भर्खरै :

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

काठमाडौँ, ३० चैत । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अहिले देखिएको भाइरस कडा खालको रहेकोले सतर्कता अपनाउन आग्रह गर्नुभयो । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ, त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।” उहाँले भन्नुभयो ।
भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर बढिरहेको उहाँको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनुपर्दछ ।
अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताउनुभयो । उहाँका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टी प्यालेस, गाडीजस्ता ठाउँबाट भाइरस फैलिने गरेको छ ।
अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । हिजोमात्र ३०३ जना सङ्क्रमित देखिएका छन् ।
अहिले देशभर ८९ जना सघन उपचार कक्ष (सघन उपचार केन्द्र) र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँका सशस्त्र प्रहरी बल अस्पतालमा आइसीयूमा नौ, नेपाल प्रहरी अस्पतालमा एक, शुक्रराज ट्रपिकलमा आठ, त्रिवि शिक्षण अस्पतालमा दुई, पाटन अस्पतालमा तीन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छ र हम्स अस्पतालमा नौ जनाको उपचार गराइरहेका छन् ।
यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा चार, शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा पाँच र हम्स अस्पतालमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. बाँस्तोलाले समुदायस्तरमा यस खालको भाइरस ह्वात्तै बढेको बताउनुभयो । उहाँले यस किसिमको भाइरसको लक्षण लामो समयसम्म रहने, यही नै लक्षण हो भन्ने पनि पहिचान गर्न नसकिने बताउनुभयो । सङ्क्रमितलाई चाँडै नै निमोनिया हुने सम्भावना रहेको हुन्छ । पहिलेको भाइरसभन्दा यस भाइरसले १.६ प्रतिशत मृत्युदर पनि बढी गराउने उहाँको भनाइ छ ।
यस्तै कोभिड–१९ को गत वर्ष पाँच प्रतिशत बालबालिका सङ्क्रमित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उहाँले बताउनुभयो । बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने लक्षण देखिएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा नयाँ खालका भाइरस बढ्दोरूपमा फैलिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले नमुना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भाइरस रहेको बताउनुभयो ।
भाइरस पत्ता लगाउन जीन सिक्वेन्सिङ
अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन ।
“नमुना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ, परीक्षणको क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकोले भाइरस साँच्चिकै नयाँ भाइरस भन्ने छ । अणुवांशिक (जीन सिक्वेन्सिङ) को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइरस हो भन्ने पत्ता लाग्दछ ।” उहाँले भन्नुभयो ।
नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिनुभयो । अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमुना पठाइने गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *