कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
हिजोआज देशमा महँगी, घुसखोरी, भ्रष्टाचार र बेरोजगारी बढ्दो छ । त्यसका लागि धेरैले राजनीतिक पार्टीका नेताहरूलाई दोषी देख्ने गर्छन् । राम्रा काम गर्ने प्रतिबद्धता र कटिबद्धता जाहेर गरेर अनियमितता, भ्रष्टाचार र पक्षपात गर्ने शासक पार्टीका नेताहरू निश्चय पनि दोषी हुन् । तर, सबै राजनीतिक पार्टी र नेताहरूलाई एउटै दृष्टिले हेर्नु गलत हो । सुन र फलामलाई एउटै रङ्गको देख्नु दृष्टिदोष हो ।
एक सच्चा नेताले समाज र पूरै देशलाई आफ्नो विचारधारा र व्यवहारमा प्रवृत्त गराउने कोसिस गर्छ तर सबै नेताहरूले त्यस्तो कष्टसाध्य सङ्घर्ष गर्ने आँट राख्दैनन् । हाम्रै देशमा पनि अधिकांश राजनीतिक पार्टीको कुनै ठोस सिद्धान्त नै छैन । त्यसैले ती पार्टीका नेता र कार्यकर्ताहरू ठूलो सानो स्वार्थपूर्तिका निम्ति लागिपरेका हुन्छन् । माथिल्लो तहका नेताहरू प्रधानमन्त्री, मन्त्री र सांसद बनेर पछिका राजनीतिक गतिविधिका लागि पैसा जम्मा गर्नतिर लाग्छन् भने तल्लो तहका नेताहरू प्रदेश, जिल्ला र स्थानीय तहका पदहरूमा पुगेर आफू र आफन्तका फाइदाका लागि काम गर्छन् । देश यसरी अनियमितता, भ्रष्टाचार, नातावाद र कृपावादतिर उन्मुख हुनुमा नेताहरूमात्र दोषी छैनन् । समाज पनि दोषी छ । निःस्वार्थ राजनीति गरेका र राजनीतिमा लागेर पैसा कमाउन नसकेका, आफ्ना छोराछोरी र आफन्तहलाई अनैतिक र अवैध तवरले भए पनि ठूलो नोकरी र लाभको पदमा पु¥याउन नसकेका नेता–कार्यकर्ताहरूलाई यही समाजले कुनै इज्जत र मान्यता दिँदैन ।
नेता बनेपछि आफन्त, छिमेकी, गाउँले र पार्टी समर्थकका भाइबहिनी, छोराछोरीहरूको अवसरकालागि भनसुन गरिदिनुपर्ने र दबाब दिनुपर्ने मान्यता समाजमा गहिरो गरी गडेको छ । समाजको नजरमा राजनीतिक पार्टीका नेता कार्यकर्ताहरू जागिर मिलाइदिने, उच्च अध्ययनका लागि छात्रवृत्तिको कोटा पारिदिने र प्रतिस्पर्धाको आधारमा पाइने सिट भनसुनका आधारमा मिलाइदिने दलालको रूपमा रहेको छ । समाजमा त यस्तोसम्म पनि छ कि कसैले ज्यान मारे पनि र बलात्कारजस्तो जघन्य अपराध गरे पनि नेताले छुटाइदिनुपर्ने, व्यक्तिगत झगडामा कसैले कसैलाई कुटपिट ग¥यो नेताले त्यसको बदला दिइदिनुपर्ने, योग्यताको आधारमा नपाएको नोकरी घुस खुवाएर पनि मिलाइदिनुपर्ने, वन म्हास्ने, भन्सार छल्ने तस्करहरू र चोरहरूलाई पनि प्रहरीलाई दबाब दिएर छुटाइदिनुपर्ने । यस्तो गर्न नसक्ने र गर्दै गर्दिन भन्ने नेता र राजनीतिक पार्टीले न अरुबेला चन्दा पाउँछ न चुनावमा भोट नै पाउँछ । समाजमा सबै नै अनैतिक भन्न खोजेको होइन तर आफ्नो फाइदाका लागि अनैतिक तरिका पनि अपनाउनतिर समाजका बहुमत मानिस लागेका छन् । यसरी नैतिकताविरुद्ध लागेको समाजबाट नैतिकवान नेताहरूको जन्म र चयन के सम्भव छ र ?
Leave a Reply