भर्खरै :

ताथली–नाला र सल्लाघारी–नगरकोट सडक निर्माणमा ठेकेदारको लापरबाही

भक्तपुर ८, चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले आइतबार ताथली–नाला र सल्लाघारी–नगरकोट खण्डको सडक अनुगमन गर्नुभयो । ताथली–नाला सडक स्तरोन्नतिको क्रममा ठेकेदारबाट लापरबाही भएको गुनासो आएको थियो । उक्त सडक स्तरोन्नतिको निम्ति गत वर्ष नै सडक डिभिजनबाट बजेट विनियोजन भएको हो । रु. ५ करोड विनियोजन भएर घटाघटमा साढे २ करोडमा ‘ब्राइट तेज जेभी’ लाई ठेक्का परेको हो । उक्त सडक स्तरोन्नतिको कार्य गत असारमै गरिसक्नुपर्ने थियो । तर, कोभिड–१९ को कारण लकडाउनले काम ढिलो भएको र अबको ५ महिनाभित्र सक्नुपर्ने गरी म्याद थप भएको जानकारी ठेकेदार कम्पनीका प्राविधिकले दिए ।
फैढोकाको पाँगो खानीदेखि चोकन्तिलासम्मको सडक पिच गरेको तीन दिनभित्रै बिग्रेको गुनासो स्थानीयले गरे । स्थानीयका अनुसार ठेकेदारले ‘प्रिमिक्स’ पिच राम्रो नगर्दा छोटो समयमै बिग्रन पुग्यो । सडकमा गरेको पिच केही दिनभित्रै ठाउँँठाउँमा चिरा परेको देखियो ।
उक्त पिचबारे सांसद सुवालले ठेकेदार कम्पनीका प्राविधिक तेज कासिछ्वा र डिभिजन सडक कार्यालय भक्तपुरका सव इन्जिनियर अच्युत न्यौपानेसँग बुझ्दा अत्यधिक भार बोकेको गाडी पिच सेट नहुँदै गुडेको कारण चिरा पर्न गएको बताउनुभयो । प्राविधिकहरूका अनुसार उक्त सडकले १० टनसम्मको भार वहन गर्न सक्ने क्षमता राख्दछ, तर २०÷३० टनसम्मको गाडी सडकमा गुडेको कारण सडक बिग्रियो । पिच गरेपछि सेट हुन कम्तीमा १ हप्ता लाग्छ तर पिच गरेकै दिनदेखि ठूला गाडीहरू कुद्न थालेकोले पिच ठाउँठाउँमा चिरा परेको उहाँहरूले बताउनुभयो ।
स्थानीय जनता भने ठेकेदार कम्पनीले जनताको आँखामा छारो हाल्न कमसल काम गरेको र सडक डिभिजन कार्यालय पनि कमिसनको चक्करमा परेकोले गतिलो काम नभएको गुनासो गर्छन् । ठेकेदार कम्पनीले हाल उक्त चिरा परेको पिच मर्मत गरिसकेको देखिन्छ । ठेकेदार कम्पनीका प्राविधिकले अन्य ठाउँमा पनि बिग्रिए फेरि राम्रोसँग मर्मत गर्ने बताए ।
सोही दिन सांसद सुवालले सल्लाघारी नगरकोट खण्डको सल्लाघारीदेखि हाकुफल्चासम्मको सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुभयो । रु. १ करोड ८० लाख विनियोजन भएको उक्त सडकको ठेक्का ‘ग्रीनपिस विल्डर्स’ ले प्राप्त गरेको छ ।
स्थानीय जनताले सल्लाघारीमा रहेको उक्त सडकको मुखमा चौडाइ कम भएको र माथि फुकेको कारण सडक जाम हुने गरेको गुनासो व्यक्त गर्दै हाकुफल्चादेखि सल्लाघारीसम्मको सडकको चौडाइ एकैनासको गराउन र ढल निकासको बन्दोबस्त गराउन डिभिजन सडक कार्यालय भक्तपुरमा दर्खास्त राख्दा पनि सुनुवाइ नभएको गुनासो व्यक्त गरे ।
सांसद सुवालले सोबारे सडक डिभिजन कार्यालय भक्तपुरका प्राविधिकहरूसँग सोधनी गर्दा हाल सडक मेन्टेनेन्सको लागि मात्रै रकम विनियोजन भएको र सोहीअनुसार इस्टिमेट भएको हुनाले फुटपाथ र सडक चौडा गर्ने काम हाल नहुने जानकारी दिनुभयो । उहाँले जनताको मागअनुसार ढल निकासको बन्दोबस्त गर्न र मुखमा पनि सडक चौडा गराउनको लागि सडक डिभिजन कार्यालय भक्तपुरको ध्यानाकर्षण गराउनुभयो ।
सडक अनुगमनमा भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद वासुकला र चाँगुनारायण नगरपालिका वडा नं ९ का वडाध्यक्ष गणेश त्यातको पनि उपस्थिति थियो । उहाँहरूले सडक डिभिजन कार्यालयले गर्ने कामको बारेमा सम्बन्धित वडासँग समन्वय नगर्ने भएकोले जनताको भावनाअनुसार काम राम्रो हुन नसकेको गुनासो व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *