भर्खरै :

सूर्यविनायकमा शुभकामना आदानप्रदान

भक्तपुर, २९ चैत । नेमकिपा सूर्यविनायक बलाक्वँ टोल समितिको आयोजनामा समसामयिक राजनीतिक विषयमा प्रवचनका साथै नयाँ वर्ष २०७८ को शुभकामना कार्यक्रम आइतबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले देशमा खुला सिमानाको कारण कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने खतरा रहेकोले सचेत रहन आग्रह गर्नुभयो ।
पार्टी सङ्गठनविना कुनै पनि विकासका कामहरू इमानदारिता र पारदर्शिताका साथ सम्पन्न नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “सही नीति र सही विचारबाट निर्देशित भएर जनताको सेवाको लागि जनतासँगै रहेर नेमकिपाले काम गरिरहेको छ । सरकारले विकास निर्माणका योजनाहरू पक्षपातपूर्ण र सङ्कीर्ण मानसिककताले वितरण गरिरहेका छन् । आ–आफ्नो डोजर, स्काइभेटर, ढुङ्गा खानी, गिट्टी उद्योग सञ्चालन गर्ने निजी स्वार्थका साथ ठुला दलहरूले काम गरिरहेका छन् ।”
नेमकिपाले विदेशीको मुख नताकिकन आत्मनिर्भर भई निष्पक्ष तरिकाले जनताको भावना र चाहनाअनुसार सम्भव भएसम्म विकास योजना छुट्याएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपामार्फत अगाडि बढाइएका योजनाहरूमा इमानदारीपूर्वक पारदर्शीढङ्गले काम भइरहेका छन् ।”
प्रदेशसभा सदस्य सैँजूले ठूला पार्टीका प्रदेश सभासद्हरू पद, पैसा र भागबन्डाको झगडामा अल्झिएकै कारण जनताले दुःख भोग्न विवश भएको बताउनुभयो ।
मजदुर दैनिकका सम्पादक उद्धव सुजखुले जनतालाई सचेत पार्न नेमकिपा गाउँ–गाउँमा पुगेको, नेमकिपाको नेतृत्वमा रहेको भनपाले आफ्नो सीमित बजेटले पनि कला, संस्कृति, शिक्षा, स्वास्थ्य, विकास निर्माण र सरसफाइको क्षेत्रमा जनतालाई अधिकतम सेवा दिइरहेको छ भन्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले सूर्यविनायक नगरपालिकाभित्र व्यापक पक्षपात, भ्रष्टाचार भएको, विकासको नाममा कार्यकर्ता पाल्ने काम गरिरहेकोले जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीसुन्दर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सूनपा वडा नं. ८ का वडाध्यक्ष श्यामसुन्दर सुवाल र पियुषराज गोसाईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य सृजना सैंजूको सिफारिसमा भएको विनियोजित रू. १० लाखको लागतमा बनेको बाटो निर्माणको हिसाब विवरण उपभोक्ता समितिका अध्यक्ष पुरूषोत्तम जाकिबन्जारले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *