भर्खरै :

इरान आणविक सम्झौताविपरीतका नाकाबन्दी फिर्ता गर्न संरा अमेरिका तयार

भियना, ४ अप्रिल । प्रमुख शक्ति देशका कूटनीतिज्ञहरूले बुधबार संरा अमेरिका र इरानका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटेका छन् । तीन वर्षअघि संरा अमेरिकाले त्यागेको सन् २०१५ मा भएको इरान आणविक सम्झौतालाई फेरि फर्काउने विषयमा ती बैठकहरू भएका थिए ।
गत मङ्गलबारबाट अस्ट्रियाको भियनामा इरान आणविक सम्झौताको विषयमा वार्ता सुरु भएको हो । वार्तामा इरान र संरा अमेरिका दुवै पक्षबाट एकैबाजी ठुलो निर्णय हुने अपेक्षा गरिएको छैन । वार्तामा युरोप र अन्य केही कूटनीतिज्ञहरूले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट हात झिक्ने निर्णय गरेका थिए । सम्झौताअनुसार इरानको आणविक कार्यक्रममा नियन्त्रण गर्न इरानमाथि थोपरिएका आर्थिक नाकाबन्दी खुकुलो बनाइएको थियो । ट्रम्पले भने सम्झौताबाट फिर्ता भएर संरा अमेरिकी नाकाबन्दी पुनः थोपरेका थिए । अमेरिकाको सो कदमले इरानलाई पनि सम्झौताबाट पछि हट्न बाध्य बनाएको थियो ।
“संरा अमेरिकाले तेहरानविरुद्ध लगाएका सबै अवैध नाकाबन्दी फिर्ता गर्नुपर्छ र इरानी पक्षले त्यही आधारमा सन् २०१५ को आणविक सम्झौतामा फिर्ता हुनुपर्छ”, संयुक्त राष्ट्र सङ्घ र भियनास्थित अन्तर्राष्ट्रिय सङ्गठनका लागि चिनियाँ प्रतिनिधि वाङ छुनले भने ।
इरान, बेलायत, चीन, फ्रान्स, जर्मनी र रुसबीच भएको बैठकले दुई विज्ञ तहका कार्यदल बनाएर इरानले आणविक कार्यक्रममा नियन्त्रण गर्ने शर्तमा संरा अमेरिकाले हटाउनुपर्ने नाकाबन्दीबारे अध्ययन गर्नेमा सहमति भएको छ ।
विज्ञ समूहले आगामी जून १८ मा इरानमा हुने राष्ट्रपति निर्वाचनअघि केही निष्कर्ष निकाल्ने भए आफूलाई केही साता आवश्यक पर्ने बताएको कूटनीतिज्ञहरूले बताए ।
इरान आणविक सम्झौताविपरीतका नाकाबन्दी हटाउन संरा अमेरिका तयार
संरा अमेरिकी अधिकारीहरूले इरानसँग भएको बैठकका निर्णयबारे आफूलाई जानकारी दिएको बताए । “भियनामा भएको हाम्रो टोलीले हाम्रा युरोपेली साझेदारका साथै रुसी र चिनियाँ समकक्षीहरूसँग परामर्श गरेको छ । हामीबाहेकका देशहरूले इरानी टोलीसँग पनि बैठक बसेका छन्”, संरा अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले वाशिङ्टन डीसीबाट भने ।
“अप्रत्यक्ष ढङ्गको कुराकानी, संरा अमेरिका र इरानबीचको अविश्वासको इतिहास र विषयवस्तुको जटिलताको कारण वार्ता सहज नहुने प्राइसले भने ।
उनले वासिङ्टनले आणविक सम्झौतामा उल्लेख भएका इरानमाथि लगाएका केही नाकाबन्दी फिर्ता हुनसक्ने तर त्यसबारे विस्तृतरूपमा भन्न नसक्ने बताए ।
“आणविक सम्झौतामा फर्किन केही आवश्यक कदम चाल्न हामी तयार छौँ । जस्तै सम्झौतासँग मेल नखाने केही नाकाबन्दी हामी फिर्ता गर्नसक्छौँ । यो विषयमा सबै कुरा भन्न सक्ने ठाउँमा म अहिले छैन”, उनले भने ।
इरानका रोहानी भन्छन्–नयाँ अध्याय सुरु हुन्छ
इरानका राष्ट्रपति हसन रोहानीले बुधबार भियनाको वार्ता सङ्कटग्रस्त आणविक सम्झौतालाई उद्धार गर्न नयाँ अध्याय हुने बताए ।
“हिजो एउटा नयाँ अध्यायको सुरुवात भएको छ”, बुधबार इरानी मन्त्रिमण्डल बैठकमा रोहानीले भने ।
“वासिङ्टनलाई इमानदारी देखाउन हामी आग्रह गर्छौं । मेरो विचारमा आवश्यक भए हामीले सम्झौताका अन्य पक्षसँग एउटा सहमतिमा पुग्नेछौँ”, उनले भने ।
वार्ताको अर्को चरण शुक्रबार भियनामा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *