भर्खरै :

सांसद सुवालका प्रश्न मन्त्रीहरूको जवाफ

प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले परराष्ट्रमन्त्री युवराज ज्ञवालीसँग जिज्ञासा राख्नुभयो: यही अप्रिल १२ मा भारतले नेपालको दार्चुलामा सीमा अतिक्रमण गरेको नापी गर्न सरकारी टोली जाँदै छ । नेपालको तर्फबाट जाने टोलीमा अङ्ग्रेजी भाषामा पारङ्गत र नापीमा दक्ष व्यक्ति समावेश भयो कि भएन ? नेपाल–भारतको सीमा (स्ट्रिप) नक्सा बनाउँदा नेपाली टोलीले भारततर्फ बसेर नक्सा बनाएको कारण सिमानाको धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेको छ । यो टोलीको काम पनि त्यस्तै हुने हो कि भन्ने नेपाली जनतामा चिन्ता छ ।
परराष्ट्रमन्त्रीले स्पष्टिकरण दिनुभयो, प्राविधिकहरूको दक्ष टोली जानेछ । नेपाल र भारतको दुइटै टीम बसेर अध्ययन गर्नेछन् र उनीहरूले सत्य तथ्य बुझेर ल्याउनेछन् ।
सांसद सुवालले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग जिज्ञासा राख्नुभयो: भारतसँगको खुला सीमा नाकामा स्वास्थ्य परीक्षण र क्वारेन्टिनको राम्रो बन्दोबस्त नहुँदा नेपालमा कोभिड–१९ को पहिलो लहर तीव्ररूपमा फैलियो । अहिले दोस्रो लहर रोक्नको निम्ति भारतसँगको सीमा नाकामा स्वास्थ्य परीक्षण र क्वारेन्टिनको व्यवस्थापन र त्यहाँ स्वयम्सेवक परिचालनको तयारी के कस्तो भइरहेको छ ? कोभिड–१९ खोप खरिदमा १० प्रतिशत कमिसनबारे नागरिक दैनिकमा प्रकाशित मन्त्रीको अन्तर्वार्ताबारे यथार्थ के हो ? त्यस्ता कमिसनखोरहरू पक्राउ भयो कि भएन ? स्वास्थ्य मन्त्रालयबाट खरिद भएको अर्बौं रूपैयाँको स्वास्थ्य सामग्रीको पोका खोल्ने काम भयो कि भएन ? खोलिएको भए ती पोकामा के के थिए ?
स्वास्थ्य मन्त्री त्रिपाठीले स्पष्टिकरण दिनुभयो, खोप अभियान निःशुल्क छ । सरकारले यसको लागि ४८ अर्ब रूपैयाँ सुरक्षित बजेट राखिसकेको अवस्था छ । सुरूदेखि अहिलेसम्म ५ अर्बभन्दा अलि बढी खर्च भएको छ ।
अहिले पनि प्रदेश सरकार, स्थानीय तहहरूले क्वारेन्टिन निर्माणका कामहरू विशेष गरी नाका तथा प्रवेशबिन्दुहरूमा सुरू पनि भइसकेको छ ।
विगत केही वर्ष अगाडिकै हो । झन्डै झन्डै रू. ३ अर्ब ८२ करोडको सामग्री खरिद भएको थियो । कतिपय प्रयोग भएका छैनन् । यो कुरा तथ्य हो । कतिपय प्याकेज खुलेको छैन, यो पनि सही हो । यदि आवश्यक थिएन भने खरिद किन गरियो ? खरिद गरियो भने प्रयोग किन गरिएन ? त्यसको लागि मन्त्रालयले एउटा कार्यदल निर्माण गरेर आवश्यक कारबाही अगाडि बढाउँदै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *