भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ७ असार । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट निर्माणपूर्व नगरका किसान प्रतिनिधिहरूसँग बुधबार नगरपालिका कार्यालयमा छलफल आयोजना गर्यो ।
छलफलमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो समयसम्म स्थानीय तहमा जनप्रतिनिधिविहीन हुँदा जनताका समस्याहरू थुप्रिएको चर्चा गर्दै अबका दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी नगरको विकास गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, खेलकुद विकासलगायतमा देशकै नमुना नगर बनाउने लक्ष्यसाथ जनप्रतिनिधिहरू लागिपरेको प्रस्ट पार्नुभयो ।
भक्तपुरको विकास र प्रगतिमा सम्पूर्ण नगरवासीहरूको अपनत्व कायम हुने आशासहित विभिन्न तह र समुदायका जनतासँग बजेट निर्माण र योजना छनौटबारे राय सल्लाह लिने कार्यक्रम रहेको जानकारी दिंदै प्रमुख प्रजापतिले गत जेठ ७ गते नगरपालिकामा पदबहाली गरेदेखि हालसम्मको एक महिनामा नगरपालिकाले जनताको हितमा गरेका कार्यबारे चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, भक्तपुरका जनताको प्रमुख समस्या खानेपानी हो, त्यसैले खानेपानी समस्या समाधानको लागि नगरपालिकाले प्राथमिकताका साथ पहल गरिरहेको छ । उहाँले ढल निकास व्यवस्थापन, नक्सा पास प्रक्रिया र भवन निर्माण आचारसंहिताबारे पनि सहभागीहरूलाई जानकारी दिनुभयो ।
कार्यक्रममा दशवटै वडाहरूबाट प्रतिनिधित्व गर्ने अगुवा किसानहरूले किसानहरूको सुविधाको लागि रासायनिक मल तथा उन्नत बीउ विजनको वितरण एवं किसानहरूलाई आधुनिक कृषि प्रणालीबारे तालिम दिनुपर्नेमा जोड दिनुभयो ।
किसानहरूले आप्mनो उत्पादनको उचित मूल्य नपाएको गुनासो गर्दै उहाँहरूले व्यवस्थित तरकारी बजार सञ्चालन, अन्न तथा बीउ भण्डारण केन्द्रको स्थापना, सिंचाइको बन्दोबस्त, कृषि क्षेत्रको घोषणासँगै खेतको माटो परीक्षण गर्नुपर्ने बताउनुभयो । यससँगै नगरका सांस्कृतिक सम्पदाहरूको संरक्षण, जीर्णाेद्धार एवं पुनः निर्माणमा जोड दिनुपर्ने उहाँहरूले विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला र वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वको पनि उपस्थिति थियो ।
विभिन्न समिति गठन
भक्तपुर नगरपालिकाले आप्mनो नियमित गतिविधिहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्न बोर्ड सदस्यहरूको नेतृत्वमा विभिन्न समितिहरू गठन गर्यो । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार कार्यालयको कार्यकक्षमा बसेको बोर्ड बैठकले जनताका कामहरू सरल र सहज ढङ्गबाट गर्न तथा जनगुनासोहरूको समयमै सम्बोधन गरी कार्यान्वयन गर्न गठन गरिएका समितिहरूले कार्य थाल्ने बताउनुभयो ।
बैठकले प्रमुख प्रजापतिको संयोजकत्वमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, उपप्रमुख रजनी जोशीको संयोजकत्वमा न्यायिक समिति, वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा निर्माण समिति र कार्यपालिका सदस्य रोशनमैया सुवालको संयोजकत्वमा महिला, बालबालिका तथा समाज कल्याण समिति गठन गर्यो । त्यस्तै वडाध्यक्षहरू रवीन्द्र ज्याख्वको संयोजकत्वमा वातावरण तथा पर्यटन समिति, हरिप्रसाद बासुकलाको संयोजकत्वमा आर्थिक समिति र श्यामकृष्ण खत्रीको संयोजकत्वमा युवा तथा खेलकुद समिति गठन गरिएको थियो ।
फोहरमैला व्यवस्थापनसम्बन्धी प्रतिवेदन
भक्तपुर नगरको फोहरमैला व्यवस्थापनसम्बन्धी अल्पकालीन तथा मध्यकालीन उपायहरूसहितको प्रतिवेदन नगरपालिकाका उपप्रमुख तथा अध्ययन समितिका संयोजक रजनी जोशीले बुधबार प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । प्रतिवेदन हस्तान्तरण गर्दै उपप्रमुख जोशीले समितिले विभिन्न पक्ष तथा विज्ञहरूसंग छलफल तथा स्थलगत अध्ययन गरेर नगरको सरसफाइका उपायहरू सुझावको रुपमा पेश गरेको जानकारी दिनुभयो । प्रतिवेदन बुझिलिंदै प्रमुख प्रजापतिले भक्तपुर
नगरपालिकाले फोहर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको र सोहीअनुसार सरसफाइका लागि अधिकतम् बजेट र मानवीय संशाधनको प्रयोग गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले चालू आर्थिक वर्षमा एक किलो फोहर व्यवस्थापनका लागि ८ रुपैयाँ ३० पैसाको दरले खर्च गरिरहेको र अबको आर्थिक वर्षका लागि ६ करोड ६६ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
समितिले बुझाएको प्रतिवेदनमा घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याएर कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने विधिबारे नगरवासीहरूलाई तालिम दिने, नगरपालिकाका सफाइ मजदुरहरूलाई प्रशिक्षण दिएर सरसफाइलाई प्रभावकारी बनाउने, सफाइ मजदुरहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने, नगरका विभिन्न क्षेत्रमा राखिएका खुला फोहर सङ्कलन केन्द्रहरू हटाउने, फोहर सङ्कलन गर्ने गाडी, गाडा र टाइसाइकलको सङ्ख्या बढाउने, बजारका मुख्य चोक तथा सम्पदा क्षेत्रहरूमा हाते बु्रमरको प्रयोग गरी सफा गर्नेलगायतका सुझावहरू समावेश गरिएको समितिका संयोजक जोशीले बताउनुभयो ।
Leave a Reply