जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
छिमेकी देश चीनले नेपाललाई आठ लाख कोभिड–१९ प्रतिरोधी खोप दिएको समाचार सुनेर खुसी लाग्यो । चीन नेपाली जनताको सधैँको सुख–दुःखको साथी हो । नेपाली जनता कुनै विपद्मा पर्दा चीन सरकारले सधैँ सहयोगी हात बढाउँदै आएको छ । २०७२ सालको भूकम्पको बेलामा चीन सरकारले गरेको सहायता नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।
चीन आफै पनि कोभिड–१९ बाट प्रभावित देश हो । चीनले निकै कठिनाइका साथ कोभिड–१९ नियन्त्रणमा राखेको छ । चुनौती अझै सकिएको छैन । चीनले आफैले कोभिड–१९ प्रतिरोधी खोपको विकास गरेको छ । ती खोप उसले आफ्नो देशका नागरिकलाई मात्र लगाएको छैन । चीनले ८० देशमा खोप अनुदान र ४३ देशमा खोप निर्यात गरिसकेको छ । चीनको खोपका नकारात्मक प्रभावबारे अहिलेसम्म चीन वा अन्य कुनै पनि देशमा सुनिएको छैन । चीनले छिमेकी र मित्र देशको नाताले नेपाललाई पनि आठ लाख खोप अनुदान सहयोग गरेको छ । यसको निम्ति नेपाली जनता चीनप्रति फेरि एकपल्ट आभारी छौँ ।
तर, नेपाल सरकारले चीनले दिएको खोप के कसरी प्रयोग गर्ने हो ?, हाम्रो जिज्ञासा छ । भूकम्पको समयमा चीनले सहायताका गरेका धेरै राहत सामग्री सरकारी गोदाममै कुहाएको समाचार नेपाली पत्रपत्रिकामा आएका थिए । जनता भोको पेट र खुला आकाशमुनि सुतेको देख्दादेख्दै छिमेकीले दिएको सहायता सरकारले गोदाममा थन्काएर कुहाएको विडम्बना यही देशमा हामीले भोगेका हौँ । अहिले पनि चीनले दिएको खोप अनेक बहानाबाजीमा गोदाममै थन्किने त होइन ?
चिनियाँ खोपको प्रभावकारिता कुनै कुनै विदेशी कम्पनीको निम्ति व्यापारिक र राजनीतिक हिसाबले टाउको दुखाइको विषय बन्न सक्छ । खोप नेपालमा आउनुअघि नै चिनियाँ खोपको बदनाम गर्ने प्रयास त भइसकेको थियो । चीनले अहिले एउटा कम्पनीको खोप दिने अनि पछि अर्को कम्पनीको खोप दिनेजस्ता झूटा समाचार यसअघि नेपालमा प्रचार गरिएको थियो । त्यसको चीन सरकारले मात्र होइन, नेपालकै प्रधानमन्त्रीले खण्डन गरिसकेका छन् । त्यस्ता झूटा प्रचारको मूल ध्येय भनेको नेपालमा चीनको प्रभाव बढ्ला भन्ने मनोगत भय हो ।
जे होस्, चीनले कोभिड–१९ प्रतिरोधी खोप सार्वजनिक वस्तु बनाइनुपर्छ भन्ने भावनाअनुसार नेपाललाई पनि सहायता गरेको छ । यसको निम्ति चीन सरकारलाई आभार । छिमेकीले असल मतिले दिएको खोप नेपालमा अधिकतम उपयोग गर्न नेपाल सरकारले तत्काल हाल स्थगन गरिएको खोप अभियान सुरु गरोस् ।
Leave a Reply