भर्खरै :

ब्राजिलको सर्वोच्च अदालतले लुलाविरुद्धका सबै मुद्दा खारेज

ब्राजिलको सर्वोच्च अदालतले त्यहाँका पूर्वराष्ट्रपति एवम् वामपन्थी नेता लुइस इनासियो लुला दा सिल्भामाथिका सबै फौजदारी मुद्दाहरू खारेज गर्दै तीमध्ये कतिपय मुद्दाहरूमा भएका फैसलाहरूलाई निरस्त गरिदिएको छ ।
सर्वोच्च अदालतको पूर्ण बेन्चको उक्त फैसलापछि यदि उहाँ र ब्राजिल मजदुर पार्टीले निर्णय गरेमा उहाँ २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्नसक्ने हुनुभएको छ ।
पहिले न्यायाधीश इडसन फाचिनको एकल बेन्चको इजलासले गरेको निर्णयमाथि पुनरावलोकनको निम्ति परेको रिटमा पूर्ण बेन्चको इजलासका ११ जना न्यायाधीशमध्ये ८ जनाले एकल बेन्चकै फैसला सदर गरे भने ३ जनाले फरक निर्णय दिए । फैसलासँगै विभिन्न मुद्दामा दोषी ठहर गर्दै नेता लुलालाई २५ वर्ष कैद गर्ने फैसला पनि निरस्त भएको छ ।
न्यायाधीश फाचिनले लुलालाई जेल सजाय हुने गरी भएका फैसलाहरू कुनै फैसला नै नभएका र ती फैसला प्रमाणका आधारमा र कानुनबमोजिम समेत नभएको ठहर गरेका थिए । तीमध्ये धेरै मुद्दाहरू आफ्नो अधिकार क्षेत्र नै नभएको कुरिटिबा जिल्लाको जिल्ला अदालतमा पूर्व न्यायाधीश सर्जियो मोरोको इजलासमा सुनुवाइ र फैसला भएका हुनाले ती अनियमित समेत भएको फैसलामा उल्लेख छ ।
सर्जियो मोरो पछि न्यायाधीशबाट राजीनामा दिएर राष्ट्रपति जायर बोल्सोनारोको सरकारमा मन्त्री बन्न गएका थिए ।
वामपन्थी नेता लुलामाथिका भ्रष्टाचारलगायतका विभिन्न मुद्दा पूर्वाग्रह र राजनीति प्रेरित रहेको जगजाहेर थियो र सर्वोच्च अदालतको अन्तिम फैसला ब्राजिलका ब्यापक जनताले आशा गरिरहेका थिए । ब्राजिलमा सर्वाधिक लोकप्रिय राजनीतिज्ञ लुला २०१८ कै निर्वाचनबाट राष्ट्रपतिमा फर्कने जनअपेक्षालाई उनीमाथि ठोपिएका मुद्दा र कानुनी जालहरूले असम्भव बनाएको थियो । मजदुर नेता लुलाले २००३ देखि २०११ सम्मको आफ्नो दुई कार्यकालमा पिछडिएको ब्राजिललाई विश्वका दस ठुला अर्थतन्त्रमध्ये एक बनाएका थिए ।
लुलाका उत्तराधिकारी राष्ट्रपति डिल्मा रूसेफलाई दक्षिणपन्थी र पुँजीवादी पार्टीहरूको बहुमतले २०१६ को अगस्टमा महाअभियोग लगाएर हटाएको थियो ।
लुलामाथिका सबै मुद्दा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै राजधानी ब्रासिलियासँगै ब्राजिलका सबैजसो सहरहरूमा लुलाका समर्थक तथा ब्राजिल मजदुर पार्टीका नेता कार्यकर्ता र सदस्यहरूले खुसीयाली मनाएका छन् ।
२०२२ को राष्ट्रपतीय निर्वाचनमा लुला उम्मेदवार बनेमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोको हार निश्चित हुने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *