लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
सरकारको हेरफेर विकासको सूचक होइन । छिनछिनमा सरकारको परिवर्तन देश र जनताको आवश्यकता र चाहना पनि होइन । देशले विकासमा फड्को मार्न नसक्नुको एउटा कारण अस्थिर सरकार हो । सरकारको नेतृत्व परिवर्तन भएसँगै एक–दुई महिना सरकार व्यवस्थापनमै बित्छ । आ–आफ्नो मन्त्रालयको स्थिति बुझ्न र कार्यान्वयनमा जान समय लाग्छ । कुनै मन्त्रीले मन्त्रालयको जिम्मेवारी समाल्ने बित्तिकै सुधार या परिवर्तन हुने होइन । कृषिको विकासमा तीव्र आलोचना गर्ने घनश्याम भुसाल कृषिमन्त्री हुँदा केही भएन । बरू उनकै पालामा लामो समयसम्म मलको हाहाकार भयो ।
कुनै दल सरकारमा जाने निर्णय गरेपछि कुनै सांसदलाई मन्त्रीको जिम्मेवारी दिने भन्ने सवालमै दलभित्र विवाद हुन्छ । तीन–चार दल मिलेर एक बनेको दलमा यो समस्या झन् देखिन्छ । नेता बढी हुने हुँदा कुन नेतालाई सरकारको नेतृत्व गर्नेबारे भिन्न भिन्न मत हुन्छ । त्यही भिन्न मतका कारण पार्टी फुट्छ । पार्टी नै नफुटे पनि पार्टीभित्र नेताहरूको अन्तरकलह बढ्छ । यसरी सरकारमा जाने या नजाने र जाने भए कुन नेताको नेतृत्वमा पठाउने सन्दर्भमा उठेको नेताहरूको विवादले दलमात्र होइन देश नै अनिर्णयको बन्दी बन्छ ।
सरकारमा जान पाएपछि या सरकारको नेतृत्व गर्न पाएपछि सिद्धान्त र विचार नै बन्धक राख्ने, व्यक्तिगत र दलगत स्वार्थमा अल्झेर सरकारमा सामेल हुने काम अहिले पनि भइरहेको छ । यो भागबन्डाले पारेको प्रभाव हो । भागबन्डाको राजनीति अहिले पनि देखिएको छ । कुनै दल सरकारमा जानु अस्वाभाविक होइन । तर, सिद्धान्त र विचारको ख्याल नगरी, सिद्धान्त र विचार छोडेर सरकारमा सामेल हुने हतारो किन हुन्छ ? भागबन्डाको राजनीति भइरहेसम्म देशको मुहार फेरिने छैन । बहुदलीय व्यवस्था स्थापना भएको तीन दशक बितिसके पनि देश विकासशील मुलुक पनि बनेन । यो विडम्बनाकै विषय हो ।
सत्ता समीकरणको खेलमा यतिबेला जनता समाजवादी पार्टी (जसपा) को चर्चा छ । सरकारको नेतृत्व गरिरहेको ओली पक्षको एमाले र माओवादी पक्षले नयाँ सरकार गठन गर्नको लागि मत आफूतर्फ लिने प्रयास गरिरहेका छन् । जसपाका नेताहरूले आफ्नो माग पूरा गर्ने दललाई समर्थन गर्ने कुरा फुकिरहेका छन् । त्यसबारे जसपाको मत विभाजित छ । भट्टराई र उपेन्द्र पक्ष हालको सरकार ढाल्ने पक्षमा छन् भने ठाकुर र महतो ओलीको पक्षमा छन् । राजनीतिक विश्लेषकहरू जसपाले सत्ता समीकरणमा निर्णायक भूमिका खेल्ने चर्चा गर्छन् । । जसपा सरकार गएकोमा कसैको विरोध नहोला । तर, देश र जनविरोधी सर्त राखेर, सर्त पूरा गराएर सत्तामा जानु ठीक होइन । नेपाली जनताको विरोध यसैमा केन्द्रित छ ।
Leave a Reply