भर्खरै :

विद्यालय सञ्चालक र अभिभावकहरू चिन्तित

  • चैत्र ३१, २०७७
  • गोपाल नगरकोटी
  • समाचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिम हेरेर विद्यालय बन्द गर्ने सिफारिस गरेपछि सङ्क्रमको कारण फेरि विद्यालय बन्द हुने हो कि भनी विद्यालयका सञ्चालक, अभिभावक र विद्यार्थीहरू चिन्तित हुन थालेका छन् । लामो समय बन्द भएपछि बल्ल व्यवस्थितरूपमा सञ्चालन हुनथालेकै समयमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या वृद्धि भएसँगै फेरि विद्यालय बन्द भए यो वर्षका विद्यार्थीको शैक्षिक स्तर घट्ने र शिक्षकहरूले पारिश्रमिक नपाउने चिन्ता अभिभावक तथा शिक्षकहरूमा थपेको छ । छिमेकी देश भारतमा प्रत्येक दिन लाखभन्दा बढी सङ्क्रमित हुनु र सङ्क्रमणकै कारण नेपालीहरू नेपाल फर्किरहेको सन्दर्भमा नेपालमा पनि सो रोग फैलिनसक्ने प्रवल सम्भावना भएकोले विद्यालय बन्द गर्ने तयारी गरिएको हो ।
नेपालमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या घटेपछि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय, कलेज सञ्चालन गर्ने निर्णय भएको थियो । विद्यालय, कलेज राम्ररी सञ्चालन भएको तीन महिना जति भयो । विद्यालय सञ्चालन भएपछि शिक्षक, अभिभावक र विद्यार्थीहरूमा खुसी छाएको थियो । कोरोना सङ्क्रमण अन्त्य भइनसकेको हुँदा स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन भइरहेको हो । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थालाई तीन साता अनलाइन कक्षा सञ्चालन गर्न सुझाएको थियो ।
सरकारले भारतबाट नेपाल पसेका नागरिकहरूको स्वास्थ्य परीक्षणको नतिजापछि मात्र घर–परिवार या समुदायमा छिर्न दिनुपर्ने हो । स्वास्थ्य परीक्षण नगरी उनीहरू समुदायमा छिरेपछि कोरोनाको सङ्क्रमण बढ्ने सम्भावना हुन्छ । सम्भावित सङ्क्रमितहरूलाई खुला छोडेर कोरोना सङ्क्रमित सङ्ख्या वृद्धि भयो भनी विद्यालय बन्दको सजिलो उपाय खोजेर रोग नियन्त्रण हुनेछैन । सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएमा विद्यालयमात्र होइन अरू निकायहरू पनि बन्द गर्नुपर्ने स्थिति आउन सकिन्छ । तर, अरू कुनै उपाय नअपनाई लकडाउन गर्ने र विद्यालय, कलेज बन्द गर्ने सजिलो उपाय खोज्नु कति मनासिब होला ? यसबारे शिक्षा मन्त्रालयले थप विचार पु¥याउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *