विश्वकप फूटबल प्रतियोगिता खेल्ने इरानी खेलाडी र टोलीलाई भिसामा अमेरिकाद्वारा विभेद
- जेष्ठ २३, २०८३
चीनले संरा अमेरिकाको टेबुलटेनिस टोलीलाई ऐतिहासिक भ्रमणको लागि आमन्त्रण गरेको आधा शताब्दी बितिसकेको छ । तर, ‘पिङ–पोङ कूटनीति’ को भने आजको बदलिदो विश्वमा अझै गहिरो प्रभाव छँदै छ ।
गत शनिबार ‘पिङ पोङ कूटनीति’ को पचासौँ वार्षिकोत्सवको अवसरमा साङ्घाईमा विशेष कार्यक्रमको आयोजना गरियो ।
“पचास वर्षअघिको पिङ पोङ कूटनीतिको चीन–संरा अमेरिकी सम्बन्धको इतिहासमा विशेष महत्व छ”, संरा अमेरिकाको लागि चीनका राजदूतले सो समारोहमा अनलाइन सम्बोधन गर्दै भने ।
“सानो बलले ठुलो बललाई चलाउँछ”, त्यो ऐतिहासिक कालखण्डको चर्चा गर्दा चिनियाँ जनताले प्रायशः यो वाक्यको प्रयोग गर्छन् । त्यत्तिबेला टेबुलटेनिस पनि कूटनीतिक माध्यम हुनसक्ने कसैले सोचेको पनि थिएन । पचास वर्षपछि त्यो सानो बलले अझै पनि धेरै देशबीचको सम्बन्धलाई अझै हल्लाइरहेकै छ ।
मौकाले जुराएको इतिहास
टेबुलटेनिसका विश्व विजेता दिवंगत चुआङ चेतोङ र अमेरिकी डुङ्गाबाज ग्लेन कोवनबीच पहिलो भेट सन् १९७१ को अप्रिल ४ मा भयो । त्यो भेटबारे धेरै पटक सुनिसकेका छौँ र धेरैले चर्चा पनि गरिसकेका छन् ।
जापानको नगोयामा ३१ औँ विश्व प्रतियोगिताको क्रममा आफ्नो तालिम कक्षा सकाएर कोवन गाडीमा बसेर आफ्नो गन्तव्यतिर जाँदै थिए । संयोगले त्यो गाडीमा चिनियाँ खेलाडीहरू बसेका थिए । त्यत्तिबेला चीन र संरा अमेरिकाबीच शीतयुद्धकालीन द्वन्द्व चलिरहेको थियो । त्यस्तो परिस्थितिमा एक जना अमेरिकी खेलाडी चिनियाँ खेलाडीहरू बसेको गाडीमा बस्नु अप्ठ्यारो अवस्था थियो ।
चिनियाँ टोलीका अन्य सदस्यहरू अप्ठ्यारो माने पनि चुआङ भने उठेर कोवन बसेको ठाउँमा बस्न गए । विश्व विजेता चुआङ र कोवनबीच त्यहाँ कुराकानी भयो । चुआङले उनलाई चिनियाँ बुट्टेदार कपडा उपहार दिए ।
गाडीबाट झर्ने क्रममा दुई जना खेलाडीले आपसमा हात मिलाए । पत्रकारहरूले त्यो क्षणलाई तस्वीरमा कैद गरिहाले । भोलिपल्टको स्थानीय पत्रिकामा त्यो क्षणको तस्वीर प्रकाशित हुँदा हल्लीखल्ली नै भयो ।
“चुआङ ठीक समयमा ठीक तरिकामा अर्थपूर्ण काम गरेका थिए”, त्यत्तिबेला चिनियाँ टोलीका प्रशिक्षक र अन्तर्राष्ट्रिय टेबुलटेनिस महासङ्घका मानार्थ अध्यक्ष सु यिनशेङले भने ।
चिनियाँ टोलीको आमन्त्रणमा संरा अमेरिकी टेबुलटेनिस खेलाडीहरूको टोली बसेको विमान सन् १९७१ को अप्रिल १० मा पेइचिङ विमानस्थलमा अवतरण भयो । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएयता चीनको भ्रमण गर्ने उनीहरू नै पहिलो संरा अमेरिकी टोली बन्यो । संरा अमेरिकी टेबुलटेनिस खेलाडीहरूले आफ्ना समकक्षीहरूसँग पेइचिङ र साङघाईमा मैत्रीपूर्ण खेल प्रदर्शन गरे ।
पूर्व विश्वविजेता, प्रमुख एम्पायर तथा साङ्घाईको चाओ तोङ विश्वविद्यालयका प्राध्यापक सुन छिलिन साङ्घाईको याङ्पु जिल्लास्थित च्याङवन रङ्गशालामा भएको मैत्रीपूर्ण खेल हेर्दाको दृश्य अहिले पनि झलझली सम्झन्छन् ।
“त्यहाँको हावा निकै जीवन्त थियो । ‘पिङ पोङ कूटनीति’ ले चिनियाँ जनतालाई उत्साहित गर्नुका साथै चीन र संरा अमेरिकालाई नजिक ल्याउन ठुलो योगदान पु¥यायो । टेबुलटेनिसमार्फत मैत्रीपूर्ण सम्बन्धको ढोका खुल्यो”, विभिन्न विश्वस्तरीय विश्वविद्यालय खेलमा प्रशिक्षक वा टोली व्यवस्थापकको रूपमा चिनियाँ टोलीको नेतृत्व गरेका ७१ वर्षका सुनले भने ।
अर्को वर्ष चिनियाँ टेबुलटेनिस टोलीले संरा अमेरिकाको भ्रमण ग¥यो । दुई देशका खेलाडीबीचको आपसी भ्रमणले दुई दशकदेखि अवरुद्ध बनेको संरा अमेरिका–चीनको सम्बन्ध सुचारु भयो । समयान्तरमा दुई देशबीचको सम्बन्ध सामान्य दिशामा अघि बढ्यो ।
परिवर्तित विश्वमा अपरिवर्तित कुरा
“चिनियाँ टेबुलटेनिस संसारभर पुग्यो”, सन् २०२० मा विश्व टेबुलटेनिस महासङ्घको पार्षद् अध्यक्ष नियुक्त भएपछि खेलकुदका विभूति ल्यु काओलियाङले भने ।
टेबुलटेनिसमा चीन संसारभरमै अग्रस्थानमा छ । सन् १९८८ मा यो खेल ओलम्पिक खेलमा समावेश भयो । त्यसयता ३२ वटा स्वर्णपदकमध्ये चीनले सधैं २८ वटा पदक जित्दै आएको छ ।
चीन र संरा अमेरिकालाई टेबुलटेनिसले जोडेको कुरा सम्झनुपर्ने घटनामात्र होइन, बरु मैत्रीपूर्ण सम्बन्ध स्थापनाको एउटा तरिका नै बनेको छ ।
सन् २०१९ मा बुढापेस्टमा भएको विश्व प्रतियोगितामा टेनिसका विजेताहरूमा लोङ र तिङ निङसहित चार जना चिनियाँ खेलाडीहरूले आफ्ना अमेरिकी समकक्षीहरूसँग संयुक्त प्रदर्शन प्रदर्शन गरे ।
आज ‘पिङ पोङ कूटनीति’ लाई बृहत् अर्थमा बुझिन्छ । चीन टेबुलटेनिसमा आफ्नो विश्वव्यापी अब्बलतामा आत्मसन्तुष्ट भएर बसेको छैन । बरु, विभिन्न देश र क्षेत्रसँग सम्बन्ध गहिरो बनाउन चीन सक्रिय छ । चीनले यो खेललाई विश्वव्यापी बनाउन सक्दो प्रयास गरिरहेको छ ।
सन् २०१८ को नोभेम्बरमा पपुआ न्यु गिनीमा चिनियाँ टेबुलटेनिस कलेजले एउटा तालिम केन्द्र स्थापना ग¥यो । त्यहाँ आयोजित तालिममा विश्व विजेता शि चिहाओ र टेनिस विजेता चाङ यनिङले प्रशिक्षार्थीहरूलाई तालिम दिएका थिए । चिनियाँ टेबुलटेनिस कलेजबाट प्रशिक्षण प्राप्त गरेपछि पपुआ न्यु गिनीका खेलाडीहरूले अर्को जुलाइमा भएको प्रशान्त खेलकुद प्रतियोगितामा दुई वटा रजत पदक जितेका थिए । पपुआ न्यु गिनीको इतिहासमा त्यो सर्वाधिक उत्कृष्ट नतिजा थियो ।
“एक जना टेबुलटेनिस खेलाडीको नातामा यो खेलले खेल क्षेत्रमा हासिल गरेको उपलब्धिको आधारमा मात्र नभई चीनको कूटनीति र विभिन्न देश एवम् क्षेत्रसँग जनस्तरको सम्बन्ध स्थापना गर्न यो खेलले खेलेको भूमिकाप्रति मलाई गौरव लाग्छ”, अन्तर्राष्ट्रिय टेबुलटेनिस महासङ्घका वर्तमान उपसभापति शिले भने ।
सन् २०१५ मा विश्व प्रतियोगिताअन्तर्गत एक जना पुरुष र एक जना महिला खेलाडीले खेल्ने विधामा चिनियाँ खेलाडी सु सिनले दक्षिण कोरियाका याङ है उनसँगै एउटै पक्ष भएर खेलेका थिए ।
खेलमैदान बाहिर चीनको ठुलो खेल सामग्री उत्पादक कम्पनी डबल ह्यापिनेस(डीएचएस) ले छ वटा ओलम्पिक खेल र अठार वटा विश्व प्रतियोगितामा खेल सामग्री आपूर्ति ग¥यो । ६२ वर्षअघि सो कम्पनीको स्थापना भएको थियो । टेबुलटेनिस खेलका सामग्री उत्पादक सो कम्पनीले पनि ‘पिङ पोङ कूटनीति’ प्रवद्र्धन गर्न टेवा पु¥याउँदै आएको छ ।
“‘पिङ पोङ कूटनीति’ को सन्दर्भमा हामीले जे गरिरहेका छौं, त्यसप्रति मलाई गौरव अनुभव हुन्छ”, डीएचएसका प्रबन्धक लो शिशीले भने ।
अघि बढ्दै पिङ पङ कूटनीति
आजको विश्व आधा शताब्दीअघिको विश्वभन्दा फरक छ । विशेषतः कोभिड–१९ महामारीले हामीलाई विश्वका चुनौतीको प्रभावकारी सामना गर्न विभिन्न देश र क्षेत्रबीच सरसल्लाह र सहकार्य गर्न आवश्यक भएको देखाएको छ । त्यसको निम्ति खेलकुदले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
“आज चीन–संरा अमेरिका सम्बन्धले भविष्यमा कस्तो बाटो रोज्ने विषयमा गम्भीर प्रश्न सामना गरिरहेको छ । दुई देशबीच आपसी सम्मानमा आधारित ‘पिङ पङ कूटनीति’ को भावनामा उभिएर साझा धरातलको खोजी गरिनुपर्छ र भिन्नताको सम्मान गरिनुपर्छ”, कुईले भने ।
“यतिबेला महामारी र शताब्दीमा कहिल्यै नदेखिएका परिवर्तन एकैसाथ आइपरेको छ । एकपछि अर्को पुराना र नयाँ खालका सुरक्षा चुनौती तेर्सिएका छन् । अनेकन विश्वव्यापी चुनौतीसामु चीन र संरा अमेरिकाले आपसमा सहकार्यका क्षेत्र साँघुरो बनाउनुको सट्टा विस्तार गर्न सक्छन् र गर्नुपर्छ । ठुला बललाई हल्लाउने शक्ति कमजोर भएका छैनन्, बरु अझ बलियो बनेका छन्”, उनले भने ।
“पुस्तौँ पुस्ताको मित्रता चीन र संरा अमेरिकी जनताबीचको साझा चाहना हो”, टेबुलटेनिस खेलका विख्यात खेलाडी चाङ सिलिनले भने ।
स्रोतः सिन्ह्वा
नेपाली अनुवादः अभिनव
Leave a Reply