भर्खरै :

बिस्का शान्तिपूर्ण मनाउन सद्भाव सभा

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबारबाट सुरू हुने ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षितढङ्गले मनाउन भक्तपुरको टौमढीमा शुक्रबार सद्भाव सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर र वायु प्रदूषणको पीडाबीच यस पटक बिस्का जात्रा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
संसद्को सत्तापक्ष र प्रमुख प्रतिपक्ष पार्टीले ठुल–ठुलो जुलुस, सभा गरेको हुँदा जनताले आफ्नो संस्कृतिअनुसारको जात्रा किन गर्न नमिल्ने भनी प्रश्न उठाउनु स्वाभाविक भएको धारणा राख्दै उहाँले बिस्का जात्रा मानव जातिको सभ्यता र संस्कृतिसँग जोडिएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “विगतमा जात्रामा उपद्रव पनि भएको हुँदा कतिपयमा बिस्का जात्राबारे नकारात्मक दृष्टिकोण छ । अब उप्रान्त सभ्य र सुसंस्कृतरूपमा यो जात्रा सम्पन्न गरी राम्रो सन्देश दिनु हामी सबैको कर्तव्य हो ।”
भारतमा दैनिक १ लाख ३१ हजार ८९३ जना कोभिड–१९ सङ्क्रमित थपिएको तरगत वर्ष त्यहाँ दैनिक सङ्क्रमित ९७,८९४ भन्दा बढी नभएको चर्चा गर्दै उहाँले भारतमा सङ्क्रमित दर बढ्दै गएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “ चैत २० गते दिल्लीका मुख्यमन्त्री केजरीवालले लकडाउन र कफ्र्यु नहुने बताएका थिए, तर कोभिड–१९ सङ्क्रमित बढ्दै आएपछि चैत २३ गतेबाट दिल्लीमा राति १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु गरियो । भारतसँग खुला सीमा भएको हुँदा गत वर्ष भारतमा सङ्क्रमित बढेलगत्तै नेपालमा पनि सङ्क्रमित बढ्यो । अहिले भारतमा सङ्क्रमणको दोस्रो लहर सुरू भयो । अब नेपालमा पनि यो जोखिम बढ्दो छ ।”
“यसपटक भारततर्फ गहुँ विसर्जित नल र डाँठ जलाइएको कारण अत्याधिक धुवाँ नेपालतर्फ आयो । नेपालको ५०० भन्दा बढी ठाउँमा वनजङ्गल डढेलो लागेको हुँदा काठमाडौँ उपत्यकालगायत नेपालभरि नै वायु प्रदूषण बढ्यो । राष्ट्रपतिले डढेलो, औद्योगिक क्षेत्र र सवारी साधनको धुवाँ र धुलोको कारण वायु प्रदूषण बढेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । पर्यावरणीय सन्तुलनको लागि देशको सन्तुलित विकास जरूरी छ । यो सङ्कटको स्थितिमा काठमाडौँ उपत्यकाका बाँकी जग्गा १ लाख ३० हजार रोपनीमा चारवटा उपसहर बनाउने योजना र प्रदेश प्रमुख एवम् मुख्यमन्त्री निवास तथा सम्पर्क कार्यालय भैँसीपाटी आवास क्षेत्रमा निर्माण गर्नु देशको सन्तुलित विकासविपरीत र सङ्घीयताविपरीत हो ।” उहाँले बताउनुभयो ।
विश्व सम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर र मानव बस्ती भासिने गरी बुढाथोकी टोलमा क्रिकेट मैदान बनाउन डाँडो सम्याउने निहुँमा २०–२५ फिटमुनिको बालुवा उत्खनन गरी बेचबिखन गरिएको अविलम्ब रोक्नु जरूरी रहेकोमा सांसद सुवालले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको बिस्का जात्राबारे देखिएको अन्योल र अस्पष्ट स्थितिबारे प्रस्ट पार्दै जात्रा मनाउनुपर्छ भन्ने जनताको भावनाअनुरूप जात्रासँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको रायसुझावअनुरूप भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उल्लासमय र मर्यादितरूपमा सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले जात्राको नाममा धमिलो पानीमा माछा मार्ने षड्यन्त्रकारीहरूबाट भक्तपुरवासी सचेत हुनुपर्ने बताउँदै भक्तपुर नपाले कोभिड सङ्क्रमणबाट जनतालाई सचेत र सुरक्षित पार्न घरघरमा साबुन र मास्क वितरण कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बिस्का जात्रा धार्मिक, राजनीतिक, सामाजिक र आर्थिकरूपले महत्वपूर्ण जात्रा भएको औँल्याउँदै जात्रामा समाजका सबै वर्ग तथा समुदायको सक्रिय सहभागिता रहनु नै यस जात्राको विशेषता भएको बताउनुभयो । सभामा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले चैत २८ गतेबाट सुरू हुने बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्दै सदियौँदेखि चलिआएको जात्रा गर्न र जात्रा अवधिभर सुरक्षित पनि रहन अनुरोध गर्नुभयो ।
त्यसैगरी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सांस्कृतिक एवम् ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्णरूपमा मनाउन अपिल गर्दै बिस्का जात्रा अवधिभर नगरभित्र अमनचयन कायम गर्न सुरक्षाकर्मीहरू परिचालन हुने प्रतिबद्धता जनाउनुभयो ।
सभामा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन मन्तव्य दिनुभएको थियो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले संवेदनशील घडीमा हुन लागेको बिस्का जात्रालाई सभ्य, भव्य, सुरक्षित, शान्तिपूर्ण र मर्यादितढङ्गले मनाउन भक्तपुर नपाले प्रकाशन गरेको अपिल वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *