भर्खरै :

सङ्घीय गणतन्त्र विदेशी हस्तक्षेप स्वीकार्न होइन

सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको स्थापना अस्थिरता, अराजकता निम्त्याउन होइन, भागबन्डा मिलाउन र विदेशी हस्तक्षेप स्वीकार्न होइन । मूलधारको राजनीतिक दल मानेका, ठुला, शक्तिलाई नै सच्चाइ र जनसमर्थनको मापदण्ड मानेका ठुला दल तथा सत्ताधारी दलहरू सत्ता, व्यक्तिगत र दलगत स्वार्थमा अल्झेर विचार र सिद्धान्त भुलिरहेकोमा शङ्का छैन । दलहरूबीचको वार्ता, सहमतिका आधार जे भने पनि आखिरी स्वार्थ सत्ता स्वार्थ नै हो ।
पार्टी एकताको आधार सिद्धान्त र विचार हुनुपर्छ भन्ने कुरा दलका नेताहरूलाई थाहा नभएको होइन । तर, ती नेताहरू सिद्धान्त र विचारलाई बन्धक बनाउँछन्, पार्टी ठुलो बनाउन एकता गर्छन् र निर्वाचनमा जित्छन् । ठुलो दल बनेको र जितेकै आधारमा आफूलाई शक्तिशाली ठान्छन्, आफू नै देशको सर्वशक्तिमान ठानेर राजस्व नै पैत्तृक सम्पत्ति सम्झेर पदको दुरूपयोग गरी रजाइँ गर्छन् । तिनीहरू आफ्नो स्वार्थ पूरा गर्न असन्तुष्ट नेताहरूलाई पाखा लगाउँछन् । यही कारण नेकपा, नेका, एमाले र जसपामा अन्तरविरोध बढेकोमा शङ्का छैन ।
देश र दलको नेतृत्व गर्ने दलका नेताहरूमा अहिले पनि साम्प्रदायिक भावना छ, सङ्कीर्ण विचार छ । अवसर छोप्न तिनीहरू सिद्धान्त र विचारको ख्यालै गर्दैनन् । सिद्धान्त छोड्दा र सत्तास्वार्थमा हामफालेपछि तिनीहरू देश र जनता भुल्छन्, दलको भविष्यको वास्ता गर्दैनन्, यस्तै यस्तै कुरा उनीहरू किन दोहो¥याउँछन् ? पार्टी एकता भएको दुई–चार वर्ष पनि नटिक्दै किन फेरि फुट्छ, फुटेपछि फेरि किन पार्टी एकताको आह्वान हुन्छ ? झन्डै दुईतिहाइ मत प्राप्त सरकार भूकम्पमा भवन हलेझैँ हल्लिरहेको छ ।
आ–आफ्नो दलगत स्वार्थ र भागबन्डाकै कारण केपी ओली नेतृत्वको सरकार हल्लिरहेको हो । कुन दिन यो सरकार ढल्ने हो, निश्चित छैन । सरकार ढलेमा या प्रम ओलीले पद त्यागेमा कसको नेतृत्वमा सरकार बन्ने हो ? त्यो पनि अनिर्णित छ । कुनै पनि दलले सरकार गठन गर्न नसक्ने स्थितिमा देशको राजनीति कसरी अघि बढ्छ ? देश जहिल्यै अनिर्णयको बन्दी बनिरहनुको सट्टा, अस्थिरता निम्त्याइरहनुको सट्टा अन्ततः निर्वाचनमै जानुपर्ने हुन्छ । यसको कारण सत्तारूढ तथा ठुला दलका नेताहरू देश र जनताप्रति समर्पित नहुनु हो, जिम्मेवार नहुनु हो । गोपाल नगरकोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *