भर्खरै :

देश अनिर्णयको बन्दी बन्नुको सट्टा निर्वाचन अर्काे विकल्प

देशलाई लामो समयसम्म अन्योल र अनिर्णयको बन्दी बनाउनु हुँदैन । देश अन्योल र अनिर्णयको बन्दी बनेपछि सत्ता टिकाउने र ढाल्ने खेल हुन्छ । सिद्धान्त र विचारको ख्यालै नगरी जसरी भए पनि सरकारमा जान भागबन्डाको खेल हुन्छ । अहिले नेका, माओवादी केन्द्र र जसपाको गृहकार्य भइरहेको छ । नयाँ सरकार गठन गर्न कुनै दलको आधिकारिक निर्णय त प्रकाशमा आएको छैन । तर, ती दलका नेताहरूको अभिव्यक्ति सार्वजनिक भइरहेको छ । सरकार रहने या नरहने स्थितिमा सरकारले काम गर्न सक्दैन । अहिलेको राजनीतिक स्थिति त्यस्तै छ । सरकार ढलेको पनि छैन, सरकारले खासै काम पनि गर्न सकेको छैन । यस्तो बेला निर्वाचन नै उपयुक्त माध्यम हुन्छ ।
निर्वाचन आफैमा राजनीतिक र वैचारिक सङ्घर्ष हो । यो वर्गसङ्घर्षको सिलसिला पनि हो । निर्वाचनमा श्रमजीवी वर्ग या शोषित पीडित जनताको प्रतिनिधित्व गर्ने दलदेखि सामन्त, शाषक, जमिनदार, सङ्कीर्ण, साम्प्रदायिक, अवसरवादी दलका नेता, कार्यकर्ताले उम्मेदवारी दिएका हुन्छन् । जातीय राजनीति गरेर, साम्प्रदायिक भावना फैलाएर राजनीतिक सङ्कट, अस्थिरता बनाउने दलदेखि देशमा भइरहेको थिचोमिचो, अतिक्रमणको विरोध गर्ने, देशभक्त र परिवर्तनकारी दलले पनि भाग लिएका हुन्छन् । देशमा आमूल परिवर्तन गरेर समाजवादी व्यवस्था स्थापना गरी बहुमत जनताको सेवा गर्ने दलदेखि प्रजातन्त्र, स्वतन्त्रता र विकासको नाउँमा अल्पमत वर्गको सेवा गर्ने दलहरूले पनि निर्वाचनमा भाग लिन्छन् । यसकारण, निर्वाचन राजनीतिक र वैचारिक सङ्घर्ष गर्ने थलो हो ।
नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर ठानेको छ । निर्वाचन राजनीतिक दलले भाग लिने मञ्चमात्र होइन देशका शोषक, सामन्त, जमिनदार, जालीफटाहा र देशघाती, जनविरोधी चरित्रका नेता र कार्यकर्तालाई जनतासामु उदाङ्ग्याउने, राजनीतिक चेतना दिने थलो पनि हो । देशका प्रतिक्रियावादी, षड्यन्त्रकारी, जालीफटाहा, नक्कली कम्युनिस्टहरूलाई निर्वाचनमा सजिलै जित्न दिनु हुँदैन । निर्वाचनमा पैसाको खोला बगाउने, पद र जागिरको लोभ देखाउने, धाक, धम्की दिएर, भोज खुवाएर निर्वाचनमा जित्ने, जित्न चाहने दल र दलका नेताहरूलाई छ्यास्न पनि निर्वाचन चाहिन्छ । जातीय राजनीति गरेर साम्प्रदायिक भावना फैलाउने, नेपाल र नेपालीलाई भन्दा विदेशी र विदेशी शक्तिराष्ट्रको हित हेर्ने दलका उम्मेदवारहरूलाई हराउने, उदाङ्गो पार्ने काम निर्वाचनमै हुन्छ, निर्वाचनले गर्छ ।
अहिले देशमा राजनीतिक सङ्कट छ, राजनीतिक सङ्कट निम्त्याएर अस्थिर राजनीतिको गलत फाइदा उठाउने मनसायमा शासक दलहरू छन् । ती राजनीतिक दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नहुँदा, देश र जनताप्रति सचेत नहुँदा देशमा राजनीतिक अस्थिरता निम्तिएको हो, राजनीतिक सङ्कट देखिएको हो । राजनीतिक पार्टीबीच द्वन्द्व बढाउने, सरकारलाई कमजोर बनाउने र असफल राज्य बनाउनेतर्फ सत्तामा जान चाहेका दलहरूले अप्रत्यक्षरूपमा भूमिका निर्वाह गरिरहेका छन् । विदेशी शक्ति राष्ट्रको चङ्गुलमा सरकार फसिरहेको छ । विदेशी शक्ति राष्ट्रसामु झुक्ने, दबाबमा पर्ने सरकार देशघाती नै हुन्छ । यसले देशलाई परनिर्भरता बनाउँछ नै । पैसाको भरमा पद र पैसाकै निम्ति राजनीति गर्ने दल हराउन, उदाङ्गो पार्न निर्वाचन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *