भर्खरै :

तत्काल बन्दाबन्दी गर्ने योजना छैन – स्वास्थ्यमन्त्री

काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने उहाँको भनाइ छ । मन्त्री त्रिपाठीले भन्नुभयो, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गराइनेछ ।” समितिअन्र्तगत गठित उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बताउँदै उहाँले सीमा क्षेत्रमा कडाइ गर्ने योजना रहेको जानकारी दिनुभयो ।
समितिले पछिल्लो समय छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले सोसम्बन्धी आवश्यक सर्तकता अपनाउन विशेष पहल गर्नुपर्ने भन्दै उपसमिति गठन गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *