भर्खरै :

क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन साम्राज्यवादविरोधी सङ्घर्षको शिलशिला

क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । सन् १९५९ मा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको नेतृत्वमा तत्कालीन फाल्गुन्सिओ बाटिस्टाको तानाशाही शासकविरुद्ध भएको विद्रोहपछि क्युवाली जनतासँग दुई वटा विकल्प थिए – ६० माइल परको देश संरा अमेरिकाको जस्तो पुँजीवादी राजनीतिक व्यवस्था स्थापना गर्ने अथवा पुँजीवादी व्यवस्थाको विरोध र विकल्पमा स्थापित समाजवादी व्यवस्थाको बाटोमा अघि बढ्ने । क्युवाली जनता युगौँदेखि संरा अमेरिकी साम्राज्यवादी नीतिबाट पीडित थिए । संरा अमेरिकाका पूर्व राष्ट्रपति मुनरोले क्यारिबिलियाली क्षेत्रलाई ‘आफ्नो आँगन’ को संज्ञा दिँदै सो क्षेत्रका जनतामाथि उत्पीडनको डण्डा चलाएका थिए । ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका जनताले लगातार यसको प्रतिरोधमा सङ्घर्ष गर्दै आएका थिए । क्युवाली जनता त संरा अमेरिकी आड प्राप्त बाटिस्टाको तानाशाही शासकबाट निकै पिरोलिएका थिए । त्यसकारण फिडेल क्यास्ट्रो नेतृत्वको क्रान्तिकारी दस्ता ल्याटिन र क्यारिबिलियाली क्षेत्रमा मात्र नभई संसारभर दुःख दिने संरा अमेरिकाको साम्राज्यवादी नीतिलाई जरैदेखि उखेल्न अभिशप्त थियो ।
संसार अझ विशेषतः साना विकासशील देशलाई आफ्नो मुठ्ठीभित्रको पुतली सम्झने संरा अमेरिकालाई क्युवाली प्रतिरोध स्वीकार्य नहुनु स्वाभाविक हो । क्युवाली क्रान्तिकारीहरूले समाजवादको बाटो रोज्नु संरा अमेरिकी शासकहरूको निम्ति आफ्नो ‘आँगन’ मा काँडा रोप्नुसरह थियो । त्यसकारण क्युवाली क्रान्ति शिशु अवस्थामा छँदै संरा अमेरिकी शासक वर्गले त्यसलाई नष्ट पार्न खोज्यो । सुरुमा क्युवाली समाजवादमाथि सैनिक हमला भयो । बे अफ पिगमा संरा अमेरिकाले गरेको हमला त्यसैको शिलशिला थियो । तर, क्रान्तिकारी क्युवाली जनताले साम्राज्यवादी हमलाको प्रतिरोध गरे । क्यारिबियाली सङ्कट त्यसको उत्कर्ष थियो । सैनिक शक्तिले पराजित गर्न नसकेपछि संरा अमेरिकाले आर्थिक र सामाजिक हिसाबबाट क्युवामाथि हमला थाल्यो । फिडेल क्यास्ट्रोसँग संरा अमेरिकासामु आत्मसमर्पण गरेर बाटिस्टाजस्ता तानाशाही बन्ने विकल्प नभएको होइन । तर, भूगोल र जनसङ्ख्याको आधारमा संरा अमेरिकाको तुलनामा निकै सानो क्युवाले संरा अमेरिकी साम्राज्यवादको प्रतिरोध गर्ने निष्कर्षमा पुग्यो । संरा अमेरिकाले थोपरेका नाकाबन्दीको कारण आधा पेट खाएर पनि क्युवाली जनताले आफ्नो स्वाभिमान झुक्न दिएनन् । ‘समाजवाद वा मृत्यु’, ‘विजय वा मृत्यु’ को नारा बोकेर समाजवादी आदर्श जोगाउन क्युवाली जनता लगातार अग्रसर बने । ६० वर्षसम्म ६० माइल परको संरा अमेरिकाजस्तो महाशक्तिले थोपरेको नाकाबन्दीले त्यो देशलाई रतिभर पनि झुकाउन सकेन । बरु, समाजवाद स्थापनामा क्युवाले एकपछि अर्को सफलता हासिल गर्दै गयो ।
क्युवाले यस्तो सफलता हासिल गर्नसक्नु पछाडिको मूल कारण के हुनसक्छ ? यसको एउटै उत्तर छ– त्यो हो–क्युवाली कम्युनिस्ट पार्टी । क्युवाली कम्युनिस्ट पार्टीको सम्झौताहीन सङ्घर्षकै कारण क्युवाली जनता संरा अमेरिकासामु अविचलित भएर उभिन सकेको हो । क्युवाली कम्युनिस्ट पार्टीको गतिशीलता, समयको पदचाप बुझ्न सक्ने क्षमता, सिद्धान्तनिष्ठता र दूरदर्शिताकै कारण आज क्युवा समाजवादको झन्डा बोकेर लगातार अघि बढिरहेको छ ।
समयको प्रवाहसँगै परिस्थितिमा परिवर्तन हुनु स्वाभाविक हो । क्युवाली कम्युनिस्ट पार्टीले आज समयको त्यही पदचाप अनुभव गर्दै समयानुकूल नीति तर्जुमा गर्दै गएको छ । क्युवाली कम्युनिस्ट पार्टीका हरेक महाधिवेशनले जनता, कार्यकर्ता र सरकारसँग व्यापक बहस गर्दै समयानुकूल नीति तर्जुमा गर्दै आएको छ । क्रान्तिको रक्षाको निम्ति नेतृत्वको प्रश्नलाई गहिरो गरी बुझेका क्युवालीहरूले नेतृत्व विकास र हस्तान्तरणलाई पनि समाजवादी क्रान्तिकै हिस्सा मानेर नीति र निर्णय गर्दै आएका छन् । क्युवाली कम्युनिस्ट पार्टीको आसन्न महाधिवेशनमा पनि यही शिलशिला जारी रहनेछ । क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन साम्राज्यवादविरोधी सङ्घर्षकै शिलशिला हो । महाधिवेशन सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *