले त्यसैदिन स्वीकार ग¥यो । त्यसपछि जन–कमिसारियतहरू तथा जनकमिसार परिषद्को कार्यालयसँग अधिकाधिक सटिक सामग्रीको माग गर्दै लेनिनले यस मस्यौदाको उदाहरण दिइरहनुहुन्थ्यो ।
कार्य–विधिमा सुधार सजिलोसँग भएन । तर, लेनिनले मुद्दालाई बारम्बार उठाइरहनुहुन्थ्यो । उहाँले जनकमिसारहरू प्रतिरोधलाई कडाइका साथ दबाउनुभयो, जसले साधारणतः बैठक हुँदै गर्दा यी अत्याधिक तात्कालिक प्रश्न हुन् भनी कार्यसूचिमा केही अतिरिक्त प्रश्नहरू थप्ने कोसिस गर्थे । यस सम्बन्धमा मलाई एउटा घटना याद आउँछ – जनकमिसार परिषद्को एउटा बैठकमा झेर्जिन्स्कीले कुनै तात्कालिक प्रश्नलाई कार्यसूचीमा थप्न आग्रह गर्नुभयो । “तपाईँसँग यससँग सम्बन्धित सामग्री छ ?” लेनिनले सोध्नुभयो । झेर्जिन्स्कीले छ भन्नुभयो । तब लेनिनले मतिर मोडिएर सोध्नुभयो, “के सामग्री यहीँ छ ?” मैले भनेँ, “नाइँ ।” झेर्जिन्स्कीले उहाँको कार्यालयले सामग्री हामीलाई पठाइसकेको छ, जनकमिसार परिषद्को कार्यालयले नै त्यसलाई यता–उता राखेको होला भन्नुभयो । र पनि, लेनिनले त्यस प्रश्नलाई बैठकको कार्यसूचिमा समावेश गर्न अस्वीकार गर्नुभयो । मैले तुरुन्त झेर्जिन्स्कीको कार्यालयमा टेलिफोन गराएँ । टेलिफोनमा त्यहाँबाट भर्खर–भर्खर सामग्री जनकमिसार परिषद्लाई पठाइएको छ भनी मलाई बताइयो । मैले झेर्जिन्स्कीलाई एउटा नोट लेखेँ । जसमा मैले ठट्यौली पारामा मलाई यत्तिकै बदनाम गर्नुभएको छ, दोष तपाईँ कै कार्यालयकै रहेछ भनँे । यस विषयमा झेर्जिन्स्कीले बोल्ने अनुमति माग्नुभयो र उहाँले मसँग क्षमा माग्नुपर्छ भनेर सबैले सुन्नेगरि भन्नुभयो । “मैले गलत बोलेँ,” उहाँले भन्नुभयो, “जनकमिसार परिषद्को कार्यालयले कागजात यता–उता गरेको होइन । दोष हाम्रै कार्यालयको हो ।”
यो घटना सामान्य हुनसक्छ, तर यसबाट फिलिक्स एद्मुन्दोभिच झेर्जिन्स्की सत्यको कति इमानदार आग्रही हुनुहुन्थ्यो भन्ने थाहा हुन्छ ।
कमिसारहरूद्वारा जनकमिसार परिषद्का बैठकका कार्यसूचिमा समावेश गरिने अनेकानेक साना प्रश्नहरूलाई सल्टाउन एउटा विशेष आयोग नियुक्त गर्ने प्रस्ताव धेरै पहिला, १९१७ मै स्वीकृत गरिएको थियो । यस्ता साना प्रश्नहरूलाई लेनिनले “वर्मिसैली” प्रश्न भन्नुहुन्थ्यो । “साना ‘वर्मिसैली’ प्रश्नहरूलाई सल्टाउनको लागि एउटा ‘वर्मिसैली’ आयोग बनाउनुहोस्,” प्रस्तावलाई ठ्याक्कै यिनै शब्दमा बैठकको कार्य–विवरणमा लेखिएको थियो । यही आयोगपछि गएर लघु जनकमिसार परिषद्मा रूपान्तरित