भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
फागु पूर्णिमा पर्व वसन्त याममा, हर्षोल्लास र उत्साहका साथ मनाइने गरिन्छ । यो चाडले पूर्वीय सांस्कृतिक मान्यतानुसार सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक तथा प्रकृतिसँग तादात्म्यता राख्ने गर्दछ ।
नेपालमा फागुको श्रीगणेश गोपालराज वंशावलीअनुसार मल्लकाल, शाहकालमा उल्लास र नाचगान गरेर, एक–अर्काबीच अबेर घसेर मनाउने गरिन्थ्यो । यसरी, राजा–महाराजाको घरपरिवारले मात्र मनाउने प्रचलन रहेकोमा, तत्कालीन अवस्थामा अन्य सर्वसाधारणले पनि मनाउन पाउनुपर्ने मागसहितको भावुक तर्कसङ्गत व्यङ्ग्य भक्तपुरका ठिटा–ठिटीले गरेपछि होली पर्व हिमाल, पहाड र तराई सर्वत्र सधैँका लागि मित्रता र सद्भावको रूपमा मनाउने गरिएको किंवदन्ती पाइन्छ ।
यो पर्व वसन्तपञ्चमीदेखि वसन्त ऋतुको शुभारम्भ भई रूख–बिरूवामा नवपल्लव लाग्ने, खेती–किसानीको सुरूवात हुने, पशुपक्षीहरू पनि मधुर गान गाएर आल्हादित हुने, ऋतुराज वसन्तको याममा विभिन्न रङ्गीबिरङ्गी फुलेर हराभरा मौसममा मनाइन्छ ।
अब प्रसङ्ग जोडौँ ठाडोभाकाको । मूलतः पश्चिमाञ्चल क्षेत्र कुनै बेला साङ्गीतिक गायनको शिखरमा पुगेको यो ठाडोभाका गीतको उद्गमस्थल गण्डकी अञ्चलको लमजुङ जिल्ला हो । मादी नदी (माहेन्द्री गङ्गा) र मिदिम खोलाको दोभानमा अवस्थित इशानेश्वर महादेवस्थान परिसरमा गुरूङे भेषभूषामा र बैडाँडाबाट (२०३२ सालसम्म लमजुङ र हाल कास्की) करापुरटार बजारमा जात्रा भर्न आउने गर्नुहुन्थ्यो ठाडोभाका गीतका दिग्गज पञ्चसुब्बा गुरूङ । त्यस्तै, लमजुङ, नेटा गाविस, बर्धनका अर्को ठाडोभाकाका अग्रज देउबहादुर दुरा झर्नुहुन्थ्यो बजार हेर्न र हजारौँ श्रद्धालुहरूलाई ठाडोभाका गतिको तलतल मेटाउन । इशानेश्वर मन्दिर परापूर्वकालमा स्वयं महादेव उत्पन्न भई स्थापना भएको थियो र शिवरात्री र फागुपूर्णिमाको अवसरमा भव्य कुम्भ मेला लाग्थ्यो ।
सुरू–सुरूमा केही समय ती दुई ठाडोभाका महारथीहरू केटा र केटी भएर आउने गर्नुहुन्थ्यो तर, विपरीत लिङ्गीजस्तो गीत–बातमा रौनक नहुने भएकोले पछि केटाकेटीबीच गीत आउने चलन चल्यो । विसं १९७० देखि २०३५ सालसम्म यो भाकाले गण्डकी भेगमा टहल्का मच्चायो । यो भाकालाई मात्र लोकदोहोरी गीत र ठाडोभाका गाउनेलाई मात्र लोकदोहोरीको गायक, कलाकार भनिन र गनिन थाल्यो । त्यतिबेला यो भाका अपठित वा एकल महिला, कष्टकर जीवनयापन गर्ने र नरनारीको मनभित्रको अटेस–मटेस वेदानात्मक बह मत्थर गर्ने माध्यम थियो । यो विशिष्ट विनयशील भाकाले कसैलाई बिझाउँदैनथ्यो, अरूलाई होच्याउने, अपमानित गर्ने नभई शिष्ट शैलीमा सवाल–जवाफ गरिन्थ्यो ।
पुरूष–महिलाबीच मादलको तालमा ठाडोभाका गम्केपछि माहुरीको ‘रानु’ जस्तै यात्रुहरूको भीड लाग्थ्यो । गाउने र सुन्नेको रस–रङले सात रात, सात दिनसम्म खाल गज्जबले जम्थ्यो रे ¤ खास गरेर दुरा र गुरूङ जातिले गाउने यो ठाडोभाका दुई चरण फेद र टुप्पा (उठान र बैठान) मा गाइन्छ । तर, फेद–टुप्पा एक अर्काका पर्याय हुन् र पहिलो र दोस्रो चरणको अन्त्यको शब्दमा ‘अन्त्यानुप्रास’ मिलाउनैपर्छ । यो भाकाको आफ्नै व्याकरण, भाँचकुँच गर्ने शैली छ । यो गीत गाउन विशिष्ट सीप, क्षमता र गायनकलामा पोख्त हुनुपर्छ । बसाइ–सराइँ, वैदेशिक रोजगारको साथै यो भाकाको साधनामा जटिलता भएकोले, अहिलेका नवजवानहरूमा ठाडोभाकाको आकर्षण ह्वात्तै घटेर यो सुललित भाका विलिन अवस्थामा पुगेको आभास हुन्छ ।
अन्त्यमा, कोरोना भाइरसले वार्षिकी मनाएर न्यूनीकरणको सट्टा पुनः तङ्ग्रिएको अवस्था छ । सरकारले राजधानीलगायत तीनै सहरमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच होली खेलेर मनाउन गरेको अपिललाई अनुसरण गर्नुको विकल्प छैन । सार्वजनिकस्थलमा फागु नखेल्नु, संयमता र सतर्कता अपनाउनु नै बुद्धिमत्ता देखिन्छ ।
Leave a Reply