भर्खरै :

आफ्नो देश प्रवेश गर्ने नेपालीलाई सीमा नाकामै परीक्षणको बन्दोवस्त आवश्यक

छिमेकी देश भारतमा गत शनिबारमात्रै ९३ हजारभन्दा बढी मानिस कोरोना सङ्क्रमित भए । यो सङ्ख्या विश्वमै तेस्रो स्थानमा पर्छ । सङ्क्रमितको सख्या हेर्दा पहिलोमा अमेरिका र दोस्रोमा ब्राजिल पर्छ । शनिबार एकै दिन भारतमा कोभिड–१९ बाट थप ५ सय जनाको मृत्यु भएको समाचार छ । यो सङ्ख्या विश्वकै बढी हो ।
भारतमा कोरोनाको दोस्रो लहरको सङ्क्रमण बढेपछि रोजगारको लागि भारत गएका नेपाली घर फर्किन थालेका छन् । दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरू भारतबाट स्वदेश फर्किरहेका छन् । नेपाल–भारत खुला सीमाको कारण नेपालमा थप जोखिम बढेको हो । सीमा नाकामा नेपाल भित्रिएका १० प्रतिशतको मात्रै परीक्षण भएको अधिकारीहरूको भनाइ छ । परीक्षणमा पोजेटिभ देखिएकाहरूसमेत सार्वजनिक यातायातमार्फत घर फर्किएका हुँदा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोनाको दोस्रो लहर फैलिने जोखिम छ ।
पश्चिम नेपालको भारतसँगको सीमा नाका बेलहिया, जमुनाह, गड्डाचौकी, त्रिनगरलगायतका नाकामा स्वास्थ्य सुरक्षाको ख्यालै नगरी नेपाल प्रवेश गरेका नेपालीलाई नाकामै परीक्षण गर्नुको सट्टा बिनापरीक्षण घर पठाइँदा गाउँ –गाउँमा सङ्क्रमण बढ्ने भएकोले समयमै सरकारी तदारुकता आवश्यक छ । केही दिनयता नेपालमा दैनिक १ सय ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आइतबारमात्र ९९ जना पोजेटिभ भएको हुँदा उपत्यका पनि जोखिममा छ ।
कोरोना महामारीलाई नियन्त्रण गर्न बङ्गलादेशले चैत २३ देखि एकहप्ते लकडाउन घोषणा गरेको छ । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरातलगायतका राज्यका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कफ्र्यू लगाइएको छ । संसारको कतिपय देशमा कोभिड–१९ को पहिलो लहर आएको चारदेखि ६ महिनामा पुनः दोस्रो लहर सुरु भएकोले नेपाल सरकार सचेत हुनु आवश्यक छ ।
भारतमा बनेको ‘कोभिसिल्ड’ खोपको पहिलो डोज १७ लाख ९० हजार १ सय २५ नेपालीलाई लगाए पनि दोस्रो डोज नलगाइए व्यर्थ हुने विज्ञहरूको मत छ । चीनबाट अनुदानमा प्राप्त ८ लाख डोज ‘भेरोसेल’ खोप लगाउन सुरु भएको छैन । यही बिहीबारदेखि काठमाडौँका तोकिएका अस्पतालमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप लगाइएकामध्ये हालसम्म १० जना ज्येष्ठ नागरिकको मृत्यु भएको समाचार छ । म्याग्दी, कालिकोट, रौतहट, धनुषा, काठमाडौँलगायतका जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएकोले भारतबाट ल्याइएको खोपको गुणस्तरमा प्रश्न उठेको छ । खोप लगाएका अर्जेन्टिनाका राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण भएबाट खोप लगाएकाहरू ढुक्क हुने अवस्था छैन । अहिलेसम्म तयार भएको खोपको ७० प्रतिशतमात्र प्रभावकारिता देखिएको विज्ञहरूको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *