भर्खरै :

भक्तपुर नगर प्रमुख सुनिल प्रजापति कलैया उपमनपामा

कलैया, १० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मङ्गलबार बारास्थित कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवसँग भेट गर्नुभयो । भेटमा उहाँहरूबीच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषिलगायतका क्षेत्रमा गरिरहेको गतिविधि तथा कार्य प्रगतिबारे अनुभव आदानप्रदान गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नो स्वामित्वमा सञ्चालन गरेका कलेजहरूबारे अनुभव सुनाउँदै ती शैक्षिक संस्थाका कारण भक्तपुर शैक्षिक विकासमा परिवर्तन आएको बताउनुभयो ।
उहाँले नगरपालिकाले घरदैलो नर्सिङ सेवा, आवास आयोजना सञ्चालन, उपभोक्ता समितिमार्फत भइरहेको विकास निर्माणलगायतमा विषयबारे अवगत गराउनुभयो । विभिन्न स्थानीय तहका जनप्रतिनिधिबीच आफ्नो अनुभव आदानप्रदानको क्रममा कलैया पुगेको बताउँदै उहाँले कलैयामा कृषि र औद्योगिक क्षेत्र विकासका धेरै सम्भावनाहरू रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको प्रतिनिधिमण्डललाई कलैया उपमहानपामा स्वागत गर्दै प्रमुख यादवले जनताको सहभागिता र सहयोगबिना विकास निर्माण सम्भव नभएको बताउनुभयो । कुनै पनि ठाउँको विकासको काममा जनताको चेतनास्तर महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
प्रमुख यादवले कलैयाको अधिकांश शैक्षिक संस्थाको स्थिति दयनीय रहेको हुँदा यहाँको शैक्षिक विकासमा बाधा पुगिरहेको बताउँदै कलैया महानपाले वार्षिक रु. १५ करोडको हाराहारीमा आफ्नो आयस्रोत भित्र्याइरहेको बताउनुभयो ।
सोही क्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले कलैया उपमहानपाका प्रमुख यादवलाई भक्तपुर नपाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *