भर्खरै :

कम्युनिस्टहरू व्यक्तिवादी नहुने

हेटौँडा, २६ चैत । बाग्मती प्रदेशसभाको मङ्गलबार सुरू भएको बैठक नेकपा (माओवादी केन्द्र) ले दैनिकरूपमै अवरोध गरेपछि बिहीबार अनिश्चितकालका लागि स्थगन गरियो । नेकपामा आएको विभाजनबाट बाग्मती प्रदेशसभा प्रत्यक्ष प्रभावित भएको छ ।
गत माघ ७ गते सुरू भएको हिउँदे अधिवेशनको बैठक बिहीबारसम्म सुचारू हुन सकेको छैन । व्यवस्थित बैठक नै बस्न नपाउँदै हिउँदे अधिवेशन अन्त्य हुने देखिएको छ । कार्यव्यवस्था परामर्श समिति र सर्वदलीय बैठकबाट प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दलबीच सहमति कायम गर्ने पटक–पटकको प्रयास सफल हुन नसकेपछि शुक्रबारसम्म चल्ने भनिएको बैठक एकाएक स्थगित गरिएको हो । योभन्दा अगाडि पनि दुईपटक सूचना टाँस गरी स्थगित गरिएको थियो ।
बिहीबार अवरोधका बीच बसेको बैठकमा सत्तापक्षलाई बोल्न नदिने र प्रतिपक्षलाई मात्र बोल्न समय प्रदान गर्ने सहमति भएपछि करिब आधा घण्टा सदन चल्यो ।
विशेष समय लिएर नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सङ्ख्यामा जोड दिने पुँजीवादी सोच, विचारविहीनता तथा सिद्धान्त शून्यताका कारण आजको लज्जास्पद स्थिति देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “के शासक दलले राजनीतिमा नैतिकता, इमानदारी, आदर्श आवश्यक छैन भन्न खोजेका हुन् ?”
सांसद गोसाईले कोभिड–१९ महामारीको दोस्रो लहरले जनता भयभित भइरहेको बेला सरकार संवेदनशीलशून्य बन्नु लज्जास्पद घटना भएको बताउँदै स्वास्थ्य सेवा तथा महामारीविरूद्धको अभियानमा ध्यान केन्द्रित गर्न माग गर्नुभयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा क्रिकेट रङ्गशाला निर्माणको नाउँमा विश्व सम्पदा चाँगुनारायण मन्दिर खतरामा पारिँदै छ भन्दै सांसद गोसाईंले जनताको बस्ती धरापमा पार्ने, सम्पदा म्हास्ने र ठेकेदार पोस्ने काम तुरून्त बन्द गराउन आवश्यक कदम चाल्न माग गर्नुभयो ।
संविधानमा समाजवादउन्मुख लेखिएको स्मरण गराउँदै उहाँले वास्तविक कम्युनिस्टले जनतालाई सेवा–सुविधा दिन पछि नहट्ने चर्चा गर्नुभयो । उहाँले ट्रलिबस सेवा पञ्चायतकालमै सञ्चालन भएको उल्लेख गर्दै विद्युतीय गाडी खरिद भ्रष्टाचार र अनियमितताका निम्ति नहोस् भन्नुभयो । कम्युनिस्टहरू व्यक्तिवादी नहुने बताउँदै उहाँले नेताहरूको अपमान गर्ने काम बन्द गरियोस् भन्नुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *