भर्खरै :

सेमिफाइनलको पहिलो खेल सम्पन्न

ललितपुर, २४ चैत । ६४ औँ सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको मङ्गलबार सेमिफाइनलको पहिलो खेल सम्पन्न भयो । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा र नोभा साकोस ललितपुरका सुदिप तामाङबीचको खेल बराबरी भयो । कृष्णको क्वीन पन्को जवाफमा सुदिपले घोडा चालेर खेललाई इण्डियन डिफेन्स ओपनिङमा लगेर ३५ औँ चालमा फोटोजेनिक पोसिजनको दाबी अनुसार खेल बराबरीमा टुङ्गियो ।
ललितपुरको ताम्रकार भवनमा सञ्चालन भइरहेको प्रतियोगितामा दोलखा चेसका मिलन लामाले गजुरमुखी चेस क्लब राजन सुवेदीलाई हराए । रोयलोपेज ओपनिङमा मिलनले फ्रिपनको फाइदा उठाउँदै ५२ औँ चालमा राजनलाई खेल परित्याग गर्न बाध्य पारे ।
ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्तरूपमा आयोजित प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार, तृतीयले ३० हजार र चौथौँले २५ हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ ।
बुधबार बिहान ८ः०० बजे सेमिफाइनलको दोस्रो खेल र लिगतर्फ आठौँ चरणको खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *