भर्खरै :

खुला सीमाको कारण नेपालमा महामारीको सन्त्रास

दक्षिण छिमेकी भारतमा एकैदिन करिब ५४ हजार जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा कोरोना भाइरसको ‘डबल म्युटेट भेरियन्ट’ भेटिएको बताइएको छ । करिब १ अर्ब ३५ करोड जनसङ्ख्या भएको भारतमा गत २४ घण्टामा कोरोना सङ्मणबाट २५१ जनाको मृत्यु भयो ।
भारत र नेपालको खुला सीमाको कारण नेपालमा फेरि महामारी फर्किने सम्भावना बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) निर्देशक डा. कृष्ण पौडेलले हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन् । त्यस्तै भारत भ्रमणबाट फर्किएका पोखराको एक इन्जिनियरिङ कलेजका विद्यार्थीमा कोरोना भाइरस देखिएपछि कलेजको परीक्षासमेत बन्द गरिएको छ । पोखरामा महामारीको सन्त्रास व्यापक भएको छ ।
खुला सीमा बन्द गरी आवतजावतमा कडाइ नगरे महामारी विकराल हुने सम्भावना छ । भारतबाट आउने जोकोही व्यक्तिको अनिवार्य स्वास्थ्य जाँच, आइसोलेसन तथा क्वारेन्टिनको बन्दोबस्त नगरिए स्थिति नियन्त्रण बाहिर नजाला भन्न सकिन्न । विगतमा हुलका हुल नेपाली भारतका विभन्न सहरबाट सीधै गाउँ पुग्दा गाउँगाउँसम्म महामारी फैलिएको थियो । आइसोलेसन तथा क्वारेन्टिन पनि अव्यवस्थित थिए । विगतका गल्तीबाट शिक्षा लिई तत्काल पहलकदमी गर्नु आवश्यक छ ।
नेपालमा पनि नयाँ भेरियन्ट सङ्क्रमण फैलिएको जनस्वास्वास्थ्य विज्ञहरूले आशङ्का गरेका छन् । तर, हालसम्म नेपालमा नयाँ भेरियन्टको कोरोना पुष्टी गर्न जिन सिक्विन्सिङ काम भएको छैन ।
नेपालमा २८९१ जनामा परीक्षण गर्दा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन मन्त्रालयले अनुरोध गरेको छ । त्यस्तै ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’को पूर्णरूपमा अनुसरण गर्न मन्त्रालयले अनुरोध गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले पनि सतर्क रहन अनुरोध गरेको छ ।
शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनु आवश्यक छ । सर्वसाधारण नागरिक पनि सामाजिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड लागु गर्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *