विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर, २२ चैत । चाँगुनारायण नगरपालिकामा के भइरहेको छ ? किन यतिविघ्न नकारात्मक समाचारहरू आइरहेका छन् । विकास निर्माणको नाउँमा भूमाफियाहरूको चलखेल किन बढ्दो छ ? भ्रष्टाचारको ‘ग्राफ’ पनि चाँगुनारायण नगरपालिका र वडा कार्यालयहरूमा बढ्दै गरेको जनता गुनासो गर्दै छन् । शासक दलका नेताहरूले गाउँ–गाउँमा सिंहदरबार पु¥याउने घोषणा गरेको धेरै भएको छैन । नगर प्रमुख र वडा अध्यक्षलगायतका जनप्रतिनिधिहरू अहिले सिंह बनेर जनता तर्साउँदै छन् ।
केही दिनअगाडि चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङका वडा अध्यक्ष जयन्द्र खड्काले छालिङ पिखेल निवासी लक्ष्मण खिचाजूलाई शनिबार राति मदिरा सेवन गरेर कुटपिट गरेको समाचार प्रकाशित भयो । उनीसँगै चानपा ७ बागेश्वरीका नेकपा एमालेसम्बद्ध प्रकाश लामिछाने र पूर्वसैनिक विश्व खड्का संलग्न भए ।
पीडितले वडा अध्यक्षलगायतका तीनैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय भक्तपुरमा जाहेरी दर्ता गराए भने कुटपिट गर्ने तीनैजना फरार रहेको समाचार छ । पीडितलाई नेपाली काङ्ग्रेसको तर्फबाट मिलापत्र गर्न दबाब दिइएको जानकारी उनका आफन्तहरूले दिएका छन् । राजनीतिक दबाबका कारण उनीहरू अहिलेसम्म पक्राउ परेनन् । प्रहरी प्रशासन पनि राजनीतिक दबाबकै कारण मौन छ । दोषीलाई पक्राउ गरी कारबाही गर्नेतर्फ उसको ध्यान गएको छैन । सर्वसाधारणलाई भए प्रहरीले तुरुन्तै पक्राउ गरिसक्थ्यो । तर, पटक–पटक गलत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पक्राउ गर्ने आँट प्रहरी प्रशासनले गरेन । सायद, मिलापत्र गराएर जिम्मेवारीबाट पन्छिने दाउ प्रहरीले खोज्दै छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भनेको यही हो ।
चानपा ५, छालिङ वडा कार्यालयमा ‘मालपोत असुली गर्ने कर्मचारीले भ्रष्टाचार गरेको’ अर्को समाचार पनि प्रकाशित भयो । मालपोत तिर्न आएका सोझा किसानहरूलाई भ्रष्ट कर्मचारीहरूले लाजै नमानी खुलम–खुला ठग्दै छन् । दिनदहाडै स्थानीय तहमा यसरी भ्रष्टाचार हुन थालेपछि जनप्रतिनिधिले सुशासन कायम गर्छन् भनेर जनताले कसरी विश्वास गर्ने ? जनप्रतिनिधिको संलग्नता नभए स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ ? जनता आशङ्का गर्दै छन् ।
चाँगुनारायण नगरपालिकाका शासकहरूमा खेलमैदान, रङ्गशाला बनाउने ‘भूत’ चढेको छ । उनीहरूलाई खेलमैदानको लागि उपयुक्त जमिन चाहिँदैन । भीर, पाखा, पखेरा जहाँ पनि डोजर चलाउन अनुमति दिइएको छ । वैज्ञानिक विश्लेषण कतै छैन । खेलमैदान त ‘कमाइ खाने भाँडो’ बनेको छ ।
चाँगुनारायण नगरपालिकाले अन्तर्राष्ट्रिय खेल मैदान बनाउने नाममा विश्व सम्पदामा सूचिकृत चाँगुनारायण मन्दिरमुनि ९३ रोपनी क्षेत्रफल ओगटेको जमिनको डाँडो सम्याउन भनेर ‘आगञ्जा कन्स्ट्रक्सन कम्पनी’ लाई ठेक्का दियो । वास्तवमा त्यहाँ खेलमैदान बनाउने मनसाय नै नरहेको स्थानीय जानकारहरू बताउँछन् । पहिले पनि उक्त ठाउँमा शासक दलहरूको मिलेमतोमा बालुवा खानी सञ्चालन गरिएको थियो । सो बालुवा खानी रोक्न स्थानीय जनताले धेरै सङ्घर्ष गरे । नेपाल मजदुर किसान पार्टीले त हरेक मञ्चमा उक्त ठाउँमा बालुवा खानी सञ्चालन गर्न नहुने विचार प्रकट गर्दै आएको हो । तर, यो कुरालाई ठेकेदारसँग मिलेमतो भएका शासक दलका नेता र भ्रष्ट कर्मचारीले बेवास्ता गरे ।
२०७२ को भूकम्पपछि युनेस्कोले गरेको ‘रियाक्टिभ मोनिटरिङ्ग’ ले चाँगुनारायण मन्दिर भासिएको देखायो । भूगर्भविद्हरूले पनि चाँगुनारायण मन्दिर रहेको डाँडो क्रमशः भासिँदै गएको बताएका छन् । डाँडामुनि रहेको जमिनमा अवैध बालुवा उत्खनन् गरे चाँगुनारायणको अस्तित्व समाप्त हुने सम्भावना छ । यसर्थ बालुवा उत्खनन् कार्य गलत हो ।
नेपाल मजदुर किसान पार्टीले गएको स्थानीय तहको निर्वाचनमा जनतासामु विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरको अस्तित्व समाप्त पार्ने अवैध बालुवा खानी हटाउने प्रतिबद्धता व्यक्त गरेको थियो । यसविपरीत अन्य राजनीतिक दलका उम्मेदवारहरूले ठेकेदार तथा बालुवा खानीका सञ्चालकहरूसँग आफू निर्वाचित भएको खण्डमा बालुवा खानी सञ्चालन गर्न दिने वचन दिएका थिए । उनीहरूले निर्वाचन जित्नकै लागि बालुवा खानीका सञ्चालक र ठेकेदारहरूसँग करोडौँ रकम असुल गरे । अहिले नपाका जनप्रतिनिधिहरूले ठेकेदारहरूको त्यही गुण तिर्दै छन् । खेलमैदानको नाउँमा जमिन भासेर बालुवा उत्खनन गर्ने र कमिसन खाने चक्करमा सबै लागेका छन् । खेलमैदान त जनताको आँखामा छारो हाल्ने बहानामात्र हो । खेलमैदान नभने जनताले विरोध गर्ने भएपछि खेलमैदानको नाम जोडेका हुन् । वास्तवमा बालुवा उत्खनन गरेर धन कमाउनु नै प्रमुख उद्देश्य हो । यसमा नपाका प्रमुख, उपप्रमुख र सम्बन्धित वडा अध्यक्षहरूको संलग्नता छ ।
चाँगुनारायण नपा वडा नं ६, नगरकोट र वडा नं ७ बागेश्वरीको भङ्गेरीडाँडामा पनि खेलमैदान बनाउने बहानामा सरकारी वन मासियो । भङ्गेरी डाँडाको बहाल बनलगायतका क्षेत्र भक्तपुरका जनताको जलभण्डार हो । सो जङ्गलमा रहेका मुहानको पानी बागेश्वरीकै टोलटोलका जनता उपभोग गर्छन् । भक्तपुरका जनताले उक्त क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी पानीको मूल संरक्षण गर्नुपर्नेमा जोड दिइरहेका छन् । तर, नगरपालिकाको प्रमुखकै संलग्नतामा भूमाफियाहरूले खेलमैदान बनाउने भन्दै डोजर चलाए । स्थानीय जनतासँग केही सरसल्लाह नगरी जथाभावी प्राकृतिक सम्पदा नष्ट गरियो ।
नगरपालिकाका जनप्रतिनिधि र केही भूमाफियाहरूले भङ्गेरी डाँडानजिकै ५०÷६० रोपनी जग्गा सस्तोमा किनेको खबर छ । सोही जग्गाको मूल्य बढाउन बहाल वन अतिक्रमण गरी खेलमैदानको नाटक मञ्चन गरेर सरकारी वन नष्ट पारियो । चाँगुनारायण नगरपालिकाका प्रमुख यसमा प्रत्यक्ष संलग्न रहे ।
केही सचेत स्थानीयले यसबारे प्रशासनमा उजुरी दिए तर प्रशासनले वास्ता गरेन । यस विषयमा सङ्घीय संसद्मा समेत आवाज उठ्यो तर सरकार भूमाफियाकै पछि लागेर मौन बस्यो । भक्तपुर जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, जिल्ला वन कार्यालयलगायत सरोकारवाला र जिम्मेवार निकाय सवै मौन बसे । भ्रष्टाचारीहरूको मनोबल झन् बढ्दै छ । भ्रष्ट जनप्रतिनिधिदेखि चाँगुनारायण नगर क्षेत्रका जनता आक्रोशित छन् ।
Leave a Reply