भएको थियो, जसलाई आफ्नो अस्तित्वको अवधिमा धेरैचोटी पुनर्गठन गरियो । मुख्य जनकमिसार परिषद्बाट भिन्न लघु जनकमिसार परिषद्का सदस्य जनकमिसार नभएर जन–कमिसारियत बोर्डका सदस्य साथै विभागीय मुख्याधिकारी थिए । त्यसको अध्यक्ष पदमा एक जना साथीलाई विशेषरूपले नियुक्त गरिएको थियो । सुरुका दिनहरूमा लघु परिषद्का बैठकका कार्य–विवरण मुख्य परिषद्का बैठकहरूमा सुनाइन्थे । कुनै आपत्ति नभएमा तिनलाई जनकमिसार परिषद्का निर्णयका रूपमा समावेश गरिन्थ्यो । पछि जनकमिसार परिषद्ले लघु परिषद्का निर्णयहरूलाई मान्यता प्रदान गर्ने जिम्मेवारी लेनिनलाई सुम्पियो । तैपनि, लघु परिषद्मा सर्वसहमतिबाट स्वीकृत भएमात्र लेनिनले तिनलाई मान्यता प्रदान गर्नुहुन्थ्यो । यदि लघु परिषद्का कुनै सदस्य अथवा कुनै जनकमिसारलाई कुनै आपत्ति भएमा वा स्वयम्ः लेनिन असहमत भए पनि उक्त विषयलाई बहसको लागि मुख्य परिषद्मा पेश गर्नुहुन्थ्यो ।
उदाहरणका लागि, लेनिनले रुसी सोभियत सङ्घात्मक समाजवादी जनतन्त्रका सबै निर्माण परियोजनाहरूको एकीकरणका सम्बन्धमा ३ फेब्रुअरी, १९२१ लघु परिषद्द्वारा स्वीकृत निर्णयलाई मान्यता प्रदान गर्नुभएन र त्यसलाई मुख्य परिषद्मा विचारार्थ पेश गर्नुभयो ।
लेनिनले लघु परिषद्को कामलाई नजिकबाट नियाल्नुहुन्थ्यो र त्यसका सदस्यहरूलाई हतारमा फैसला नगर्न सल्लाह दिइरहनुहुन्थ्यो ।
लघु परिषद्को नाममा २७ अगस्ट, १९२१ मा लेखेको पत्रमा लेनिनले “आज्ञप्तिका शब्दावलीहरूलाई राम्रोसँग सावधानीपूर्वक तयार गर्नुपर्ने” आवश्यकताबारे बताउनुभएको थियो ।
उहाँले लेख्नुभएको थियो, “अन्त्यहीन सुधार असह्य छ । मेरो धारणामा लघु परिषद्का हालका केयौँ आज्ञप्तिहरूमा हतारोपना प्रकट हुन्छ ।”
“यस्तो गडबडीविरुद्ध गम्भीर कारवाही गरिनुपर्छ, ताकि मानिसहरूमा कुनै गुनासो नहोस् र लघु परिषद्विरुद्धका मानिसका आपत्तिहरूलाई केन्द्रीय समितिमा लैजान नपरोस् ।”
श्रम तथा प्रतिरक्षा परिषद्का कामहरूमा पनि यस्तै पद्धति अपनाइएको थियो । साना मामिलालाई सल्टाउन श्रम तथा प्रतिरक्षा परिषद्को प्रशासनिक बैठकहरू बोलाइन्थे । श्रम तथा प्रतिरक्षा परिषद्का प्रशासनिक बैठकहरूको अध्यक्षता अभनेसोभले गर्नुहुन्थ्यो र पूर्ण अधिवेशनको अध्यक्षता लेनिनले गर्नुहुन्थ्यो । यी दुईमा मात्र यत्ति (अध्यक्षताको) अन्तर थियो । कहिलेकाहीँ प्रशासनिक बैठकहरूमा विचार–विमर्शको क्रममा साधारण लाग्ने मामिला वास्तवमा सिद्धान्तसँग जोडिएको मामिला हुन्थ्यो । यस्तो स्थितिमा लेनिनलाई (उहाँको अध्ययन–कक्ष, सभा–भवनसँगै सटेको थियो) बोलाइन्थ्यो र श्रम तथा प्रतिरक्षा परिषद्को त्यस बैठकलाई पूर्ण अधिवेशन घोषित गरिन्थ्यो । जटिल प्रश्नको हल हुनेबित्तिकै लेनिन आफ्नो अध्ययन–कक्षमा जानुहुन्थ्यो । र, श्रम तथा प्रतिरक्षा परिषद्को कारबाही फेरि प्रशासनिक बैठकको रूपमा चल्थ्यो । यस प्रक्रियाको झलक श्रम तथा प्रतिरक्षा परिषद्का कार्य–विवरणहरूमा पनि देखिन्थ्यो ।
श्रम तथा प्रतिरक्षा परिषद्को तर्फबाट प्रशासनिक बैठकहरूद्वारा गरिएका फैसलाहरूलाई लेनिनले श्रम तथा प्रतिरक्षा परिषद्का सदस्यहरूमध्ये कसैको पनि आपत्ति नभएमा मात्र मान्यता प्रदान गर्नुहुन्थ्यो । जुन फैसलामा आपत्ति हुन्थ्यो, तिनलाई श्रम तथा प्रतिरक्षा परिषद्को अधिवेशनको कार्यसूचिमा विचारार्थ समावेश गरिन्थ्यो ।
कुनै बैठकको दिन र समय फेरबदल गर्नेजस्ता सामान्य लाग्ने प्रश्नहरूको सम्बन्धमा पनि लेनिनले कुनै फैसला व्यक्तिगतरूपमा गर्नुहुन्नथ्यो । बरु आफ्नो सेक्रेटरीमार्फत गश्ती चिठ्ठी पठाएर जनकमिसार परिषद्का सबै सदस्यहरूको पूर्व–सहमति लिनुहुन्थ्यो । हुन त यस्तो फेरबदलमा कहिल्यै कसैले आपत्ति गर्दैनथे । उक्त “गश्ती चिठ्ठीहरू” मध्ये केही माक्र्सवाद–लेनिनवाद संस्थानको अभिलेख भवनमा सुरक्षित छन् । जनकमिसार परिषद्का सबै सदस्यहरूको नाम टाइप गरिएको एउटा सूची छ, जसमा हरेक नामको अगाडि “हुन्छ” लेखिएको छ ।
जनकमिसार परिषद्का बेठकहरूमा भाग लिने अधिकार जनकमिसार र उप जनकमिसारहरूलाई प्राप्त थियो । उपजनकमिसारहरूहरूलाई जनकमिसारहरूको अनुपस्थितिमा निर्णायक भोट दिने अधिकार पनि थियो । बैठकमा उपस्थित हुने बोर्डका सदस्यहरूले परामर्शदायी भोट मात्र दिन पाउँथे । बैठकहरूमा अनावश्यक मानिसहरू सरिक भएको लेनिनले मन पराउनुहुन्नथ्यो । किनकि उहाँले बैठक नितान्त कामकाजी होस् भन्ने चाहनुहुन्थ्यो, ताकि यथासम्भव कम समय नष्ट होस् । उहाँलाई विशेषतः जन–कमिसारियतहरूका धेरै कार्यकर्ता बैठकहरूमा रिपोर्ट दिन आउने कुरामा आपत्ति थियो । सुरुमा उनीहरू ठूलो सङ्ख्यामा आउँथे । अचानक कुनै यस्तो सूचना आवश्यक हुनसक्छ जुन जनकमिसार वा उपजनकमिसारले पेश गर्न नसक्लान् भनी उनीहरूमध्ये धेरैजसो बैठकहरूमा सरिक हुन्थे ।
लेनिन बैठकमा रोकावट उत्पन्न हुने भएकाले पनि यस प्रकियाको विरुद्धमा हुनुहुन्थ्यो । कार्यकर्ताहरूले आफ्नो सारा काम छोडेर बस्नुपथ्र्यो । जुन विषय जनकमिसार वा उपजनकमिसारले पेश गर्छन्, त्यससँग सम्बन्धित सबै सूचनाहरू पेश गर्ने क्षमता उनीहरू स्वयम्मा हुनुपर्छ भन्ने लेनिनको मान्यता थियो । लघु परिषद्का बैठकहरूमा बोल्नेहरूको सङ्ख्या विशेषगरि धेरै हुन्थ्यो ।
एकचोटी जनकमिसार परिषद्को साँझको बैठकमा बोल्नेहरूले दोस्रो कोठामा प्रतिक्षा गरिरहेका थिए । लेनिनले कार्यसूचीको आगामी प्रश्नमाथि विचार–विमर्श सुरु हुनुभन्दा पहिले उनीहरूलाई भित्र आउने अनुमति दिनुभयो । ढोका खुल्यो र बोल्न आउनेहरूको ताँती लाग्यो । ती करिब २० जना थिए । अन्तिमको मानिस भित्र पस्न नपाउँदै बैठकमा हाँसो फैलियो । त्यसैदिन लेनिनको आग्रहमा जनकमिसार परिषद्ले एउटा प्रस्ताव पास ग¥यो । कार्यसूचीका प्रत्येक प्रश्नमा हरेक सम्बन्धित विभागबाट मात्र एक वा बढीमा दुई वक्ता बोल्ने भन्ने यसको आशय थियो । तैपनि बोल्नेहरूको सङ्ख्या आवश्यकताभन्दा अधिक नै रह्यो ।
सामान्यतः वक्ताहरू बसेर प्रतिक्षा गर्ने कोठामा लेनिनको दृष्टि पर्दैनथ्यो । एक दिन साँझ छिप्पिसकेपछि जनकमिसार परिषद्को बैठक चलिरहेको थियो । संयोगले लेनिन त्यो कोठा हुँदै हिँड्नुभयो । उहाँले कोठा प्रतिक्षाका कारण थकित मानिसहरूले भरिएको देख्नुभयो । उनीहरू धँुवाले उकुसमुकुस वातावरणमा निसास्सिइरहेका थिए । केही मानिसहरूले चेसका मोहोरा चालिरहेका र केहीले अखबार पल्टाइरहेका थिए । र, बैठकमा बोलाइने समयको प्रतिक्षा गरिरहेका थिए । यत्तिकैमा बैठक समाप्त भएपछि धेरैचोटि तिनीहरूलाई उनीहरूसँग सम्बन्धित काम स्थगित गरिएको कुरा बताइन्थ्यो ।
लेनिन रिसले चुर हुँदै आउनुभयो । उहाँले यस्तो अनुचित स्थितिको लागि हाम्रो कठोर भत्र्सना गर्नुभयो र तुरुन्त त्यहीँ तत्सम्बन्धी कार्यविधिको बारेमा आज्ञा जारी गर्नुभयो । त्यस समयबाट उहाँले बयान दिनेहरू आफ्नो मामिलाको पेशीभन्दा १५ मिनेट पहिला आउने काइदा बनाउनुभयो । यस कुरालाई ध्यानमा राखेर बैठक सुरु हुनेबित्तिकै कुन प्रश्नहरूमा विचार–विमर्श हुने र कुन स्थगित गरिने तथा मामिलाको सुुनुवाइ कुन क्रममा हुने भनी निश्चित गर्न कार्यसूचीमा सोच–विचार गर्नुपथ्र्यो । जुन मामिलाहरूमा रिपोर्ट सुन्नुपर्ने सवाल हुन्थ्यो, तिनलाई कार्यसूचीको माथि राखिन्थ्यो र अरूलाई अन्तिममा । सेक्रेटरीले बैठकभन्दा पहिला बयान दिनेहरूसँग सम्पर्क स्थापित गर्नुपथ्र्यो । र, बैठक सुरु हुँदा उनीहरू कहाँ भेटिन्छन् भन्ने उनीहरूसँग तय गरेर मोटर तयार राख्न अ¥हाउनुपथ्र्यो र बैठकको कार्यसूचि तैयार हुनेबित्तिकै उनीहरूलाई सूचना दिनुपथ्र्यो । उनीहरूको मामिलाको सुनुवाइको लागि ठ्याक्कै कुन समय निक्र्यौल गरिएको छ ? जानकारी दिनुपथ्र्यो । यदि बैठकको क्रममा उनीहरूको मामिलाको सुनुवाइमा कथम्कदाचित् अबेर हुने भएमा सेक्रेटरीले यसको खबर बयान दिने व्यक्तिसम्म पु¥याउनुपथ्र्यो । यसलाई लेनिनले “बयान दिनेहरूलाई टेलिफोनको सम्पर्कमा राख्नु” भन्नुहुन्थ्यो ।
लेनिनले १३ अक्टोबर, १९२१ मा जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद्का प्रबन्धकहरूलाई यो लिखित चेतावनी दिनुभएको थियो, “मैले माग गर्दछु, हजुरले लघु परिषद्का अध्यक्षको नियमित सहमति प्राप्त (र सेक्रेटरीहरूसँग तय) गरेपछि व्यान दिनेहरूलाई (मुख्य र लघु दुवै परिषद्का बैठकहरूमा) बोलाउने तरिका बदल्नुहोस् ।”
“आजभोलि यस्तो भइरहेको छ, बयान दिनेहरूलाई बोलाइन्छ र उनीहरूले आफ्नो मामिलाको पेशीको प्रतिक्षामा घण्टौँ बिताउँछन् ।”
“यो लज्जास्पद र हास्यास्पद छ ।”
“बयान दिनेहरूलाई एक निश्चित समयमा बोलाउने तरिका अपनाउन आवश्यक छ”
“बयान दिनेहरूको आवश्यकता छ वा छैन र यदि छ भने तिनीमध्ये कुन–कुनको आवश्यकता छ, टेलिफोनमा दोहोरो जाँच गर्न जरुरी छ । बैठक–विशेषको कार्यविधिको सही क्रम (अर्थात ती बयानहरू सुन्ने कुरा समावेश छ वा छैन) अवश्य निक्र्यौल हुनुपर्छ । यसरी बयान दिनेहरूले १५ मिनेटभन्दा धेरै कुर्नुपर्दैन ।”
“हजुरसँग आग्रह गर्छु, हरेक चीजलाई सावधानीका साथ तौलँदै यी तरिकाहरूको तुरुन्त एक पद्धति बनाउनुहोस् र लघु परिषद्बाट पास भएपछि मलाई सूचना दिनुहोस् ।”
टिप्पणीहरू :
१) डेसीस्ट– जनवादी केन्द्रीयतावादी गुटका सदस्य । यो गुट १९२०–१९२१ मा बनेको थियो । त्यसका सदस्यहरूले सोभियतहरू र ट्रेड–युनियनहरूमा पार्टीको नेतृत्वदायी भूमिकालाई अस्वीकार गर्थे, उद्योगका सञ्चालकहरूको व्यक्तिगत जिम्मेवारी तथा ऐकिक प्रशासनको विरोध गर्थे र पार्टीभित्र गुट र समूहहरूको स्वतन्त्रताको माग गर्थे । पार्टीले डेसीस्टहरूलाई पार्टी–विरोधी गुटबाज भनेर उनीहरूको निन्दा ग¥यो ।
२) अखिल–रुसी केन्द्रीय ट्रेड–युनियन परिषद् – सोभियत ट्रेड–युनियनहरूको सर्वोपरि निकाय ।
३) राष्ट्रिय आर्थिक परिषद् – उद्योगहरूको सञ्चालन गर्ने सरकारी निकाय । प्रदेश, गुर्बेनिया, उएज्द आदिका यी परिषद्हरूमा राष्ट्रिय आर्थिक परिषद् सबैभन्दा ठूलो थियो ।
प्रस्तुतिः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *