भर्खरै :

रिजेन्द्र, कृष्ण र मिलन अग्रस्थानमा

ललितपुर, २२ चैत । ललितपुरको ताम्राकार भवनमा सञ्चालन भइरहेको गणेशमान सिंह स्मृति आठौँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन चौथौँ र पाँचौँ चरणका खेलहरू सम्पन्न भए । जसमा गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी, सुन्दर साकोस हेटौडाका कृष्ण थापा र दोलखाका मिलन लामाले समान १३ अङ्कका साथ संयुक्त अग्रता लिएका छन् ।
ललितपुर स्पोर्टस् क्लब र ताम्राकार समाजद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा रिजेन्द्रले चौथौँ चरणमा दोलखाका सुमित पन्तलाई निराश पारे भने पाँचौँमा कृष्ण थापासित बराबरी खेले । त्यस्तै कृष्णले चौथौंमा करूणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए । मिलनले चौथौँमा सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ र पाँचौमा सिलुलाइट साकोस लुभुका सुरोज महर्जनलाई माथ दिएका थिए ।
त्यसैगरी दोलखाका सुमित पन्त, अर्थ बहुउदेशीय सहकारी ललितपुरका फिडेमास्टर मनिष हमाल र स्वागतम साकोस ललितपुरका युवराज पौडेलले समान १२ अङ्क प्राप्त गरेका छन् ।
स्वीस लिग ९ चरणको खेल हुने प्रतियोगितामा माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, नोभा साकोस ललितपुरका सुदिप तामाङ, दमकका राजन सुवेदी र दोलखाका सुमित पन्त समान ११ अङ्कका साथ तेश्रो स्थानमा रहेका छन् ।
६४ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरू प्रतिस्पर्धा गर्दै छन् । पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रू. ५,६१,४०० बराबरको रहेको छ ।
सोमबार बिहान ८ः०० बजे छैटौँ र दिनको १ः०० सातौँ चरणका खेलहरू हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *