भर्खरै :

बढ्दै कोभिड सङ्क्रमणको जोखिम, सरकार आफै सभा–सम्मेलनमा व्यस्त

काठमाडौँ, २१ चैत । छिमेकी देश भारतमा कोभिड–१९ को सङ्क्रमण गत वर्षको अक्टोबर महिनाकै हाराहारीमा पुगेको समाचार स्रोतहरूले बताएका छन् । भारत कोभिड–१९ महामारीबाट सबभन्दा बढी प्रभावित संसारकै तेस्रो देश बनेको छ । भारतको राजधानी नयाँ दिल्ली सरकारले बढ्दो सङ्क्रमणलाई लिएर गत साता उच्चस्तरीय बैठकहरू आयोजना गरेको थियो । त्यहाँका मुख्यमन्त्री अरबिन्द केजरिवालले महामारीको प्रतिरोधका लागि सावधानीका सबै उपाय लागु गर्न जनतालाई ‘हात जोडेर’ आग्रह गरेका छन् । समाचार स्रोतअनुसार बिहीबार भारतमा ८१ हजार ४४१ जना र शुक्रबार ७४ हजार ८५५ जना नयाँ सङ्क्रमित फेला परेका थिए । सङ्क्रमण दर फैलिने क्रम बढ्दो छ ।
दक्षिण एसियाली देश बङ्गलादेशमा सङ्क्रमण दर बढेसँगै एकहप्ते लकडाउन घोषणा गरिएको छ । अप्रिल ५ देखि लागू हुने गरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
भारतबाट स्वदेश फर्केका नेपालीहरूमा पनि कोभिड–१९ को सङ्क्रमण फेला परेपछि नेपालको अवस्था पनि जोखिमबाट टाढा नरहेको स्पष्ट छ । कैलालीको त्रिनगर नाका हुँदै भारतबाट नेपाल फर्केका ११८४ जना मानिसमा शुक्रबार कोभिड–१९ को परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण फेला परेको छ । खुला सीमाको कारण भारतमा सङ्क्रमण दर बढ्दाको प्रत्यक्ष मार नेपालले पनि झेल्नुपर्नेछ । भारतका विभिन्न प्रान्तमा कामको लागि गएका नेपालीहरू रोपाइँको लागि घर फर्किने समय सुरु भएको छ । त्यसकारण नेपालमा सङ्क्रमण भित्रिने जोखिम बढेको छ । तर, नेपाल सरकार भने अझै पनि यो विषयमा गम्भीर हुन सकेको छैन ।
भारतबाट नेपाल भित्रिने मानिसमध्ये दस प्रतिशतको हाराहारीमा मात्र कोभिड–१९ को परीक्षण गरिएको छ । सरकारले सीमा नाकामा प्रभावकारी परीक्षणको लागि आवश्यक पूर्वाधार र जनशक्ति नै बन्दोबस्त गर्न सकेको छैन । अघिल्लो पटकको कोभिड–१९ को लहरबाट नेपाल सरकारले केही पनि पाठ सिकेको अनुभव हुन सकेको छैन ।
सङ्क्रमण दर नबढ्दै रोकथाम र सावधानीका उपाय लागु गर्नुपर्ने सरकार भने आफै ठूलठूला सभा सम्मेलन र कार्यक्रम गरिरहेको छ । शुक्रबार हजारौँ मानिसको उपस्थितिमा राष्ट्रपतिले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमा दैनिक सयौँ मानिसहरूसहित कार्यक्रम र सभाहरू भइरहेका छन् । सत्तारुढ एमालेलगायत प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस, माओवादी केन्द्रले पनि सावधानीका उपायको न्यूनतम पालना पनि नगरी सभा र बैठकहरू गरिरहेका छन् । विज्ञहरूको बारम्बारको चेतावनीबीच शासक दलहरूले यसरी असावधानी गरिरहनु जनताको स्वास्थ्यप्रतिको गैरजिम्मेवारी हो ।
संरा अमेरिका, ब्राजिल, भारत, युरोपका केही देशहरूमा यतिबेला महामारीले उग्र रूप लिइरहेको छ । ती सबै देशहरू धेरै जनसङ्ख्या भएका देशहरू हुन् । ती देशहरूमा केही हजार वा लाख मानिसले कोभिड–१९ को कारण ज्यान गुमाउनुले त्यहाँको जनसाङ्ख्यिक अवस्थामा धेरै ठूलो अन्तर गर्दैन । तर, कोभिड–१९ सङ्क्रमणप्रति नेपाल सरकार र शासक दलहरूको बेवास्ताको कारण कतै उनीहरू पनि सानो जनसङ्ख्या भएको नेपालमा जनसङ्ख्या नियन्त्रणको खेलमा लागेका हुन् कि भनी आशङ्का उठेको छ ।
व्यापारी र पुँजीपति वर्गको दबाबमा संरा अमेरिकी अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले समयमै लकडाउन नगर्दा महामारीले भयावह रूप लिएको थियो । ट्रम्पकै राजनीतिक विचारधाराबाट प्रभावित ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जाएर बोल्सोनारोले पनि लकडाउन र सावधानीका उपायमा खेलाँची गर्दा आज ब्राजिल महामारीबाट सबभन्दा बढी प्रभावित देश बनेको छ । त्यहाँ दैनिक दुई हजारको दरले मानिसहरू कोभिड–१९ सङ्क्रमणको कारण मृत्युवरण गरिरहेका छन् । नेपाल सरकारले पनि व्यापारी र पुँजीपति वर्गको दबाबमा यतिबेला सङ्क्रमण रोकथामको लागि आवश्यक कदम चाल्न अनकनाइरहेको देखिएको छ । सरकारलाई उद्योग वाणिज्यका केही मालिकहरूको नाफा महत्वपूर्ण हो वा जनताको जीवन प्यारो ? सचेत जनता आज प्रश्न उठाइरहेका छन् ।
सरकारले तत्काल भारतसँगको खुला सीमामा कडाइ गर्न जरुरी छ । धेरै मानिस भेला हुने सभा सम्मेलन र समारोहलाई सरकारले तत्काल निरुत्साहित गर्नुपर्छ । भयावह अवस्थामा पुगे पछि ‘बुद्धि पु¥याउनु’ भन्दा समयमै सावधानी अपनाउनु जनताप्रतिको जिम्मेवारी हुनेछ ।
कोभिड–१९ सङ्क्रमण नियन्त्रणको लागि हालसम्मको सबभन्दा वैज्ञानिक र भरपर्दो माध्यम खोप लगाउनु हो । तर, नेपालमा भने खोप अभियानले पनि अधकल्चो र अपूर्ण बनेको छ । खोपको अभावको कारण देखाउँदै सरकारले हाल खोप लगाउने अभियान स्थगित गरेको छ । भारतको सेरम कम्पनीले नेपालले भुक्तानी गरिसकेको खोप समेत दिन नसक्दा खोप अभियान बीचमै स्थगित गरिनुपरेको हो । पहिलो मात्राको खोप लगाएका अधिकांशले दोस्रो मात्रामा खोप लगाउन पाएका छैनन् । दुई मात्रा लगाउनुपर्ने खोपको एक मात्रामात्र लगाउनुको कुनै अर्थ नहुने विज्ञहरू भन्छन् । त्यसको अर्थ नेपालका अधिकांश जनताले खोप नलगाएको भन्न कर लाग्छ । सरकारले तत्काल खोप ल्याउन सक्ने छाँट देखिएको छैन । चीनले दिएको आठ लाख खोप पनि सरकारले प्रयोगमा ल्याएको छैन । न त थप खोपको लागि छिमेकी देश चीन वा अन्य कुनै कम्पनी वा सरकारसँग कुनै कुटनीतिक पहल गरिएको देखिंदैन । सत्ता ढाल्ने र जोगाउने खेलमा व्यस्त शासक दलले नेपाली जनताको जीवनमा व्यापारी र पुँजीपतिहरूको दबाबमा खेलबाड गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *