सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाको बुधबार भएको बैठकको शून्य समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा कोभिड–१९ को दोस्रो लहर देखिएको र भारतमा दैनिक ८० हजार सङ्क्रमित पुगेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै छिमेकी देश भारतसँगको खुला सिमानामा परीक्षण प्रभावकारी बनाई खुला सीमा बन्द गर्नु जरूरी रहेको उल्लेख गर्नुभयो ।
“भारतसँगको खुला सिमानामा परीक्षण र क्वारेन्टाइनको व्यवस्था राम्रो नहुँदा अघिल्लो वर्ष चैतमा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेको हो । यसबाट पाठ सिक्नु जरुरी छ । सरकारमा गएका पार्टीका कार्यकर्ताहरूलाई भारतसँगको खुला सिमानामा क्वारेन्टाइनको व्यवस्थापनमा स्वयम्सेवक बनाएर खटाउनु उपयुक्त हुनेछ ।” उहाँले बताउनुभयो ।
उहाँले चीनबाट प्राप्त कोभिड–१९ रोकथाम खोप काठमाडौँ उपत्यकालगायत जिल्ला–जिल्लामा अविलम्ब वितरण गर्नु आवश्यक रहेको औँल्याउँदै चीनबाट थप खोप ल्याएर नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउन जरूरी रहेको बताउनुभयो । चैत ३ गतेको प्रतिनिधिसभाको बैठकमा चीनले सहयोग गर्ने खोप पेइचिङ विमानस्थलबाट नल्याइएको विषयमा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएको र सो प्रश्नअनुसार सरकारले पेइचिङ विमानस्थलबाट खोप ल्याएको सकारात्मक भएको उल्लेख गर्दै उहाँले चीनबाट थप खोप ल्याएर जनतालाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले सरकारी अस्पतालहरूमा बिरामीको उपचार राम्रो नभएको जनगुनासो अझै सम्बोधन नभएको र वीर अस्पतालमा अर्बौंँ रूपैयाँको मेसिन खरिद गरिएको तर प्रयोग नै नगरी बिग्रिएकोबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले शिक्षण अस्पताल, महाराजगञ्ज अस्पताल, शहीद गङ्गालाल हृदयरोग केन्द्र, पाटन अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताललगायत जिल्ला–जिल्लाका सरकारी अस्पतालमा भौतिक संरचना, चिकित्सकको व्यवस्थापन र उपकरणसमेत बन्दोबस्त गरी बिरामीको उपचार राम्रोसँग गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयअन्तर्गत अर्बौं रूपैयाँको स्वास्थ्य सामग्री खरिद गरिएको तर ती पोका खोल्ने कामसमेत नभएकोबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले डा. सुगमजङ्ग केसीलगायतको टोलीले बेवारिसे शव पहिचान गर्ने व्यवस्थाको लागि माइतीघरमा महिनौँ शान्तिपूर्ण धर्ना बसेको बारे सरकारको ध्यानाकर्षण गराउँदै धर्ना टोलीको उचित माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भक्तपुरको परम्परागत सीप प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनताको ७१ रोपनी जग्गा अधिग्रहण गरी २०३६ सालमा भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएको तर यो उद्योग क्षेत्रमा सञ्चालित टेक्सटायल, रङ्गरोगन, प्लास्टिकलगायत ध्वनि र रसायन प्रदूषण फालेका उद्योगहरूबाट जनस्वास्थ्यमा हानि भएको हुँदा यसको विरोधमा जनता आन्दोलनमा रहेको चर्चा गर्दै आ.व. ०७२÷७३ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार उक्त औद्योगिक क्षेत्र उपत्यकाबाहिर स्थानान्तरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले भारतबाट उडेको धुलोको कण र नेपालमै झन्डै ५०० ठाउँमा लागेको डढेलोको कारण काठमाडौँ उपत्यकालगायत देशभरि वातावरण प्रदूषण भएको, यसले नेपालीमा दम, खोकीलगायत स्वासप्रश्वासको रोगी बढेको उल्लेख गर्दै देशको सन्तुलित विकास गरी काठमाडौँ उपत्यकालाई फोक्सोको बिरामीको थलो हुनबाट जोगाउनु पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
Leave a Reply