भर्खरै :

देशको दुर्दशा कति दिन लम्ब्याइरहने ?

नेका, माओवादी केन्द्र र असन्तुष्ट एमाले पक्षधर नेताहरूले प्रम ओलीको राजीनामा माग गरेका छन् । तर, प्रम ओलीको राजीनामा माग्ने नेताहरूले वर्तमान सरकारले गरेको भन्दा फरक के काम गर्ने भन्ने कुरा कुनै जानकारी दिएका छैनन् । आफ्नो कुनै कार्यक्रम सार्वजनिक नगरी र ओलीको विकल्प नदिँदै राजीनामा माग गर्नु के उचित हो ? प्रम ओलीको राजीनामा केको लागि ? कुनै कार्यक्रम र प्रतिबद्धता नै सार्वजनिक नगरी राजीनामा माग गर्नु समय सान्दर्भिक छैन । प्रम फेर्दैमा यहाँ बहुमत नेपाली जनताले कुनै राहत पाउने छैनन् ।
प्रम ओलीले अविश्वास प्रस्ताव राखेर पदबाट हटाउन चुनौती दिएका छन् । अरू दलको चुनौतीलाई उनले सामना गर्ने बताएका छन् । तर, अरू दलले न अविश्वासको प्रस्ताव राखेका छन् न त वर्तमान प्रमको अरू विकल्प दिन सकेका छन् । एउटै दलको झन्डै दुईतिहाइ मत प्राप्त सरकारको यो हविगत छ भने तीन दल मिलेर बनेको सरकारको हविगत के होला ? पुँजीवादी पार्टीका नेताहरूले पालैपालो पटक–पटक शासन गरेकै हुन् । शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले शासन चलाएकै हुन् । उनीहरूले चलाएको सरकारको अनुभव जनतासँग नभएको होइन । फेरि तिनीहरूकै नेतृत्वमा सरकार चले पनि केही फरक हुनेछैन ।
देशमा अस्थिरता निम्त्याउने काम ठूला दलका नेताहरूले नै गरेका हुन् । पार्टी टुटफुट पनि ठूला दलमै भएका छन् । तिनै नेताहरू ५ वर्षको लागि सरकारको नेतृत्व गर्न दिएको कुरा फुक्छन्, अनि समय नसकिँदै कहिले राजीनामा दिन त कहिले प्रमविरूद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउने कुरा पनि बताउँछन् । नेताहरू किन द्वैधचरित्रको नीति अँगाल्छन् ? यो समय प्रम फेर्ने बेला होइन । ओलीको ठाउँमा अर्को कुनै नेता प्रम भए पनि केही फरक पर्दैन भने प्रम किन फेर्ने ? हो, सरकारको कमी कमजोरी औँल्याउनुपर्छ, प्रम ओलीको अभिव्यक्ति, कार्यशैली मिलेन भने खबरदारी गर्नुपर्छ । असन्तुष्ट हुँदैमा, मन नमिल्दैमा के राजीनामा माग्नुपर्छ र ? के प्रम ओलीको राजीनामा नै समस्या समाधानको अन्तिम उपाय हो ? सरकार र प्रमको हेरफेर गर्नेसम्बन्धी चर्चा नै महिना दिन भइसक्यो । सरकार र प्रमको हेरफेर गर्ने चर्चा गरेर अझै कति दिन देशको दुर्दशा लम्ब्याउने ? प्रम हेरफेरको दौडधूपमा लाग्नुभन्दा आफ्ना दलका नेता तथा कार्यकर्ताहरू गाउँ–ठाउँ, सहर बजार पुगेर सिद्धान्त र विचारको प्रचार प्रसार गरेर जनतालाई सुसूचित पारेका भए पछिल्लो निर्वाचनको निम्ति अवश्य फाइदा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *