भर्खरै :

देशभर डढेलो र आगलागीमा को जिम्मेवार ?

काठमाडौँ, ३० चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य प्रेम सुवालले देशभर फैलिएको डढेलो र आगलागीप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले धेरै ठाउँमा वनजङ्गल आगलागी र डढेलो लाग्नुमा सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता गरी घर बनाउन लगाउने भूमाफियाहरूको हात कति छ भनी प्रश्न गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “चैत २९ गते एकैदिन ४७ जिल्लाको ३९७ ठाउँमा डढेलो र २४ जिल्लाको ३६ स्थानमा आगलागी भयो । यो वर्षभरि भएका २५०६ स्थानमा आगलागीको घटनामा ५४ जनाको मृत्यु भयो । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कानुनी व्यवस्था भयो तर यो संस्थाको काम तथ्याङ्क सार्वजनिक गर्नेमा मात्र सीमित रह्यो । वनजङ्गल डढेलो र आगलागीले देशको वन सम्पदा र अन्य सम्पत्ति विनाश भयो भने स्वास्थ्यको लागि मन्द विषको प्रदूषण पनि फैलायो । ब्राजिललाई संसारको फोक्सो भनिन्थ्यो । त्यहाँ बोल्सोनारोको सरकार आएपछि वनजङ्गलमा आगलागी र कटानी बढ्यो । नेपालमा सरकारविरुद्धको आन्दोलनमा टायर बालिन्थ्यो, तोडफोड गरिन्थ्यो । नेपाल मजदुर किसान पार्टीले आन्दोलनमा टायर बाल्ने र तोडफोड गर्ने काम गरेको थिएन र गर्दैन ।”
“नेपालमा यति धेरै ठाउँमा वनजङ्गल आगलागी र डढेलो लाग्नुमा कसको हात छ ? सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता गरी घर बनाउन लगाउने भूमाफियाहरूको हात कति छ ? काठमाडौँ उपत्यकाका शिवपुरी र भक्तपुरको सल्लाघारीमा समेत आगलागी भएको बारे राजनीतिकरूपमा असन्तुष्टहरूको हात कति छ ? गुप्तचर निकायको रिपोर्ट के छ ? राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्तालाई सुसंस्कृत बनाउनु जरुरी छ । शासक दलहरू एउटा कुर्सीलाई दुईतिर तान्दै छन्, कुर्सीको स्थिति के होला ? यसकारण पनि नेपालमा विदेशीको प्रभाव बढ्दो छ ।” उहाँले भन्नुभयो ।
उहाँले सहकारी संस्थालाई फाइनान्स र बैङ्कजस्तो बनाउन नहुने बरु सहकारी संस्था कृषि उत्पादनमा लगाउनुपर्ने बताउनुभयो ।
“अक्टोबर क्रान्तिपछि सोभियत सङ्घमा सहकारी, सामूहिक र राजकीय खेतीमार्फत कृषि उत्पादन बढाउने काम भयो । त्यसबेला प्रतिक्रियावादीहरूले सोभियत सरकारलाई असफल बनाउन खाद्य सामग्री आपूर्तिमा रोक लगाएका थिए । नेपालमा कृषि उत्पादनलाई कमजोर बनाउन ७०÷८० लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाइयो र रेमिटेन्सबाट अन्न खरिद गरियो । यो संयोगमात्र होइन, प्रायोजित षड्यन्त्र हो । अर्काको कागजी मुद्रा अमेरिकी डलरको भरमा नेपालको अर्थतन्त्र कति दिन चलाउने ?” सांसद सुवालले भन्नुभयो ।
“सहकारी संस्थालाई फाइनान्स र बैङ्कजस्तो नबनाई कृषि उत्पादनमा लगाउनु जरुरी छ । त्यस्तो नहुँदा कतिपय सहकारीका सञ्चालकहरू सदस्यहरूको अर्बौँ रूपैयाँ बचत बोकेर भागेका छन् । राष्ट्रवादी, समाजवादी, कम्युनिस्ट दाबी गरेकाहरू पटक–पटक सरकारको नेतृत्वमा पुगे तर, कृषि उत्पादन बढाउने काम भएन । यी पार्टीहरू सत्तामा जानु भ्रष्टाचार र जग्गा प्लटिङ्ग गरी कमिसन खानको लागि हो र ? भन्ने जनताको प्रश्न छ”, सुवालले भन्नुभयो ।
संसद बैठकमा सांसद सुवालले भन्नुभयो, “नेपालको राजनीतिमा भूमाफिया, वन तस्कर, जग्गा प्लटिङ्ग गर्ने, बालुवा गिट्टीको व्यापार गर्ने, सिमेन्ट, डण्डीको मूल्य बढाउने, मुद्रा अपचलन गर्नेहरूको हात रहेको जनगुनासो छ । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेको पनि प्रकाशित भयो । यो ७० प्रतिशतको निजी अर्थतन्त्रमा विदेशीको पनि हिस्सा छ । १० वर्षमा निजी क्षेत्रले १ खर्बभन्दा बढी अमेरिकी डलर लगानी गर्ने कुरा पनि प्रकाशित भयो । नवउपनिवेश भनेको शासक नेपाली हुने तर आदेश र ऐन निर्माण विदेशीले गर्ने हो । यसरी यो सरकार पनि बलियो देखिए पनि सारमा नभएको पुष्टी हुन्छ ।”
कोभिड–१९ को महामारीबारे चासो व्यक्त गर्दै उहाँले खुला सीमाको कारण नेपालमा सङ्क्रमणको जोखिम बढेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालसँगको खुला सीमा भएको छिमेकी भारतमा २४ घण्टामा कोभिड–१९ सङ्क्रमण १ लाख ७० हजार २ सय ९ जना भयो भने मृत्यु हुनेको सङ्ख्या ९०४ पुग्यो । भारतको १६ राज्यमा कोभिड–१९ को सङ्क्रमण तीव्र छ । नेपालसँग जोडिएका उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल पनि उच्च जोखिममा छन् ।”
उहाँले भन्नुभयो, “वीरगञ्जलगायत तराईका जिल्लामा सङ्क्रमण उच्च छ । यसबारे सरकारको ध्यान जानु आवश्यक छ । नर्वेका प्रधानमन्त्रीको जन्मदिनमा १० जनाभन्दा बढी १३ जना आफन्त बोलाएको कारण प्रधानमन्त्री २ लाख २१ हजार रूपैयाँ बराबरको दण्डित हुनुप¥यो । कानुनको पालना गरिए नेपालको शासक दलका नेताहरू कति जना जोगिएलान् ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *