अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
वीरगञ्ज, ९ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा कामदार वर्गलाई राजनैतिकरूपमा सचेत र सङ्गठित बनाई शासन सत्तामा पु¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
पर्साको पोखरियामा सोमबार भएको भेलामा बोल्दै उहाँले शिक्षा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको र शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भक्तपुर नगरपालिकाले समाजवादी मोडेलअनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी समाजलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउन क्रियाशील रहेको बताउँदै नेपाल कृषिप्रधान र जलस्रोतमा धनी देश भएर पनि व्यवस्थित सिंचाइको अभावका कारण कृषि क्षेत्रको समुचित विकास हुन नसकेको बताउनुभयो ।
नेपालमै सुविधासम्पन्न मल कारखाना खोल्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारको नीति किसानविरोधी नीति भएको र खेतीयोग्य जमिन, खनिज पदार्थ तथा प्राकृतिक स्रोतसाधनको संरक्षण गरी सही सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देश विकासमा विदेशीको भरपर्नु भनेको नेपाललाई भारतको उपनिवेश बनाउनुसरह हुने बताउँदै उहाँले आफ्नो हक अधिकारको सुनिश्चितताको लागि कामदार वर्ग सचेत र सङ्गठित हुनुपर्ने र राजनैतिकरूपले सचेत नागरिकहरूले कुनै प्रलोभनमा नपरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्छ भन्नुभयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले कामदार वर्गको प्रजातन्त्र भन्नु नै समाजवादी गणतन्त्र भएको बताउँदै राजनीतिक चेतनाका कारण देश र समाजको विकासमा मद्दत पुग्ने बताउनुभयो ।
भेलामा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेमकिपा पर्सा जिल्ला समितिका सदस्य इस्लाम मियाँले पनि बोल्नुभएको थियो ।
यसैबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य प्रमुख सुनिल प्रजापतिले नेकपाबीचको झगडाले राजनीतिक सङ्कट निम्त्याएको बताउँदै नेमकिपा जनताको राजनैतिक चेतनास्तर उकास्न निर्वाचनको पक्षमा रहेको बताउनुभयो ।
सोमबार साँझ वीरगञ्जस्थित रेडियो वीरगञ्जको कार्यक्रम ‘फरक कोण’ का प्रस्तोता उज्ज्वल शर्मासँगको अन्तरसंवादमा बोल्दै निर्वाचनको समयमा व्यक्तिगत प्रलोभनमा परी बदनाम व्यक्तिलाई निर्वाचनमा जिताउने जनता स्वयम् पनि देशमा राजनीतिक अस्थिरता निम्तिनुमा दोषी भएको बताउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि जनता निराशभन्दा पनि राजनैतिकरूपमा सचेत र सङ्गठित हुन जरूरी रहेको बताउनुभयो ।
निर्वाचनको समयमा उम्मेदवार चयन गर्दा जनताले विवेकपूर्ण निर्णय गर्नुपर्ने र व्यापक जनताको हितमा काम गर्ने राजनीतिक दललाई आफ्नो मत दिई जिताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा स्थापनाकालदेखि नै चुनावलाई उपयोग गर्दै कामदार जनताको पक्षमा कानुन निर्माण गर्न सडकदेखि सदनसम्म आवाज उठाउँदै आइरहेको उहाँले बताउनुभयो ।
Leave a Reply