भर्खरै :

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने प्रजग कोरियाको घोषणा

सियोल, ६ अप्रिल (एएफपी) । प्रजग कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरू नपठाउने घोषणा गरेको छ । प्रजग कोरियाली खेलकुद मन्त्रालयले कोरोना भाइरस महामारीका कारण प्रजग कोरियाली खेलाडीहरू टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।
यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा प्रजग कोरियाले भाग लिएको थियो । सन् २०१८ मा कूटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको प्रजग कोरियाको सहभागिताले ठूलो सहयोग गरेको थियो ।
प्रजग कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गरेका थिए । जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरू भएका थिए ।
तर, प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया सुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाइमा हुँदै छ ।
प्रजग कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२ औँ गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।
तर, विश्लेषकहरूले खेलभन्दा पनि अन्य कारणले प्रजग कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।
जापानद्वारा प्रजग कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप
यसैबीच जापानले प्रजग कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । प्रजग कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको बहानामा जापानले प्रतिबन्ध थोपर्दै आएको हो ।
जापानले लगाएको प्रतिबन्धमा प्रजग कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्यबाहेक प्रजग कोरियामा दर्ता भएका जहाजहरूलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।
प्रजग कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसङ्घीय प्रतिबन्धमा हातहतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरू समावेश रहेका छन् ।
जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले प्रजग कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिए । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदै छ ।
प्रजग कोरियाले करिब एक वर्षको अवधिमा पहिलो पटक गत मार्च २५ मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानले उक्त परीक्षण राष्ट्रसङ्घीय सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन भन्दै भत्र्सना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *