भर्खरै :

वायु प्रदूषणः बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ, २३ चैत । काठमाडौँसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ ।
वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक कामबाहेक बाहिर ननिस्नु र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्नसमेत अनुरोध गर्नुभयो ।
उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघातजस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्नेजस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
उहाँले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभई सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो ।
बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषका कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो ।
गर्मी बढेसँगै डढेलोका कारण सोमबार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।
यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *