भर्खरै :

विवाहित छोरीले अपुताली पाउने अवस्था

अपुताली
‘अपुताली’ भन्नाले मृतकको ऋण, धन र सम्पत्तिसम्बन्धी दायित्व र अधिकार कानुनबमोजिम हकवालामा सर्ने कार्य हो । ‘अपुताली’ को अर्थ सन्तानहीन व्यक्तिको श्रीसम्पत्ति, अपुत्रको धनसम्पत्ति भनी नेपाली शब्दसागरमा उल्लेख छ ।
मुलुकी देवानी संहिताको दफा २३७ मा कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने र दफा २३८ मा कुनै व्यक्तिको अपुताली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउने व्यवस्था गरेको पाइन्छ ।
अपुतालीको प्राथमिकताक्रम
सोही संहिताको दफा २३९ ले अपुताली पाउने नजिकको हकवालाको प्राथमिकताक्रम तोकेको पाइन्छ । जस अनुसार पहिलो सगोलको पति वा पत्नी, दोस्रो सगोलको छोरा, छोरी, विधवा बुहारी, तेस्रोमा सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा छोरीतर्फका नाति, नातिनी, नातिनी बुहारी, चौथोमा भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा, पाँचौँमा भिन्न भएका छोरातर्फका नाति, नातिनी, छैटौँमा भिन्न भएका बाजे, बज्यै, सातौँमा सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइबुहारी, आठौँमा सगोलका काका, काकी, भतिजा, भतिजी, नवौँमा भिन्न भएका दाजु, भाइ, दिदी बहिनी, विधवा भाउजू वा भाइबुहारी तोकिएको पाइन्छ ।
यो व्यवस्था रैकर तथा बिर्ता जग्गाको नामसारी गर्दा मात्र नभई हालै भूमिसम्बन्धी ऐन २०२१ तथा भूमिसम्बन्धी नियमहरूमा भएको संशोधनपछि मोही जग्गा नामसारी गर्दा पनि माथि उल्लिखित मुलुकी देवानी संहिता २०७४ को दफा २३९ बमोजिमकै प्राथमिकताक्रम लागु हुने कानुनी व्यवस्था गरिएको छ ।
यसरी कोही मृतकको नाममा रहेको श्रीसम्पत्ति कसको नाममा नामसारी हुने भन्ने सम्बन्धमा साविकको मुलुकी ऐन अपुतालीको महलले गरेको कानुनी व्यवस्थाहरूमा भन्दा मुलुकी देवानी संहिताले प्रस्टसँग मृतकको अपुतालीको पछि कसले पाउने भन्ने प्रस्ट प्राथमिकताक्रम तोकिदिएको पाइन्छ । साथै, छोरीले अपुताली पाउने प्रस्ट कानुनी व्यवस्था गर्दा विवाहित वा अविवाहित भनी भेदभाव नगरेको देखिन्छ ।
कुनै व्यक्तिको अपुताली खुला हुँदाका बखत पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली पाउने छैन भन्ने दफा २३९ को उपदफा (२) ले प्रस्ट कानुनी व्यवस्था गरेपछि आमा वा बुवा जीवित छँदै आमाबाबुको मञ्जुरी लिई छोराछोरीले आमाबाबु वा बाजेबज्यैको श्रीसम्पत्ति नामसारी गरी लिन सक्ने अवस्थालाई निषेध गरेको छ । अर्थात् एउटा पुस्तामा कोही जीवित छँदै सोभन्दा अर्को पुस्ताका मानिसका नाममा घरजग्गा श्रीसम्पत्ति हस्तान्तरण वा नामसारी दाखिल खारेज गर्न रोकेको छ ।
यसबाट केही हदसम्म वृद्ध आमाबाबुका नाममा किन घरजग्गा राख्ने भन्ने छोराछोरीको मानसिकता हँुदा आफ्नो नाममा सम्पत्ति नामसारी गरेपछि वृद्ध आमाबाबुलाई घरबाट निकालिने प्रवृत्तिमा कमि आउने आशा गर्न सकिन्छ भने अर्कोतर्फ अंशबण्डा नै नगरी विभिन्न घरजग्गा विभिन्न अंशियारहरूका नाममा नामसारी गरी हस्तान्तरण गर्ने अप्रत्यक्ष प्रक्रियामा रोक लगाई एकद्वार प्रक्रियाबाट सम्पत्ति हस्तान्तरण गर्न सकिने र नेपाल सरकारले राजस्व गुमाउन नपर्ने स्थिति पनि सृजना भएको देखिन्छ ।
यदि अपुताली पर्दा एउटै प्राथमिकताक्रममा एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समानरूपमा अपुताली पाउने कानुनी व्यवस्था रहेको छ । जस्तै, दोस्रो प्राथमिकताक्रमका मानिसहरूले अपुताली पाउने भए सगोलको छोरा, छोरी, विधवा बुहारी जो जो जिवित छन्, ती सबै हकवालाहरूले समानरूपमा अपुताली पाउँछन् ।
“अपुतालीको परिभाषा गर्दा छोरा वा सन्तान नभएको व्यक्तिको जायजेथामा दाबी गर्ने व्यक्ति हो भन्ने बुझिन्छ अर्थात् सो निःसन्तान व्यक्तिको जायजेथा निजको मृत्युपश्चात् नजिकको उत्तराधिकारीको हुन्छ भन्ने जनाउँछ । हकवाला हुन सात पुस्तासम्मको पुरुषतर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार हुनुपर्ने देखिन्छ । कुन हकवाला नजिक, कुन हकवाला टाढा भन्ने विवाद उठेमा जुन व्यक्ति मरी अपुताली परेको हो निजको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मूल पुरुषको अरू हाँगाको हकवाला नजिक हुँदैन । मृतकको नजिकको हकवाला सहोदर दाजु जीवित हुँदाहुँदै भतिजाले मृतकको अपुताली पाउँदैन ।” भनी उद्धवबहादुरविरुद्ध डम्बरबहादुर समेत भएको मुद्दामा ने.का.प.२०६२ नि.नं. ७५०३ पृष्ठ २४४ मा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त प्रकाशित छ ।
विवाहित छोरीले अपुताली पाउने
विवाहित छोरीले अपुताली पाउने व्यवस्था साविकको मुलुकी ऐनमा भएको एघारौँ संशोधन (२०५९।०६०) बाट लागु भएको देखिन्छ । साविकको मुलुकी ऐन अपुतालीको महलको दफा २ मा “अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरा सरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरीले अपुताली पाउने कानुनी व्यवस्था लागु भयो ।
इन्द्रकुमारी देवी चौधरीविरुद्ध नारायणप्रसाद थारु भएको मुद्दा नं. ०७३–एनएफ–००३२ को अपुताली हक कायम मुद्दामा विवाहित छोरीले अपुताली पाउने कि नपाउने भन्ने सन्दर्भमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७६।०९।०३ गते “प्रस्तुत मुद्दामा सौतेनी छोरा र विवाहित छोरी नजिकको नाताको हुने र अपुतालीमा कसको दाबी पुग्ने भन्ने प्रश्नमा विचार गर्दा मर्ने व्यक्ति स्वयम्को गर्भबाट जन्मेको सन्तान नै मर्ने व्यक्तिको नजिकको हकवाला मान्नु पर्ने हुन्छ । विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्करणको स्थिति आई विभेदित हुने अवस्था आउँछ । नेपालको संविधान र कानुनले विवाहको आधारमा गरिने भेदभावलाई पूर्णरूपमा निषेध गरेको छ ।” भनी विवाहित छोरीले अपुताली पाउने फैसला गरेको पाइन्छ ।
उक्त मुद्दामा साविकको मुलुकी ऐन अपुतालीको महलको दफा २ तथा ने.का.प.२०६५ अङ्क ५ नि.नं.७९६७ मा “बाबुआमाको अंश नै कायम भइ नसक्दै विवाह भइ आफ्नो घरमा गएका छोरीहरूले बाबु वा आमाको अपुतालीमा दावी गर्न पाउने अवस्था नहुने भन्ने नजिरको समेत व्याख्या गरिएको पाइन्छ ।
साविक मुलुकी ऐनको एघारौँ संशोधनबाट २०७२ सालदेखि अपुतालीको महलको २ नं.मा भएको कानुनी व्यवस्थाबाट अपुतालीका सम्बन्धमा विवाहित र अविवाहित दुवैको समान हक हुने भन्ने सुनिश्चिता टरेको, उक्त कानुनी व्यवस्थाले विवाहित छोरीसमेतले मृतकको अपुताली पाउने स्वीकार गरेको पाइन्छ ।
नेपालको संविधानको धारा १८ मा समानताको हकअन्तर्गत पुरुष र महिलाबीच विवाहित तथा अविवाहितका आधारमा विभेद नगरिने भनी संवैधानिक प्रत्याभूति दिएको पाइन्छ । जसअनुसार धारा १८ को उपधारा (२) मा सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनी विवाह भएको वा नभएको कारणले उनको समानताको अधिकारमा कुनै फरक नपर्ने कानुनी संवैधानिक अधिकार सुनिश्चित गरेको पाइन्छ ।
त्यस्तै, उपधारा (५) मा पैत्रिक सम्पत्तिमा लैङ्गिक भेदभावविना सबै सन्तानको समान हक हुनेछ भनी पैत्रिक सम्पत्तिमा छोराछोरीको समान हक हुने प्रस्ट संवैधानिक व्यवस्था गरेको पाइन्छ ।
साथै, धारा ३८ को उपधारा (१) मा महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक हुने संवैधानिक व्यवस्था रहेको पाइन्छ । त्यस्तै, नेपालले अनुमोदन गरेको महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, १९७९ को धारा १ तथा धारा १३ मा “वैवाहिक स्थितिको आधारमा सामाजिक कानुनी राजनैतिक वा आर्थिक अधिकारमा पनि महिलालाई बहिष्कार, प्रतिबन्ध वा फरक व्यवहार गर्न नपाउने तथा पारिवारिक फाइदा महिला र पुरुषबीच विभेद गर्न नपाउने व्यवस्था गरिएको छ ।
यसरी अपुताली र अंश हकका सम्बन्धमा साविकको मुलुकी ऐनमा भएको एघारौँ संशोधनपछि अपुतालीका सम्बन्धमा विवाहित र अविवाहित दुवैको समान हक हुने भन्ने सुनिश्चित गरेको, रगतको नाताका सम्बन्धमा सर्वोच्च अदालतले रगतको नाता वा आफ्नो उदर तर्फको भएसम्म फरक उदरबाट जन्मेका सन्तानले मर्नेको अपुताली नपाउने विधिशास्त्रीय मान्यताको विकास गरेको देखिन्छ ।
अतः यी माथि चर्चा गरिएका कानुनी व्यवस्था, विधिशास्त्रीय मान्यता, नजिर सिद्धान्तहरू तथा कानुनी एवम् संवैधानिक व्यवस्था समेतलाई हेर्दा विवाहित छोरी पनि अपुताली पाउने प्राथमिकताक्रमको दोस्रो प्राथमिकताक्रममै परेको मान्न सकिन्छ । सामान्यतया छोरा हुने व्यक्तिको मृत्युपछि अपुताली पर्दा विवाहित छोरीले अपुताली दावी गर्ने गरिन्न तर मृत्यु भई अपुताली पर्नेको छोरा जन्म नभएको छोरीमात्रै जन्म भएको रहेछ भने त्यस्ता विवाहित छोरीले अपुताली पाउने कानुनी व्यवस्था रहेको प्रस्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *