भर्खरै :

चौबीस घण्टामा संरा अमेरिकामा तीन बन्दुक हिंसा

वाशिङ्टन, ११ अप्रिल । संरा अमेरिकामा चौबीस घण्टामा बन्दुक प्रयोग भएका तीन वटा हिंसात्मक घटना भएका छन् । टेक्ससको वर्थ फ्रिवे किल्लामा शुक्रबार राति भएको एउटा हिंसात्मक घटनामा एक जना मानिसको मृत्यु हुुनुका साथै कम्तीमा पाँच जना घाइते भएका छन् ।
त्यसको केही घण्टापछि शनिबार बिहान दक्षिण मिसौरीको एउटा भण्डारमा भएको गोली काण्डमा एक जना मानिसको निधन हुनुका साथै तीन जना गम्भीररूपमा घाइते भएका थिए ।
झन्डै उही समयमा उताहको दक्षिण साल्ट लेकमा दुई जना सुरक्षाकर्मीको गोली हानी हत्या गरिएको छ ।
टेक्सास
टेक्सासमा प्रहरीको भनाइअनुसार यात्रुले भरिभराउ दुई वटा गाडी ८२० फ्रिवेको दक्षिणपश्चिम लुपमा पूर्वतिर जाने क्रममा स्थानीय समयअनुसार राति १०ः०० बजे आपसमा गोली चलेको थियो । गोली चल्नुको कारण भने अझै खुलेको छैन । त्यही क्रममा अर्को असम्बन्धित गाडी चलाइरहेको महिलालाई गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । सो गाडीमा अर्को एक जना पुरूष पनि रहेको बताइएको छ ।
सीएनएनले दिएको समाचारअनुसार घटनामा परी शनिबार १९ वर्षका एक जना पुरूषको निधन भएको छ । कम्तीमा पाँच जनालाई गोली लागेको र उनीहरूलाई उपचारको लागि अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ ।
मिसौरी
मिसौरी–अर्कान्ससको सीमास्थित कोशकोनोङमा रहेको स्नापी खाद्य भण्डारमा भएको अर्को गोली काण्ड भएको थियो ।
भण्डारको पियनले आकस्मिक नम्बर ९११ मा फोन गर्दा सुरक्षा अधिकारीहरू सजग बनेका थिए । एक जना शङ्कास्पद व्यक्ति भण्डारमा पसेर हातेबन्दुक पड्काएका थिए । घटनाका धेरै प्रत्यक्षदर्शीहरू बिनाकुनै चोटपटक त्यहाँबाट भागेका थिए ।
गोली चलाउने २८ वर्षका मिसौरीको थिएर निवासीलाई घटना भएको केही घण्टा पछि होवेल काउन्टीबाट पक्राउ गरिएको थियो । उनीबाहेक अरू कोही घटनामा संलग्न नरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
अभियुक्त र कम्तीमा एक जना घाइतेबीच चिनाजान रहेको खुलेको छ । एक जना मारिनुका साथै तीन जना घाइतेहरू सो क्षेत्रभन्दा बाहिरका रहेको बताइएको छ ।
उताह
उताहको साल्ट लेक काउन्टीस्थित नगर जेलमा दुई जना सुरक्षाकर्मीहरू पहरा दिइरहेका थिए । त्यहीबेला अचानक गोली चल्न थालेको थियो । सो भवनको उत्तरी पार्किङ थलोनजिक झाडीमा एक जना मानिससँग उनीहरूको भेट भयो । उसले तत्कालै हातेबन्दुक निकालेर सुरक्षाकर्मीहरूमाथि गोली हान्न थाल्यो । दुवै सुरक्षा अधिकारीहरूको मुखमा गोली लाग्यो । उनीहरूलाई उपचारको लागि अस्पतालमा पु¥याइयो । दुईमध्ये एक जनाले गोली चलाउने व्यक्तिको प्रतिरोधमा गोली हानेर हत्या गरे । मृतकले किन गोली चलाएका थिए, कारण खुल्न सकेको छैन ।
एक जना सुरक्षा अधिकारीको गालामा गोली लागेको छ र उनी सुरक्षित छन् । उनको अनुहारमा ठुलै चोट लागे पनि उनी चाँडै अस्पतालबाट बिदा हुने बताइएको छ । आँखामा गोली लागेका अर्को एक जना सुरक्षा अधिकारीको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।
संरा अमेरिकामा बन्दुक हिंसा
संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले शुक्रबार देशभर बन्दुक हिंसाको रोकथामको लागि नयाँ कदम चालिने बताएका छन् । उनले भीडमा गोली हान्ने र आत्महत्या रोकथामको लागि प्रारम्भिक कदमस्वरूप राष्ट्रपति कार्यालयले सो कदम चाल्न लागेको बताए ।
मार्च महिनामा द न्यु योर्क टाइम्सले सार्वजनिक गरेको एक आलेखअनुसार संरा अमेरिकामा बन्दुक हिंसा र त्यहाँ बन्दुकको उपलब्धताबीच सम्बन्ध रहेको छ ।
“बन्दुक कम उपलब्ध रहेका संरा अमेरिकाकै क्यार्लिफोनिया, इलिनिओस, ओवा र उत्तरपूर्वका राज्यमा कम बन्दुक भएकै कारण बन्दुकको कारण हुने हत्या कम छ”, पत्रिकामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *