भर्खरै :

आत्मनिर्भरताको लागि आफ्नै स्रोतको प्रयोग आवश्यक

कलैया, १० चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बाराको कलैयामा मङ्गलबार कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन आफूसँग भएको स्रोत र साधनको अधिकत्तम प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेमकिपा सिङ्गो समाजलाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यका साथ कामदार वर्गका जनतालाई आफ्नो राजनीतिक अधिकारबारे सचेत र सङ्गठित बनाउने अभियानमा रहेको प्रस्ट पार्नुभयो ।
समाजवादी व्यवस्था काम गरिखाने वर्गको स्वर्ग हो भन्दै उहाँले कम्युनिस्ट पार्टी दाबी गर्ने सरकारले समाजवादी देशहरू क्युवा, प्रजग कोरिया, चीनलगायतका देशहरूको शासन व्यवस्थाबाट सिक्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले देश र जनतालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम तथा गतिविधिहरू अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
समाज परिवर्तनको निम्ति कामदार वर्गलाई राजनैतिकरूपले सचेत पार्नुपर्नेमा जोड दिँदै उहाँले नक्कली कम्युनिस्टहरूबाट जनता सचेत हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामदार वर्गको पक्षमा ऐन कानुन बनाउन जनता आफै सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले कृषि लक्षित तालिमहरू सञ्चालन गरिरहेको र महिलाहरूको लागि निःशुल्क स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले आर्थिक समानताको निम्ति वैज्ञानिक समाजवादको खाँचो औँल्याउँदै नेमकिपा स्थापनाकालदेखि कामदार वर्गको पक्षमा आफ्नो आवाज बुलन्द गर्दै आइरहेको छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवले वर्तमान सरकारले आफ्नो पार्टीको नाममा कम्युनिस्ट राखेर जनता झुक्याउने काम गरिरहेको बताउँदै पुँजीपति वर्गले सधैँ कामदार वर्गलाई शोषण गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा नेमकिपा बारा जिल्ला समितिका सदस्य रन्जुदेवी शाह र इनर दासले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *