भर्खरै :

मधेशकेन्द्रित दल मधेसी जनताको पक्षमा छैन

हरेक राजनीतिक दलको माग देश र जनताको पक्षमा हुनुपर्छ र त्यो न्यायोचित हुनुपर्छ । न्यायोचित मागलाई सरकारले सम्बोधन गर्नुपर्छ । दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित माग छ भने त्यसबारे सोच्नुपर्छ । मधेसवादी दलले मागेको माग मधेसी समुदायको हितमा छैन भने पूरा गर्नु ठीक होइन । मधेसी समुदायकै शोषक, सामन्त, जमिनदार, पुँजीपतिको वर्गको पक्षमा माग अघि सार्छ भने त्यो मधेसी जनताको चाहना हुँदैन । मधेसी जनताको नाउँ र हित जोडेर देशलाई दूरगामी असर पार्ने सर्त राख्नु न्यायोचित हुँदैन र देश र जनताको पक्षमा हुँदैन ।
कुनै अपराधी या दोषीलाई मुक्त गर्नुपर्ने माग कसरी मधेसी जनताको चाहना हुन्छ, मधेसी जनताको हितमा हुन्छ ? हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने, एक मधेस एक प्रदेश बनाउने, जात, भाषा, वर्णको आधारमा प्रदेशको नामकरण माग गर्नु कसरी मधेसी जनताको चाहना हुन्छ ? देश विखण्डको धम्की दिने, मधेस अलग राज्य घोषणाको कुरा उठाउने, जन्मेको आधारमा वंशजको नेपाली नागरिकता दिनुपर्ने माग के मधेसी जनताको हितमा हो ? यही माग मधेसी दलहरू मिलेर बनेको जसपाले सरकारसँग गरिरहेको छ । सत्तारुढ दल एमालेसँग र अन्य ठूला दलहरूसँग पनि जसपाले सो माग गरिरहेको छ । यी माग पूरा भएन भनेर के मधेसी जनतालाई बेवास्ता ग¥यो भन्न मिल्छ ?
हो, मधेसी जनता पीडित छन्, समस्याबाट प्रताडीत छन् । कठिन काम गरेर पनि राम्ररी खान पाएका छैनन् । एक छाक खान र एक जोर लाउन समस्यामा परेका छन् । मधेसी समुदायका जनता स्थानीय शोषक, सामन्त, जमिनदार, पुँजीपति, जालीफटाहाबाट पीडित छन्, शासित छन्, शोषणबाट मारमा परेका छन् । मधेसकेन्द्रित दल जसपाले साँच्चै शोषित पीडित मधेसी जनताको हितमा राजनीति नगरेसम्म, उनीहरूको हितमा आन्दोलन नगरेसम्म, उनीहरूलाई आन्दोलित नपारेसम्म जसपा शोषितपीडित जनताको पक्षमा रहने छैन । कामअनुसारको ज्याला नपाउनु, शोषणको मारमा पर्नु, अन्धविश्वास, कुरीतिबाट प्रताडीत हुनु, बोक्सी, कमैया, दाइजो प्रथा आदि मधेसी समुदायको समस्या हो । जग्गा जमिनदारहरूको हातमा छ, उद्योग, कलकारखाना सामन्त, पुँजीपति वर्गको हातमा छ । मधेसी जनतामाथि उठ्न नसक्नुको कारण पनि शोषण हो, अन्धविश्वास र कुरीति हो ।
मधेसी समुदायका किसानहरू नउठेसम्म, सङ्घर्षमा नलागेसम्म मधेसी जनताको समस्या समाधान हुनेछैन । मधेसी समुदायका उत्पीडित जनताको जीवन सुनिश्चित गर्न जीवनको आधार तयार गर्नुपर्छ । मधेसकेन्द्रित जसपाले साँच्चै श्रमजीवी मधेसी जनताको हितमा आवाज उठाएको छैन, सङ्घर्ष गरेको छैन । मधेसी समुदायको पक्षमा सरकारले मात्र होइन मधेसी दलले पनि काम गरेका छैनन् । वास्तवमा मधेसकेन्द्रित दल मधेसी जनताको विरोधमा छ, जसपा मधेसी जनताविरोधी दल हो । मधेसवादी दल श्रमजीवी वर्गको पक्ष्मा छैन । मधेसवादी दलको कमीकमजोरी औँल्याउनुको अर्थ मधेसी समुदाय र मधेसी जनताको विरोध होइन । मधेसी जनताको माग, पीडाको सम्बोधन सरकारले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *