भर्खरै :

राष्ट्र सङ्घका महासचिव भन्छन्–ऋण सङ्कटको सम्भावना छ

संयुक्त राष्ट्र सङ्घ, ३० मार्च । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले मुख्यतः कोभिड–१९ को कारण भइरहेको ऋण सङ्कट समाधानको लागि तत्काल र बृहत् कदम चाल्न आह्वान गरेका छन् ।
“हामी ऋण सङ्कटको जोखिममा छौँ । आज हाम्रा साझेदारहरू क्यानाडा र जमैकाका प्रधानमन्त्रीहरूबीच भएको बैठकले यथाशीघ्र कदम चाल्न आह्वान गरेको छ”, ऋण र तरलताबारे आयोजित उच्चस्तरीय बैठकमा उनले भने ।
“६ वटा देशहरू ऋण सङ्कटमा परिसकेका छन् । उदीयमान बजार अर्थतन्त्रमध्ये एकतिहाइ वित्तीय सङ्कटको उच्च जोखिममा छन् । न्यून विकसित र कम आयका देशहरूको अवस्था त अझ खराब छ । उनीहरू आज अत्यन्त कष्टकर धिमा पुनःस्थापनामा अघि बढिरहेका छन् । जसले सन् २०३० को दिगो विकासको एजेन्डा र पेरिस सम्झौतालाई पछाडि धकेलिरहेको छ”, गुटरेजले सजग बनाए ।
उनले महामारीको प्रतिरोध गर्न र पुनःस्थापनाको निम्ति लगानी बढाउन विकासशील देशमा थप तरलताको खाँचो भएको बताए । त्यही भएर अन्तर्राष्ट्रिय समुदायले सबै विकासशील देशहरूलाई आवश्यक सहायता तत्काल दिनुपर्ने उनको भनाइ थियो ।
“महामारीको सुरुवातदेखि नै संयुक्त राष्ट्र सङ्घले ऋणको सन्दर्भमा तीन चरणको प्रस्ताव अघि सारेको थियोः ऋण तिर्ने अवधि बढाउने, ऋण उन्मुक्ति र अन्तर्राष्ट्रिय ऋण व्यवस्थामा सुधार”, गुटरेजले भने ।
उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा नयाँ वित्तीय कार्यक्रमहरू जस्तै २० देशको समूह जी २० ले ऋण सेवा कार्यक्रम र ऋण व्यवहारको लागि साझा ढाँचा आदिको स्वागत गरे पनि ती कार्यक्रम मनग्य नभएको बताए ।
“त्यही भएर म अझ बिस्तारित र थप महत्वाकाङ्क्षी कार्यक्रमको लागि आह्वान गर्छु”, उनले भने ।
“ऋण सेवा कार्यक्रम सन् २०२२ सम्म विस्तार हुनेमा र ऋणमा डुबेका कमजोर मध्यम आय भएका देशहरूलाई माग अनुसार उपलब्ध गराइने म बलियो विश्वास गर्छु”, उनले भने ।
“ऋण व्यवहार साझा ढाँचामा जटिलता छन् । विभिन्न देशहरू यसको प्रयोग गर्न मानिरहेका छैनन् किनभने यसले आफ्नो ऋण प्रभावमा नकारात्मक असर पर्ला भनी उनीहरू डराएका छन् । हामीले यो समस्या समाधान गर्न जरुरी छ”, उनले भने ।
“साथै कमजोर देशहरू जस्तै मध्यम आय भएका देशहरूलाई लक्षित ऋण उन्मुक्ति दिन जरुरी छ । ऋणान्तरण, ऋणवापत सामान खरिद र ऋण खारेजीजस्ता विभिन्न विकल्पको प्रयोग गरिन जरुरी छ”, उनले थपे ।
उनले अन्तर्राष्ट्रिय ऋण व्यवस्थामा लामो समयदेखि कमी कमजोरी भएको र तिनको समाधान गर्ने उपयुक्त समय यही भएको बताए । उनले अन्तर्राष्ट्रिय ऋण व्यवस्थामा सर्वसहमत सिद्धान्त नहुनुदेखि ज्यादै कम मात्र राहत प्रदान गर्ने पुनःसंरचनासम्मको समस्या भएको बताए ।
“अन्ततः हामी सबैले जिम्मेवार ऋण लिने र दिने सोच बनाउनुपर्छ । त्यस्तो सोच ऋण लिने–दिने देश, लगानीकर्ता, बजारका सहभागीहरू, ऋण मापन संस्था तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई स्वीकार्य हुन जरुरी छ । हामी सबै निश्चित समय सीमाभित्र बाँधिएका, आपसी विश्वासको लागि खुला संवाद गर्न सक्ने र प्रणालीगतरूपमा पारदर्शी र समावेशी हुन जरुरी छ । सबै मिले हामीले समस्या समाधान गर्न सक्छौँ । सबै देशको पुनःस्थापना, दिगो विकास र सहिष्णु भविष्यको लागि त्यो आवश्यक छ”, गुटरेजले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *