भर्खरै :

नयाँ वर्षको शुभकामना !

कोभिड–१९ महामारीको निको नभएका घाउ छोडेर २०७७ साल बिदा भयो । बुधबारबाट नयाँ वर्ष २०७८ सुरु हुँदै छ । कोभिड–१९ महामारी नियन्त्रण र रोकथाम गर्न सरकारले घोषणा गरेको लकडाउनको कारण २०७७ साललाई हामीले घरभित्र बसेर स्वागत गरेका थियौं । आजको अवस्था त्योभन्दा केही फरक छ । हामी लकडाउनमा त छैनौँ । तर, कोभिड–१९ को सङ्क्रमण भने उकालोलाग्दो छ । अझ नयाँ प्रजातिको कोभिडको सन्त्रास थपिएको छ । स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रका शैक्षिक संस्थाहरूमा अनलाइन कक्षा सञ्चालनको लागि सिफारिस गरेको छ । दैनिकरूपमा कोभिड सङ्क्रमितको सङ्ख्या तथा मृत्युदरमा भएको वृद्धिले भर्खर दैलो उघारिएको वर्ष पनि सहज नहुने पूर्वानुमान गर्न सकिन्छ । ‘बिहानीले दिनको सङ्गेत गर्छ ।’ नयाँ वर्ष सुरु हुँदाको अवस्थाले वर्ष दिनको सङ्गेत गरेको छ ।
तर, कालो बादल वरपर चाँदीको घेरा हुन्छ । २०७७ साल कोभिड सङ्कष्टको कारणमात्र होइन, कोभिड–१९ को प्रतिरोधी खोपको कारण पनि स्मरणीय रहनेछ । कोभिड–१९ भाइरसको स्रोत के हो भन्ने कुरा विज्ञानले अझै पनि निश्चय गर्न सकेको छैन । तर, कोभिड–१९ को प्रतिरोधको लागि संसारलाई विज्ञानले यही वर्ष खोप पनि दिएको छ । संसारका अधिकांश देशमा जस्तै नेपालमा पनि २०७७ सालमा कोभिड प्रतिरोध खोप अभियानको थालनी भयो । २०७७ सालमा कोभिड प्रतिरोध गर्न संसारले हासिल गरेको अनुभव आगामी वर्षहरूमा यो सङ्कटविरुद्ध लड्न आधार बन्नेछ ।
कोभिड–१९ महामारीको कारण चहराएको नेपाली जनताको घाउमा सत्तारुढ शासक दलका नेताहरूबीचको बेतुकको झगडाले नुनचुक छर्कियो । स्थायित्व र विकासको नारा लगाएर चुनावमा बहुमत प्राप्त गरेको नेकपाका नेताहरूबीच सत्तामा भागबन्डाको लागि भएको झगडाले देशलाई फेरि अस्थिरता र अन्योलतिर धकेलेको छ । लकडाउनको कारण अस्तव्यस्त जनताको आर्थिक जीवनलाई शासक दलको झगडाले अझ थप छिन्नभिन्न बनायो । नाम जेसुकै भए पनि पुँजीवादी शासक राजनीतिक दलहरूले नेपाली जनताको भावनाअनुसार परिवर्तनको निम्ति अग्रसरता देखाउन सकेनन् । पार्टी नेताहरूकै असहयोगको कारण सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले संसद विघटन गरी चुनावमा जाने घोषणा गरे । तर, कार्यपालिकाको निर्णयलाई न्यायपालिकाले उल्टायो । व्यवहारतः दुई दलमा विभाजित बनिसकेको सत्तारुढ दल नेकपालाई एमाले र माओवादी केन्द्रबीच एकतापूर्वकै अवस्थामा फर्किन न्यायपालिकाले अर्को ऐतिहासिक निर्णय ग¥यो । नेपालको इतिहासमा लामो समय सन्दर्भ र नजिरको रूपमा स्थापित रहने ती निर्णयहरूले देशलाई थप अन्योलमा धकेलेको आज देखिंदै छ । निर्वाचन नै ताजा जनादेश प्राप्त गर्ने सबभन्दा प्रजातान्त्रिक प्रक्रिया हो ।
२०७७ सालमा नेपालमा फैलिएको कोभिड–१९ महामारी र पुँजीवादी शासक दलहरूबीचको झगडाले नेपालको पुँजीवादी व्यवस्था आफै पनि क्षणभङ्गुर भएको पुष्टि गरेको छ । अन्याय, नाफाखोरी र ढाटमा आधारित पुँजीवादी व्यवस्था जसरी संसारका सबै देशमा अस्थिर र सङ्गटको मूल कारण बन्दै आएको छ, त्यसरी नै नेपालमा पनि पुँजीवादी व्यवस्था र पुँजीवादी राजनीति दलहरू नै नेपाली जनताले भोगिरहेका समस्याको मूल कारण बनेका छन् । जबसम्म नेपालका श्रमिक न्यायप्रेमी जनता पुँजीवादी व्यवस्थाको समुल नष्ट गर्ने कठिन राजनीतिक प्रक्रियामा सफल हुँदैनन्, तबसम्म नेपाली जनताले अझ पनि सङ्कष्टका दिनहरू सामना गरिरहनुपर्ने छ । आगामी नयाँ वर्ष २०७८ अन्यायपूर्ण पुँजीवादी व्यवस्थाको जरा खन्ने प्रक्रियामा एक पाइला अघि बढ्ने आशा गरौं । नयाँ वर्ष २०७८ को सम्पूर्ण श्रमिक नेपाली जनताप्रति हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *