भर्खरै :

अन्तद्र्वन्द्वभित्र सत्तामोह !

ठूला राजनीतिक दलका नेताहरूबीच अन्तरविरोध हुनु, मतमतान्तर हुनु या गुट–उपगुट हुनुको मूल कारण सत्तामुखी राजनीति नै हो, सत्तामा सामेल हुनु नै हो । सरकारमा पटक–पटक सहभागी हुने दलहरू एमाले, नेका, जसपामा नेताहरूबीचको अन्तरविरोध चर्केरै पछिल्लो पटक आफ्नो दलको नेतृत्वमा सरकारमा जाने निर्णय नेकाले गरेको हो । एमालेमा त समानान्तर कमिटी नै गठन हुन थालेको छ । सरकारमा सामेल हुने सन्दर्भमा जसपामा पनि दुई मत देखिन्छ । जसपाका शीर्ष नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई केपी ओलीको नेतृत्वमा सरकारमा सामेल नहुने पक्षमा छन् भने राजेन्द्र महतो र महन्थ ठाकुर आफ्नो माग पूरा भए ओलीको सरकारमा सामेल हुने तर्क राख्दै छन् । सारमा ठुला दलका नेताहरूको अन्तद्र्वन्द्व सिद्धान्त र विचारको होइन सत्तामोहको हो ।
एकातिर पार्टीभित्र नेताहरूको अन्तद्र्वन्द्व भइरहेको छ भने अर्कोतिर एकले अर्कोलाई पार्टीविरोधी गतिविधि गरेको र अनुशासनमा नबसेको भन्दै कारबाही गरिरहेको छ । कुनै नेतालाई पदमा पु¥याउने र कुनैलाई फाल्ने काम भइरहेको छ । बुधबार प्रकाशित विभिन्न दैनिक पत्रिकामा छापिएका ‘कर्णाली सरकारबाट बाहिरियो एमाले’, ‘चार मन्त्रीको सांसद पद खारेज हुँदै’, ‘एमाले प्रवेश गरेको १८ औँ दिनमा प्रधान निगमको सञ्चालक नियुक्त’, ‘नेपाल–खनाल समूहको बाग्मती प्रदेशमा समानान्तर कमिटी’ आदि शीर्षकले पनि आजको राजनीतिक स्थितिको बोध गराउँछ । ठुला राजनीतिक दलहरूको यस्तै सत्तामुखी राजनीति, अन्तरकलहले गर्दा देश अनिर्णयको बन्दीझैँ भइरहेको छ ।
कहिले सरकारको नेतृत्व फेर्ने चर्चा हुन्छ त कहिले फेरि निर्वाचन हुने चर्चाको विषय बन्छ । कर्णालीमा एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा पर्नु या पार्नु के सत्ताको खेल होइन ? एमालेमा गएका सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको छ । दल बदलेको कारण उनीहरूको सांसद पद खारेजीको माग गरिएको छ । यसरी एउटा दलले अरू दलका मन्त्री र सांसदहरूमाथि भइरहेको कारबाही र राजीनामाले पनि देश राजनीतिक सङ्कटमा परेको हो या देशमा राजनीतिक अस्थिरता देखिएको हो । राजीनामा, कारबाही र समानान्तर कमिटी गठनमा अरू दलको कुरा छोडौँ कम्युनिस्ट भनिने दलले पनि सिद्धान्त र विचारको कुरा गरेनन् । भेला, सभा, गोष्ठी आदि कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्तालाई सैद्धान्तिक र वैचारिकरूपमा सचेत पार्ने काम भएन । खालि सरकारमा गएर सेवा–सुविधामात्र लिने मनसायले देशमा कसरी परिवर्तन हुन्छ ? देश कसरी समृद्ध र नेपाली सुखी हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *