भर्खरै :

ब्राजिलका कोरोना भाइरसबाट एकै दिनमा चार हजारभन्दा बढीको मृत्यु

ब्रासिलिया, २५ चैत (रासस÷एएफपी) । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस सुरू भएयता यति धेरै सङ्ख्यामा व्यक्तिहरूले ज्यान गुमाएका यो पहिलोपटक हो ।
ब्रालिजमा मङ्गलबार चार हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब तीन लाख ३७ हजार पुगेको छ । कोभिड–१९ का कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।
ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारीविज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौँ र हामीले कुनै राज्य वा सङ्घीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौँ ।”
देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रूपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उहाँले बताउनुभएको छ ।
देशमा चलेको राजनीतिका कारण ब्राजिलका यो स्थिति आएको र ठुलो सङ्ख्यामा व्यक्तिहरू ज्यान गुमाउनु परेको विज्ञहरूको भनाइ रहेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य सङ्कट निम्त्याउनुमा राष्ट्रपति जायर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।
राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावका लागि तयारी गरेपछि राजनीतिमा उथलपुथलको भएको थियो । गत हप्ता विदेश, न्याय र रक्षामन्त्रीहरू राजीनामा गरेपछि नयाँ मन्त्रीहरू नियुक्ति भएका थिए । त्यसैगरी, सेनातर्फ सेना, नौसेना र वायुसेना कमान्डरहरूले राजीनामा गरेपछि नयाँ कमान्डरहरू फेरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *