भर्खरै :

६० वर्ष लामो संरा अमेरिकी ‘लकडाउन’ ले गाल्न नसकेको एउटा देश !

कोभिड–१९ महामारी संसारभरि फैलिएपछि धेरै देशमा ‘लकडाउन’ गरियो । महामारी र लकडाउनका कारण विश्वका कैयौँ देशमा आर्थिक तथा मानवीय सङ्कट सुरु भयो । मानिसहरूको अनाहकमा ज्यान गएको, चारैतिर हाहाकार मच्चिएको, बेरोजगारी दर ह्वात्तै बढेको, अपराधको सङ्ख्या वृद्धि भएको, समाजमा आतङ्क व्याप्त भएको आदि चर्चा चल्यो । यिनै विषयमा सर्वत्र चिन्ता छायो । यिनै विषय दैनिक खबरका शीर्षक बने । लगभग एक वर्षमा कैयौँ देश र त्यहाँका शासक असफल भए या स्थिति नियन्त्रणभित्र राख्न सकेनन् । आधुनिकता र विकासको केन्द्र ठानिएको युरोपलाई छोटो अवधिमा नराम्ररी हल्लाइदियो । शासकहरूको रुवाबासी चलेको खबरहरू आए । सहयोगका निम्ति याचना गरे । सबैसँग गुहार मागे । संरा अमेरिकी राष्ट्रपति ट्रम्पमा बहुलठ्ठीपन बढेको विश्वका जनताले प्रस्ट देखे । फ्रान्स, बेलायत, जर्मनी, ब्राजिल, स्पेन, इटाली, भारत आदि मानव अधिकारको बखान गर्ने पुँजीवादी देशहरूले मानिसको जीवन रक्षा गर्न नसकेको, स्थिति सम्हाल्न विफल भएको जगजाहेर छ । सैन्यशक्तिको अहम् पाल्ने शासकहरूले विपत्तिमा विवेक देखाउन सकेनन् न त व्यवस्थापकीय क्षमता नै देखाउन सके !
अब तुलना गरौँ क्युवासँग । क्युवाको समाजवादी व्यवस्था ढाल्ने र क्युवाको नेतृत्वलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ संरा अमेरिकाले क्युवाविरुद्ध आर्थिक नाकाबन्दी लगाएको ६० वर्ष पुग्यो । सरल भाषामा त्यो नाकाबन्दीलाई लकडाउनसँग तुलना गर्न सकिन्छ । क्युवाली क्रान्ति समाप्त पार्न र क्रान्तिका उपलब्धि सखाप पार्न संरा अमेरिकाले नाकाबन्दी मात्र होइन विगत ६० वर्षदेखि प्रचार युद्ध (media war) चलाउँदै छ । विभिन्न किसिमका हमला भइरहेका छन् ! सीआईए लगायतका विभिन्न निकाय या संयन्त्र सञ्चालन गरी क्युवाली जनतालाई आत्मसमर्पण गर्न बाध्य पार्ने हेतुले संरा अमेरिकी हमला चालु छ । ६० वर्षदेखि संरा अमेरिकाले क्युवाली जनताविरुद्ध ‘लकडाउन’ अर्थात् नाकाबन्दी थोपर्दै छ । संसारका न्यायप्रेमी जनताले नाकाबन्दीको विरोध गरे । संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न बैठकमा लगातार विरोध हुँदै छ । तर, संसारभरका शान्तिकामी जनताको भावनाविपरीत क्युवाली जनतामाथि अत्याचार, अमानवीय दमन चालु छ । आज विश्वका सचेत जनता तथा संवेदनशील समुदाय अचम्भित हुँदै तुलना गर्दै छन् एक वर्षको लकडाउन या सङ्कट झेल्न असमर्थ पुँजीवादी देशहरू र ६० वर्षे ‘लकडाउन’ सामना गर्दै अगाडि बढ्ने क्युवाबीच ¤ यसरी तुलना गर्दा निश्चय पनि क्युवा र क्युवाली जनताप्रति उच्च सम्मानको वर्षा हुनु अस्वाभाविक होइन । क्युवाली जनताको वीरता, क्रान्तिप्रतिको प्रतिबद्धता र समाजवादप्रतिको अगाढ आस्थाप्रति सलाम गर्न जोकोही बाध्य हुनेछन् । समाजवाद रक्षा गर्न क्युवाली जनताले देखाएको अद्भूत प्रतिरक्षा क्षमताको उच्च प्रशंसा आज झन् हुँदै छ । ६० वर्ष लामो ‘लकडाउन’ लाई समेत निस्तेज पार्दै क्युवाले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा गरेको आश्चर्यजनक प्रगतिको महत्ता आजको सन्दर्भमा झन् बढेको छ । एक वर्षे लकडाउनबाट थला परेका देशहरूले आज झन् त्यो महसुस गर्दै छन् ।

क्युवाली जनताले अमानवीय ‘लकडाउन’ को अन्त्यको माग गर्दै हालैका दिनमा प्रदर्शनी तीव्र पारे । त्यसको समर्थनमा संसारका विभिन्न देशमा ऐक्यबद्धता प्रदर्शनी तथा गतिविधि चालु छन् । मार्च २८ अर्थात् गत आइतबार क्युवाको राजधानी हवानामा विशाल मार्च भयो । सबै सहभागीहरू साइकल, मोटरसाइकल, कार आदिमा सवार थिए । कोभिड सङ्क्रमणप्रति सजगता अपनाउँदै भीडभाड नहोस् भन्ने हेतुले त्यसो गरेको बताइयो । प्रदर्शनलाई नाकाबन्दीविरुद्धको मानव लस्कर (Human Caravan) भनियो । प्रदर्शनीमा सहभागी सबैको एउटै आवाज र माग थियो– Unblock Cuba ! अर्थात् क्युवाविरुद्धको नाकाबन्दी अन्त्य गर ! त्यस विशाल ¥यालीले भन्यो – No More Blocking ! अर्थात् अति भयो नाकाबन्दी !
हवाना र विश्वका अन्य सहरहरूमा क्युवाविरुद्ध संरा अमेरिकी नाकाबन्दी मानव सभ्यताकै कलङ्क, क्रूरता र अक्षम्य अपराध भएको आवाज गुञ्जिदै छ । हरेक महादेशमा नाकाबन्दीविरोधी प्रदर्शनी चालु छ । युवा पिढी Caravan for Cuba अर्थात् क्युवाको पक्षमा प्रदर्शनी या लस्कर र Caravan for life अर्थात् जीवन रक्षाका निम्ति लस्कर भन्दै प्रदर्शनीमा सहभागी भए । विश्वका जनताले सङ्कल्प गरे– ‘‘ Caravan “Building Bridges of Love for the Cuban Famil अर्थात् क्युवाली परिवारका निम्ति माया र सद्भावको सेतु निर्माण गर्ने जनताको ताँतीलाई अझ लामो बनाऔँ !

हो, आज क्युवाली जनताको मात्र होइन विश्वका न्यायप्रेमी तथा शान्तिकामी जनताको धैर्यको बाँध फुटिसकेको छ । अत्याचार अचाक्ली भइसकेको छ । अब हातमा हात र काँधमा काँध मिलाउँदै क्युवाली जनताको पक्षमा, अमानवीय हमलाको विपक्षमा र बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षार्थ ऐक्यबद्धता आन्दोलन तीव्र बनाउने समय आइसकेको छ । आफ्नो देशमा एक वर्ष लकडाउन हुँदा असह्य अनुभव गर्नेले अब क्युवा र क्युवाली जनताको विषयमा बोल्नुपर्छ । ६० वर्षदेखि क्युवाविरोधी क्रुर लकडाउनको हिसाब माग्नुपर्छ । क्युवाली जनताले व्यहोरेको क्षति, चरम् सास्ती तथा पीडाको सम्बन्धमा संवेदनशीलहरूले लेख्नुपर्छ । क्रान्तिकारी क्युवाली जनताको साहस, धैर्य र स्वाभिमानको गाथा गाउनुपर्छ । त्यो हरेक कम्युनिस्टको कर्तव्य हो । त्यो हरेक साम्राज्यवादविरोधी तथा शान्तिकामी जनको जिम्मेवारी हो ।
कोभिडका कारण लकडाउन भोग्न नपर्दासम्म क्युवाली जनताको व्यथा, कथा, समस्या अनुभूत गर्न नसक्नु बेग्लै कुरा हो । तर, अहिले कमसेकम राजनीतिक ‘लकडाउन’ कति घातक हुन्छ भन्ने बुझ्नुपर्ने हो । संरा अमेरिकी ‘लकडाउन’ अर्थात् नाकाबन्दी अन्त्यको माग या सङ्घर्ष अहिले मात्र भएपनि सुरु गरेको खण्डमा अन्यथा हुने छैन । बेला अहिले नै हो । मानिस विचारमा विभक्त हुन्छन् तर मानवीय संवेदना गुमिसकेको छैन र विवेक हराइसकेको यदि छैन भने एउटा सम्प्रभु देशमाथि ठाडो हस्तक्षेप सह्य हुन सक्दैन । दशकौँ लामो लकडाउन या नाकाबन्दीलाई न्यायोचित मान्न सकिन्न । हजारौँ चिकित्सक विश्वका कुनाकाप्चामा पठाई मानवीय सहायता उपलब्ध गराउने र मानिसको जीवन रक्षा गर्न आफ्नो जीवनको पर्वाह नगर्ने क्युवाली जनताको कठिनाइ टुलुटुलु हेरिबस्न सकिन्न । तसर्थ, क्युवाली जनताप्रति ऐक्यबद्धता जनाउँदै नाकाबन्दी अन्त्यका निम्ति दबाब दिनु र सङ्घर्ष गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो । शक्तिशाली संरा अमेरिकालाई नाकाबन्दीजस्तो अशोभनीय कार्य तुरून्त बन्द गर्न चौतर्फी दबाब दिनु क्षेत्रीय शान्ति तथा विश्व शान्तिको पक्षमा हुनेछ । सानो देशलाई आतङ्कित पारेर संरा अमेरिकामात्र होइन विश्वका कुनैपनि ठूला देशको इज्जत रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *