भर्खरै :

सङ्क्रमणमा विद्यालय बन्द गर्नु रहर होइन बाध्यता हो

अहिले नेपाल कोरोना भाइरस महामारीको दोस्रो लहरको सङ्घारमा पुग्न लागेको चेतावनी विज्ञहरूले दिएका छन् । जनस्वास्थ्यविद्हरूले कोरोना भाइरसको नयाँ भेरिअन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेकाले सङ्क्रमण विद्यालयबाट समुदायसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तर, शिक्षा मन्त्रालयले सोमबार सरोकारवालासँग गरेको बैठकमा शिक्षक, अभिभावक र निजी विद्यालय सङ्ठनहरूले विद्यालय पूर्णरूपमा बन्द गर्न नहुने धारणा राखेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने विद्यालय बन्द गर्न सिफारिस गरेको छ र मन्त्रालयको सिफारिसबमोजिम कोभिड नियन्त्रणसम्बन्धी उच्च निकाय सीसीएमसीले पनि ७७ वटै जिल्लामा विद्यालय बन्द गर्न सुझाव दिएको छ । गत वर्ष कोरोना भाइरस महामारी सुरू भएपछि नेपालमा शैक्षिक संस्थाहरू बन्द गरिएको थियो ।
कोरोना सङ्क्रमणको पहिलो लहरमा धेरै बालबालिकाहरू सङ्क्रमित भएनन् त्यो सकारात्मक पक्ष हो । तर, सङ्क्रमित भएका बालबालिकाले भोगेको कष्ट र एक दुई दर्जनको मात्र मृत्यु हुँदा पनि हामीमध्ये धेरैको मन छियाछिया भयो । विद्यालय बन्द नगरेको भए बालबालिकाहरूमाझ सङ्क्रमण व्यापक हुनसक्ने सम्भावना थियो । जनस्वास्थ्यविद्हरूले कोरोना भाइरसको नयाँ भेरिअन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेको जानकारी दिन थालेका छन् । युरोप, ल्याटिन अमेरिका र छिमेकी देश भारतकै अनुभव त्यही छ । कोरोना महामारीको दोस्रो लहर सुरू भएमा विद्यालय बन्द गर्नैपर्ने हुन्छ । सङ्क्रमण फैलिएको अवधिमा विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो । हो, रोग फैलिने सम्भावना कम भएका, बाहिरी मानिसको प्रवेश नियन्त्रण गरिएका दुर्गम पहाडी, हिमाली क्षेत्रमा भौतिक दूरी कायम गरेर र स्वास्थ्य सुरक्षाका अरू मापदण्डहरू पालना गरेर कक्षा सञ्चालन गर्दा धेरै फरक नपर्ला । तर, तराईमा सहरी क्षेत्रमा त्यो पनि सम्भव हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *