भर्खरै :

सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकोले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभएको हो । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरू नगर्न विज्ञप्तिमा उल्लेख छ । भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरूपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ ।
भारतमा पछिल्लो समय एकै दिन ४३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । नेपालमा विगत २४ घण्टामा ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । हालसम्म कोरोनाबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा थप तीन हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *