भर्खरै :

जनताको प्रजातन्त्र’बारे अन्तरक्रिया

काठमाडौँ, ७ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, दैलेख–काठमाडौँ सम्पर्क समितिले नेमकिपाको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’ बारे एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्व अध्यक्ष सरोजराज गोसाईले भारतीय एकाधिकार पुँजीको विरुद्ध लड्न नेमकिपाले जनताको प्रजातन्त्रको कार्यक्रम अगाडि सारेको धारणा राख्नुभयो ।
देशभक्त, प्रगतिशील बुद्धिजीवी तथा राष्ट्रिय पुँजीपति वर्गको साथमा मजदुर वर्गको शासनसत्ता स्थापना गर्ने नेमकिपाको तत्कालीन कार्यक्रम भएको चर्चा गर्दै उहाँले पुँजीवादी प्रजातन्त्रले कामदार वर्गमाथिको शोषण कायम राख्ने बताउनुभयो ।
पूर्वअध्यक्ष गोसाईले नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए तापनि वर्गीय शोषणको अन्त नभएको भन्दै जनताको प्रजातन्त्रले धनी र गरिबबीचको भेद कम गर्ने बताउनुभयो । उहाँले पुँजीवादी संसदीय प्रजातन्त्र शोषक वर्गको प्रजातन्त्र भएको उल्लेख गर्दै जनताको प्रजातन्त्र कामदार वर्गको प्रजातन्त्र हो भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका अध्यक्ष सविन ख्याजूले जनताको प्रजातन्त्रमा कामदार वर्गका युवाहरूले व्यक्तित्व विकासमा समान अवसर पाउने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष विमलकुमार विकको सभापतित्वमा भएको कार्यक्रममा जीवन शाही, लीला विश्वकर्मा, शम्भु जाउलालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *